साप्ताहिक संवाददाता
अर्जुन कुमारको निर्माणमा बन्न लागेको चलचित्र ‘चपली हाइट ३’को शुभसाइत गरिएको छ । मंगलबार कार्यविनायक मन्दिरमा पुगेर निर्माण टिमले क्यामेरा अन गरेको हो । छायांकनको पहिलो दिन निर्माण पक्षले पत्रकार सम्मेलनको आयोजना गरेर थप जानकारी समेत दिएको छ ।
सस्पेन्स थ्रिलर जनरामा निर्माण हुने यो चलचित्रको निर्देशन निकेश खड्काले गर्दैछन् । चलचित्रमा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी र प्रतिक श्रेष्ठको मुख्य भूमिका रहने जनाइएको छ । महेश र प्रतिकले यहि चलचित्रबाट अभिनय यात्रा प्रारम्भ गरेका छन् ।
भोली मंसीर ५ गतेदेखि आधिरिक रुपमा चलचित्रको छायांकन सुरु गरिनेछ । निर्माता अर्जुन कुमारले अघिल्ला चलचित्रमा जस्तै ‘चपली हाइट ३’मा दर्शकको साथ पाउने आशा व्यक्त गरे ।
‘चपली हाइट’ ले निकै राम्रो व्यापार गरेको थियो । त्यसपछि दोस्रो सिरिज ‘चपली हाइट २’ निर्माण गरियो । पहिलो चलचित्रको तुलनामा दोस्रो चलचित्रले व्यवसायीक सफलता हासिल गर्न सकेन । तर, निर्माण टिमले थप मिहेनत गरेर तेस्रो सिरिज निर्माण गर्न लागेको जनाएको छ ।
निर्देशक निकेश खड्काका अनुसार चपली हाइटको सिरिजमध्ये तेस्रो श्रृंखलाको कथाबस्तु अलिकति बलियो भएका कारण यसबाट धेरै आशा राखिएको बताए । यो चलचित्र अर्जुन कुमार फिल्म्स र केडिसी हस्पिटलको संयुक्त लगानीमा निर्माण हुन लागेको हो ।