साप्ताहिक संवाददाता
विश्वकप छनोटमा नेपाल र कुवेतबीचको दोस्रो लेगको खेल पनि सकिसकेको छ । नेपालले आफ्नो भूमिमा खेल्नुपर्ने खेलका लागि भुटान रोजेको थियो, दशरथ रंगशाला समयमै तयार हुन नसकेपछि । नेपाल त्यो खेलमा एक गोलको अन्तरले मात्र पराजित रह्यो । धेरैले यस नतिजालाई राम्रै माने ।
तर यो नतिजामा भन्दा नेपाली फुटबलप्रेमीको ध्यान बढी भुटान जान नपाएका चार खेलाडीमा थियो । थिम्पु उड्न ठ्याक्कै अघिल्लो रात ती चार खेलाडी विमल घर्तीमगर, अञ्जन विष्ट, सन्तोष तामाङ र दिनेश राजवंशी क्लोज क्याम्प छाडेर हराएका थिए । बिदाइको औपचारिक कार्यक्रम अगाडि मात्र उनीहरू आइपुगेका थिए ।
अब प्रश्न, त्यो रात उनीहरू कहाँ थिए ? धेरैको अनुमान छ, यी चार खेलाडी त्यो रात डिस्कोमा थिए । पूरा रात त्यहीं बरालिए । केही के पनि मान्छन् भने त्यो रात कुनै सडक दुर्घटना भएको थियो र त्यसमा दुर्भाग्यले यी चार खेलाडी फसे । केही के पनि मान्छन् भने यी खेलाडी खेल मिलोमतो गर्न निस्केका थिए । जे होस्, कारण जस्तै भए पनि कुनै खराब काम गरेपछि यस्ता आरोप त लाग्छन् नै ।