साप्ताहिक संवाददाता
विगत लामो समयदेखि आफ्नो ‘डेब्यु’लाई लिएर चर्चामा आएकी पूर्व मिस वल्र्ड मानुषी छिल्लरले धमाकेदार इन्ट्री मार्ने भएकी छन् । मानुषी अभिनेता अक्षयकुमारको अपोजिट रहेर चलचित्रमा अनुबन्धित भएपछि बलिउडमा उनी चर्चामा छिन् ।
मानुषीलाई सिल्भर स्क्रिनमा यशराज व्यानरले ल्याउन लागेको हो । केही दिनअघि मात्र अक्षयले आफ्नो जन्मदिनमा उनको आगामी चलचित्र ‘पृथ्वीराज’को टिजर सार्वजनिक गरेपछि यो चलचित्रको घोषणा गरिएको हो । यशराज फिल्म्सका अनुसार यो ऐतिहासिक पृष्ठभूमिमा आधारित चलचित्रमा मानुषी अक्षयको अपोजिटमा हुनेछिन ।
‘मानुषीलाई ऐतिहासिक चलचित्र ‘पृथ्वीराज’मा नायिकाका रूपमा अनुबन्धित गराएका छौं । चलचित्रको कथा निडर र पराक्रमी राजा पृथ्वीराजको जीवन र वीरतामा आधारित हुनेछ । यसमा सुपरस्टार अक्षय कुमार पृथ्वीराज र मानुषी भव्य संयोगिताको भूमिकामा देखिनेछन्’, यशराज व्यानरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यो चलचित्रलाई डा. चन्द्रप्रकाश द्विवेदीले निर्देशन गर्नेछन् ।
उनले यसअघि कैयौं पुरस्कार विजेता चलचित्र ‘पिन्जर’ र इतिहासमा आधारित टेलिभिजन सिरियल ‘चाणक्य’को निर्देशन गरिसकेका छन् । ‘हामीले भूमिकाका लागि धेरै युवा र नयाँ अनुहारको अडिसन लियौं किनभने हामी एक शानदार भव्य भारतीय अभिनेत्रीको खोजीमा थियौं । जबकि संयोगिता एक अविश्वसनीय रूपले सुन्दर व्यक्ति थिइन् । उनी एक मजबुत र आत्मविश्वास युवती पनि थिइन् । हामी यस्तै व्यक्ति खोजिरहेका थियौं । यो संयोगिताको व्यक्तित्वसँग मेल खाएको होस् । त्यो गुण मानुषीमा पायौं’, निर्देशक द्विवेदीले भनेका छन् ।