साप्ताहिक संवाददाता
आसन्न दक्षिण एसियाली खेलकुद (साग) अगाडि नेपाली महिला भलिबल टिमका लागि यत्तिको राम्रो तयारी थप सम्भव थिएन । जति बेला साग सुरु हुनेछ र नेपाली टिम कोर्टमा उत्रनेछ, त्यति बेला टिमको उत्साह र प्रदर्शन फरक हुनेछ । यो सबैको कारण हो— नेपाली महिला भलिबल टिमले हात पारेको पहिलो ऐतिहासिक सफलता । यसलाई कोसेढुंगा सफलता भने पनि हुन्छ र यो हो— एभीसी सेन्ट्रल जोनको उपाधि । महिला भलिबलको इतिहासमा नेपालले स्वर्ण जितेको यो नै पहिलो पटक हो ।
तर पूरा कथाको सुरुवात राम्रो भने थिएन र यसका लागि महिना दिनपछाडि फर्कनुपर्ने हुन्छ । ती दिन एक प्रकारले विवादास्पद थिए । नेपाल भलिबल संघले पाँच महिनाअघि एउटा कठोर निर्णय लिएको थियो । निर्णयअनुसार संघले महिला टिमका केही अनुभवी र पुराना खेलाडीलाई विश्राम दिने घोषणा गरेको थियो, अनि यसै क्रममा टिममा नयाँ अनुहारलाई अवसर दिने भएको थियो । यो निर्णयको चर्को विरोध भयो र यो एक प्रकारले स्वभाविक पनि थियो ।
आखिरमा नियमित कप्तान र उपकप्तानसहित चार खेलाडीलाई राष्ट्रिय टिमबाट हटाउने निर्णय कम अप्रत्याशित थिएन । त्यो एक प्रकारले संघले उठाएको जोखिमपूर्ण निर्णय थियो र यसले दिने नतिजा स्पष्ट दुई मात्र थियो— कि सफलता, होइन भने असफलता, तर सुखद संयोग मान्नुपर्छ, संघको यो निर्णय सफल सावित भएको छ र लगभग केही नयाँ अनुहारले भरिएको टिमले नै अन्तत: नेपाली भलिबलमा पहिलो ठूलो सफलता दिलाएको छ ।
नयाँ अनुहारलाई अवसर दिएपछि त्यो टिम कम अनुभवी हुनु र युवा खेलाडीको बाहुल्यता हुनु त स्वाभाविक नै हो, तर धेरै अवसरमा विश्व खेलकुदमा यही विशेषता सफलताको कारण पनि हुन सक्छ । खेलकुदमा नियम नै छ, जसले जोखिम उठाउने काम गर्छ, त्यही सफल पनि हुन्छ, यस्तै भएको छ, नेपाली महिला भलिबलमा । नेपाली राष्ट्रिय टिमले एभीसी सेन्ट्रल जोनको उपाधि जित्ने क्रममा बंगलादेशी भूमिमा माल्दिभ्सलाई हराएको थियो, त्यो पनि सोझो सेटले ३–० ।
फाइनल अगाडि नै नेपालले उपाधि जित्ने लगभग तय देखिएको थियो, यति राम्रो खेलिरहेको थियो, नेपाली टिमले । सहिद सुरवार्दी इन्डोर कभर्ड हलमा भएको फाइनलमा नेपालको जित कस्तो रह्यो भने त्यसलाई ब्याख्या गर्दा एकोहोरो भने हुन्छ । यो सफलताको विश्लेषण धेरै अर्थमा अबको सागमै टिकेर हुनेछ र यो स्वभाविक पनि हो । नेपाली भलिबलसँग लामो समयदेखि आबद्ध संघका महासचिव जितेन्द्र चन्दकै शब्दमा, यो उपाधिले साग अगाडि ठूलो आत्मविश्वास दिलाएको छ ।
उनी के तथ्यमा पनि आशावादी छन् भने अब यही टिम केही वर्षसम्म नेपाली महिला भलिबलको आधार हुनेछ । उनले भनेका छन्, ‘अहिलेको टिममा नयाँ र अनुभवविहीन खेलाडी मात्र छन् भन्नु पनि ठीक होइन । टिममा पुराना र अनुभवी खेलाडी पनि थिए । यो सफलता पछिल्लो पाँच महिनाको लगातारको मेहनतले प्राप्त भएको हो । यो टिमले अबको केही वर्ष नेपाली महिला भलिबललाई अगाडि बढाउनेछ । अहिले त सुरुवात मात्र हो ।’
फाइनलमा नेपालले माल्दिभ्सलाई हराउनुअघि लिग चरणमा त्यही माल्दिभ्ससँगै अफगानिस्तान, कीर्गिस्तान र बंगलादेश सबैलाई सोझो सेटमा हराएको थियो । उपाधिसम्मको यात्रामा नेपालले कुनै पनि खेलमा कुनै पनि सेट गुमाउनु परेन् र यसले पनि देखाएको छ, प्रतियोगितामा नेपालको एकपक्षीय प्रभुत्व । राउन्ड रोबिन लिगको आधारमा भएको प्रतियोगितामा कुल पाँच टिम सहभागी थिए । लिग चरणको समाप्तिमा शीर्ष दुई स्थानमा रहेका टिमले फाइनल यात्रा तय गरेका थिए ।