साप्ताहिक संवाददाता
जापानको टोकियोमा दोस्रो पटक आयोजना गरिएको ‘सुर्य ईन्टरनेशनल एवार्ड २०१९’ सम्पन्न भएको छ । आइतवार जापानमा निकै कम दर्शकका बीच एवार्ड सम्पन्न गरियो ।
भव्य रुपमा आयोजना हुने जानकारी दिएको आयोजकले उल्लेख्य दर्शक हलमा उतार्न नसक्दा कार्यक्रम निकै सुनसान भयो । हलमा एवार्ड लिन गएका नेपालका चलचित्रकर्मी, केहि पत्रकारहरु, आयोजक पदाधिकारीहरु बाहेक जापानमा रहेका नेपालीहरुको खासै उपस्थिती देखिएन ।
आयोजकले एवार्ड कार्यक्रममा एक हजार दर्शक उपस्थित हुने आशा राखेको थियो । यद्यपी, नेपालबाट गएका ५०–६० जना दर्शक, केहि पत्रकार तथा आयोजक सदस्य र उनीहरुका नजिकका आफन्तहरु जोड्दा डेढ देखि दुईसयको हाराहारीमा मात्रै हलमा रहेको साप्ताहिकलाई प्राप्त तस्विरबाट थाहा पाउन सकिन्छ । यद्यपी, आयोजकले भने साढे तिन सय दर्शक उपस्थित भएको जनाएको छ ।
कसले कुन एवार्ड पाए ?
‘क्याप्टेन’बाट अनमोल केसी र ‘कायरा’बाट साम्राज्ञी राज्यलक्ष्मी शाहले पपुलर अभिनेता र अभिनेत्रीकोको एवार्ड पाए । त्यस्तै निर्देशक तथा कलाकार दीपाश्री निरौलाले ‘छक्का पञ्जा ३’बाट पपुलर निर्देशकको एवार्ड जितिन् । त्यस्तै ‘गोपी’बाट अभिनेत्री वर्षा राउतले पपुलर सह–अभिनत्रीको एवार्ड पाइन् । पप गायकमा ‘कर्के नजर’बाट सञ्जिव पराजुली र ‘कर्के नजर’बाटै टिका प्रसाई पप गायिको एवार्ड पाइन् । आधुनिक गायक तर्फ ‘मोहनी’बाट राजेश पायल राई र गीत ‘पिरिम नलाउने’बाट मेलिना राईले एवार्ड पाए । क्रिटिक्स एवार्ड चलचित्र ‘प्रसाद’ले जित्यो । प्रसादबाटै अभिनेता बिपिन कार्की र नम्रता श्रेष्ठले पनि अवार्ड पाए । उत्कृष्ट निर्देशकतर्फ ‘गोपी’बाट निर्देशक दिपेन्द्र लामाले एवार्ड पाए । वरिष्ठ कलाकार नीर शाहलाई ‘लाइफटाईम एचिभमेन्ट’ एवार्डबाट सम्मान गरियो । त्यस्तै मह जोडीलाई ‘सुर्य रत्न सम्मान’बाट सम्मानित गरिएको छ । क्याप्टेन तथा कलाकार विजय लामालाई ‘सुर्य कलाकारिता सम्मान २०१९’ प्रदान गरियो ।