साप्ताहिक संवाददाता
तनहुँका विकल्प ढुंगाना उमेरले मात्र २१ वर्षका भए, तर यो उमेरसम्म आइपुग्दा उनले गरेको प्रगति उनको उमेर भन्दा ठुलो छ । उमेरलाई लिएर अंग्रेजीमा भनिने भनाइ एज इज जस्ट अ नम्बर उनको जीवनमा लागु भएको छ । ढुंगानाले आफ्नो कामबाट यही भनाइलाई सिद्ध गरेका छन् । चिने जानेहरूका बीच विकल्प युवा वैज्ञानिक रुपमा परिचित छन् । उनले आजका मितिसम्म सोलार स्कुटर, हेलिकोप्टर टेक्नोलोजि, धुपबाल्दा घण्टी बच्ने उपकरण, ट्राफिक मास्क, बम डिस्पोजल रोबोट, अर्थ क्वाएक अलाम, म्यानुअल लिफ्टिङ रोबोट, ग्रास कटर मेसिन, पुलिस रोबोट, फुटबल प्लेयर रोबोट तथा सोबि एन्टी अल्कोहल भेहिकल (मादक पदार्थ सेवन गरी मोटरसाईकल चलाएमा मोटरसाईकलको स्टार्ट बन्द हुने प्रविधि) जस्ता उपकरणको आविष्कार गरि सकेका छन् ।
विकल्पले निर्माण गरेको सोलार स्कुटर घामको तापक्रमबाट चलाउन सकिने स्कुटर हो भने उनले आविष्कार गरेको धुपसम्बन्धी उपकरण नेपालमा नै नौलो हो । उक्त उपकरण मन्दिरमा जडान गरेपछि हरेक पटक धुप बाल्दा मन्दिरको घण्टी आफैं बज्ने गर्छ । त्यस्तै टा्रफिक प्रहरीका लागि विशेष प्राथमिकतामा राखेर आफूले स्मार्ट माक्स बनाएको ढुंगाना बताउँछन् । उनले निर्माण गरेको स्मार्ट माक्सबाट प्रहरीलाई धुवाधुलोबाट संरक्षण गर्छ भने माक्स भित्रबाटै सिट्ठी पनि बजाउन मिल्छ । ढुंगानाका अन्य आविष्कारहरू पनि रोचक किसिकका छन् ।
उनको बम डिस्पोजल रोबोटले बमलाई निस्किृय पार्ने, ग्रास कटर मेसिनले घाँस काट्ने, फुटबल प्लेयर रोबोटले फुटबल खेल्ने तथा सोबि एन्टी अल्कोहल भेहिकल मोटरसाइकलमा जडान गरे मादक पदार्थ सेवन गरेको बेला चलाउनै नमिल्ने हुन्छ । यो उपकरणले बढ्दो सवारी दुर्घटनालाई कम गर्ने उनको विश्वास छ । ढुंगानाको यिनै कार्यहरूले नेपालको विज्ञानको क्षेत्रमा योगदान पुर्याएको भन्दै केही समय अघि नेपाल सरकारले उनलाई २०७५ सालको प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मान पनि गरेको थियो । उक्त पुरस्कार अन्तर्गत उनले २ लाख ५० हजार रुपैयाँ प्राप्त गरेका थिए ।
राज्यबाट आफ्नो क्षमताको कदर गरिएकोमा आफूलाई थप उर्जा तथा हौसला मिलेको ढुंगाना बताउँछन् । डा. सन्दुक रुईत तथा रदि मियाँजस्ता हस्तीहरूसँगै आफू पनि सम्मानित हुन पाउँदा आफ्नो खोज तथा अनुसन्धानले पूर्णता पाएको उनको भनाइ छ । ढुंगाना यस अघि पनि युवा प्रतिभा पुरस्कार तथा जुनियर साइन्टिस अवार्डबाट सम्मानित भैसकेका छन् । स्नातक तहमा अध्ययन गरिरहेका उनी अहिले जागौं युवा नेपाल तथा युनाइटेड आइडिया नेपालमा रिसर्च कोअर्डिनेटरका रुपमा काम गरिरहेका छन् ।