ससारकै उत्कृष्ट १० साहसिक ट्रेल रेसमध्येको एक एभरेस्ट ट्रेल रेस सोलुखुम्बुको पत्तालेबाट सुरु भएर लुक्लामा समापन भएको छ । १ सय ७० किलोमिटर लामो एभरेस्ट ट्रेल रेसको नवौं संस्करणमा पुरुषतर्फको उपाधि नेपाली धावक सुमन कुलुङ राईले जितेका छन् । सोलुखुम्बुको पत्तालेबाट ६ दिनअघि सुरु भएको ट्रेल रेस शनिबार लुक्लामा समापन भएको हो । सुमनले रेसको दूरी २० घण्टा ५१ मिनेट ३६ सेकेन्डमा पूरा गरे ।
त्यसैगरी महिलातर्फको उपाधि भने स्पेनकी धाविका अन्ना कोम्याटीले जितेकी छन् । उनले निर्धारित दूरी २६ घण्टा २० मिनेट ५६ सकेन्डमा पूरा गरिन् । त्यसैगरी पुरुषतर्फको उपविजेता स्पेनकै मोरालेस जेर्राड भए । उनले २३ घण्टा २८ मिनेट २९ सेकन्डमा दूरी पार गरे । नर्वेका सेडस्रोड ह्यान्डस तेस्रो भए । उनले २३ घण्टा ५४ मिनेट १३ सेकेन्डमा निर्धारित दूरी पार गरे ।
महिलातर्फको उपविजेता ब्राजिलकी मनुआला भिलासेका भइन् । उनले २९ घण्टा २९ मिनेट ५ सेकेन्डमा निर्धारित दूरी पार गरिन् । स्पेनकी नुरिआ डोमिनिक्स तेस्रो भइन् । उनले उक्त दूरी पार गर्न ३० घण्टा ३ मिनेट ४६ सेकेन्ड लगाइन् ।
पुरुष विधाका विजेता कुलुङले यसअघि एभरेस्ट म्याराथन दुई पटक जितेका थिए । ट्रेल रेसको उपाधि जित्ने सपना यसपालि पूरा भएको उनले बताए । गत वर्ष सहभागी भए पनि उनले उपाधि जित्न सकेका थिएनन् । ट्रेल रेसका विजेताहरूलाई सोमबार राजधानीमा पुरस्कार वितरण गरिएको छ ।
अघिल्ला आठ संस्करण दोलखाको जिरीबाट सुरु गरिएको रेस यस वर्षदेखि सोलुखुम्बुको पत्तालेबाट सुरु गरिएको हो । जिरीबाट दौडिने अधिकांश रुट सडक खनेर बिग्रेपछि रुट परिवर्तन गरिएको आयोजकले जनाएको छ । पत्तालेबाट सुरु भएको रेस ५ वटा शिविर पार गरेर छैटौं दिन लुक्लामा सकिएको हो ।
पत्तालेबाट सुरु भएको रेस च्याङ्सार, खोरिया, दिम्स्यास, पिके डाँडा, लाम्जुरा, जुनबेसी, फुङमोचे, तोङ्गीनासा, टाक्सिन्दु, यावागोन्पा, जुभिङफेदी, खरिखोला, नाम्चे, खुम्जुङ, फोर्चे, पाङबोचे र त्याङबोचे हुँदै लुक्लामा आएर समापन भएको हो ।