साप्ताहिक संवाददाता
अभिनेता आकाश श्रेष्ठ र पूजा शर्मालाई लिएर चलचित्र ‘मन परेसी प-यो’ निर्माण घोषणा भएको समाचार एक अनलाइनले सार्वजनिक ग-यो । उक्त अनलाइनले के लेखेको छ भने, अभिनेत्री पूजा र आकाशलाई लिएर चलचित्र मन परेसी प-यो घोषणा, पेम गीत ३ सँग भिडन्त ।
यो समाचार सार्वजनिक भएको केही मिनेटमै चलचित्रकी अभिनेत्री पूजा शर्माले मुख खोलेकी छिन् । उनले चलचित्रमा काम गर्ने पक्का नभएको प्रतिक्रिया दिएकी छिन् । उनले भनिन्, ‘लाइफमा सबैसँग जुध्छु । तर, मेरो आफ्नो एउटा एट्याचमेन्ट भएको त्यो फिल्म हो । यो चलचित्रमा न मैले साइन गरेको छु, न मैले ओके भनेकी छु । आस्क मि फस्ट ।’
सामान्य कुरा त भएको हो, उनी निकट स्रोत भन्छ, ‘पूजाले उक्त चलचित्रको टिमसँग कुरा गरेको भएपनि फाइनल भएको छैन । उहाँले साइन समेत गर्नुभएको छैन ।’
रघु परियारले निर्माण गर्न लागेको यो चलचित्रमा काम गर्ने विषयमा आज बुधबार पूजासँग निर्माण टिमले सामान्य कुरा गरेको भएपनि भेटघाटमा हुँदै नभएका कुरा तोडमोड गरेर अर्कै प्रचार गरिएको स्रोत बताउँछ ।