सबै पर्यटकको सोचाइ घुम्ने मात्र हुँदैन । कतिपय पर्यटक घुम्ने बहानामा स्थानीय संस्कृतिविपरितका गतिविधि पनि गर्छन् । यस्तै किसिमको एउटा नौलो हर्कत पोखराको फेवातालमा हालै भएको छ । पोखरा घुम्न आएकी एक महिला पर्यटकले फेवातालमा डुङ्गामा सयर गर्ने क्रममा निर्वस्त्र भएर खिचेको तस्बिर सामाजिक सन्जाल इन्स्टाग्राममार्फत् सार्वजनिक गरेकी छिन् । पिठ्युँ फर्काएर डुंगामा निर्वस्त्र बसेकी ती महिला पर्यटकले फेवातालमा जलकुम्भी झारले ढाकेको एकान्त स्थानमा दिउँसोको समयमा खिचेको देखिन्छ । तस्बिरको पृष्ठभूमिमा फेवाताल वरिपरिका घरहरूसमेत देख्न सकिन्छ ।
ती महिला पर्यटकले इन्स्टाग्राममा कोमसिकोम्सस नामबाट उक्त तस्बिरहरू सार्वजनिक गरेपछि स्थानीय प्रशासनको ध्यान आकृष्ट भएको थियो । स्थानीय तहबाट उनको क्रियाकलापको विरोध भएपछि ती महिला पर्यटकको खोजीसमेत भएको थियो । तर ती महिलाको इन्स्टाग्राम एकाउन्ट हेर्दा उनी स्वदेश फर्किसकेको देखिएको छ, जसका कारण उनी पक्राउ पर्ने सम्भावना धेरै कम भएको छ ।
ती महिला पर्यटकले नेपाल भ्रमण गर्ने क्रममा काठमाडौं, पोखरा, पोखराआसपासको क्षेत्र, अन्नपूर्ण ट्रेक, थोरङ्ला पास गर्दाका तस्बिरहरू पनि छन् । उनले अपलोड गरेका अधिकांश तस्बिर ग्ल्यामरस छन् । उनले अन्नपूर्ण हिमश्रृंखलालाई पृष्ठभूमि बनाएर धेरै तस्बिर खिचेकी छन्, जसमा उनले विकिनी लगाएकी छिन् ।
नेपालको भ्रमणपश्चात् ती महिला पर्यटक भारतका विभिन्न स्थानको भ्रमण गरेको अपलोड गरेको तस्बिरबाट प्रस्ट हुन्छ । उनले इन्स्टाग्राममा आफूलाई योग, घुमघाम, प्रकृति र दार्शनिक विषयमा रुचि भएको उल्लेख गरेकी छन् । १६ अक्टुबरमा पोस्ट गरिएको उक्त तस्बिरभन्दा अगाडि उनले फेवाताल किनारामा हातमा मेहन्दी लगाउँदै गरेको फोटो पनि पोस्ट गरेकी छन् ।
पोखरास्थित पर्यटक प्रहरी कार्यालयका अनुसार अश्लील हर्कत हुन नदिन आफूहरूले निगरानी बढाए पनि कोमसिकोम्ससले तालको एकान्त कुनामा गएर तस्बिर खिचाएको हुनाले पक्राउ पर्न नसकेको जनायो । मुलुकी अपराध संहिताले सार्वजनिक स्थलमा यौनाङ्ग देखाउनेलाई ६ महिनासम्म कैद वा ५ हजार रुपैयाँ जरिवाना हुने व्यवस्था गरे पनि कोमसिकोम्सस विरुद्ध उजुरी परेको छैन । उनले नेपालबाट फर्किएपछि तस्बिर पोस्ट गरेका कारण पनि पक्राउ गर्न नसकिएको पर्यटक प्रहरीको भनाइ छ । पोखरामा ३८ जना पर्यटक प्रहरीको दरबन्दी भए पनि २२ जना कार्यरत छन् । कास्कीको पर्यटकीय रुट वीरेठाँटी, धम्पुस र घान्द्रुकमा समेत २–२ जना पर्यटक प्रहरी कार्यरत छन् । उनीहरूले कानुनविपरित हुने पर्यटकका गतिविधिलाई निगरानीमा राख्छन् ।
नेपाल पर्यटन बोर्ड पोखराका प्रबन्धक सूर्य थपलियाले पर्यटकका यस्ता गतिविधिले हाम्रो स्थानीय संस्कृतिलाई असर पुर्याउने भएकाले यस्ता गतिविधि हुन नदिन सर्तक बन्नुपर्ने बताउँछन् । पछिल्लो क्रममा आएको प्रविधि र सोसल मिडियाका कारण यस्ता गतिविधि सार्वजनिक हुने गरेको उनले बताए । पर्यटन बोर्डले सामान्य प्रशासनिक कार्य गर्ने भएकाले यस्ता उजुरी आफूकहाँ आइनपुग्ने थपलियाले बताए ।
- तस्बिर : कोमसिकोम्ससको इन्स्टाग्रामबाट