साप्ताहिक संवाददाता
मंसिर ५, २०७६
बाहुबलीमार्फत चर्चामा आएका राणा दग्गुबतीसँग रिलेसनमा रहेको चर्चाले हैरान भएकी अभिनेत्री रकुल प्रितसिंहले हालसालै आफू कसैसँग पनि रिलेसनमा नरहेको दाबी गरेकी छिन् । रकुलले भनेकी छिन्– राणा दग्गुबती उनका छिमेकी तथा असल साथी मात्र हुन् ।
हो, म केही समयअघि कसैसँग रिलेसनमा थिएँ । गैरफिल्मी ती व्यक्तिसँगको मेरो सम्बन्धको अन्त्यपछि म अहिले सिंगल छु । राणा दग्गुबतीजस्ता सज्जन मानिससँग मेरो नाम जोडिनु मेरा लागि भन्दा पनि उनका लागि पीडादायी हुन सक्छ ।
यो कुरा सबैले ख्याल गर्नुपर्छ । स्मरणीय छ, अर्को साता मरजाँवा चलचित्रमा देखा पर्न लागेकी रकुल निकट भविष्यमा अर्जुन कपुरसँग निर्देशक काश्वी नायरको चलचित्रमा प्रस्तुत हुँदैछिन् । क्रस बोर्डर प्रेम सम्बन्धमा आधारित अहिलेसम्म नाम नजुराइएको उक्त चलचित्रको निर्माण जोन अब्राहमले गर्दै छन् ।