साप्ताहिक संवाददाता
चलचित्र दिलमा माधुरी दीक्षित तथा आमिर खानमाथि फिचर्ड गरिएको गीत मुझे निंद न आए, मुझे चैन न आए निकै लोकप्रिय मानिन्छ । यो गीतलाई चलचित्रमा समावेश गर्ने विषयमा चलचित्रका निर्माता एवं गीतकार समिरबीच निकै ठूलो विवाद भएको तथ्य हाल आएर गीतकार समिरले सार्वजनिक गरेका छन् ।
समिरका अनुसार चलचित्रका निर्माताले उक्त गीतको बोल आफूले ५ सयभन्दा बढी फिल्मी गीतमा सुनिसकेको बताउँदै त्यस्तो घिसापिटा लाइन प्रयोग गरिएको गीत चाहिँदैन भनेका थिए, तर समिरले उक्त गीतले चलचित्रलाई सपोर्ट गरेन भने पछि हटाउँदा हुन्छ भन्ने सर्तमा निर्मातालाई उक्त गीत चलचित्रमा समावेश गर्न सहमत गराए । चलचित्र सार्वजनिक भएलगत्तै सुपरहिट भएको थियो ।
चलचित्रको सफलतामा त्यही गीतले मुख्य भूमिका निर्वाह गरेको थियो र उक्त गीत जनमानसको जिब्रोमा झुन्डिन पुगेपछि ती निर्माताले कसम खाँदै समिरसँग भने– अबदेखि म तपाईंसँग कुनै पनि गीतको शब्दका विषयमा बहस गर्नेछैन । तपाईंले जे लेखेर दिनुहुन्छ, त्यसैलाई चलचित्रमा फिचर्ड गराउनेछु । स्मरणीय छ, गीतकार समिरका नाममा चलचित्रका लागि सर्वाधिक गीत लेख्ने विश्व कीर्तिमान छ ।