साप्ताहिक संवाददाता
चिनियाँ कम्पनी हुवावेले पहिलो फोल्डेबल फोन ‘मेट एक्स’ सार्वजनिक गरेको छ । चीनमा मात्र बिक्री गर्न मिल्ने उक्त स्मार्टफोनमा गुगलका कुनै पनि फिचर समावेश गरिएको छैन । अमेरिकाको प्रतिबन्धबीच हुवावेले आफ्नै अपरेटिङ सिस्टम निर्माण गरी मेट एक्स लन्च गरेको हो । उक्त स्मार्टफोन १४ दशमलव ६ सेन्टिमिटर फराकिलो छ, जसमा आठ इन्चको ओएलईडी ट्याबलेट डिस्प्ले रहेको छ । यो फोल्ड हुँदा ६ दशमलव ६ इन्चको बन्छ ।
९ सय ८० चिपसेट प्रयोग गरिएको मेट एक्समा गुगलको एन्ड्रोइड ९.० मा आधारित ईएमयूआई ९.१.१ अपरेटिङ सिस्टम जडान गरिएको छ । आठ जीबी र्याम रहेको मेट एक्समा ५ सय १२ जीबी स्टोरेज र ४ हजार ५ सय एमएएचको ब्याट्री क्षमता रहेको छ ।
सुरक्षा खतरा रहेको भन्दै अमेरिकाले हुवावेमाथि प्रतिबन्ध लगाएसँगै अमेरिकी कम्पनी गुगलले हुवावेलाई एन्ड्रोइड अपरेटिङ सिस्टमसहित गुगलका अन्य फिचर्स प्रदान गर्न बन्द गरेको थियो । यसको मूल्य २ हजार ४ सय २२ अमेरिकी डलर तोकिएको छ ।