साप्ताहिक संवाददाता
यसअघि विराज भट्टको चलचित्र ‘साङ्लो’ फागुन ९ गते प्रदर्शन गर्ने कुरा थियो । तर, यो चलचित्रको प्रदर्शन मिति अहिले आएर पुनः परिवर्तन भएको छ । निर्माण टिमले दिएको जानकारी अनुसार अब यो चलचित्र माघको २४ गते प्रदर्शन हुनेछ ।
अभिनेता तथा निर्देशक विराजका अनुसार प्रदर्शन मिति हेरफेर गरिएसँगै छिट्टै पहिलो गीत सार्वजनिक गरिनेछ ।
विराज र निकिता चाण्डक लगायतका कलाकारहरुको अभिनय रहेको चलचित्र ‘साङ्लो’को बिषयवस्तु के हो भन्ने विषयमा अहिलेसम्म निर्माण टिमले बोलिसकेको छैन । यद्यपी, सामाजिक कथावस्तुमा एक्सन र लभ स्टोरी जनरामा यो चलचित्र निर्माण गरिएको बताइन्छ ।
अभिनेता तथा निर्देशक भट्टको टिमले यो चलचित्रको प्रदर्शन मिति हेरफेर गरेसँगै अब ‘साङ्लो’ अभिनेता विपिन कार्कीको मुख्य भूमिका रहेको चलचित्र ‘सेल्फी किङ’सँग जुध्ने पक्का भएको छ ।
‘सेल्फी किङ’को निर्माणपक्षले केही दिन अघिनै माघ २४ मा आफ्नो चलचित्र प्रदर्शन गर्ने पक्का गरिसकेको थियो । साथै, तुरुन्तै सार्वजनिक ‘सेल्फी किङ’को पोस्टरले राम्रै चर्चा बटुलेको थियो ।
सेल्फी किङ र साङ्लो एकैपटक प्रदर्शन हुने भएपछि चलचित्रका मुख्य अभिनेता विराज र विपिनको लडाईँ पक्का भएको छ । पछिल्लो समय एकपछि अर्को हिट चलचित्र दिएका विपिन र धेरै समयपछि पर्दामा आउन लागेका पुराना स्टार विराजको लडाईँमा कसले जित हात पार्छ ? त्यो भने चलचित्र प्रदर्शन भएसँगै थाहा हुनेछ ।