साप्ताहिक संवाददाता
कैयन् अवस्थामा सम्भोग अत्यन्त पीडादायक हुन्छ, जसका कारण अधिकांश महिलाहरू यौनप्रति अरुचि देखाउन थाल्छन् । यसलाई विज्ञानको भाषामा डिस्परयुनिया अर्थात् पेनफूल इन्टरकोर्स भनिन्छ । यस्तो पीडा बारम्बार दोहोरिन्छ र त्यसले स्त्री–पुरुष सम्बन्धलाई नै प्रभावित गर्छ । यो पीडाका बारेमा दोस्रो पक्षलाई जानकारी भएन भने उसले यौनकार्यमा सहयोग र सहभागिता प्राप्त नभएको भन्ने मान्छ र बिस्तारै यो समस्याले सम्बन्धमै दूरी बढाउँछ । अत: यसलाई समझदारी पूर्वक सामना गर्नु आवश्यक छ ।
वेजिनिस्मस
वेजिनिस्मसको अर्थ हो— कुनै बाहिरी कुरा महिला यौनांगमा प्रवेश गर्नुको आभास मात्रले पनि हुने पीडा । यसमा संभोगको प्रयास वा सम्भावनाको आभास हुनेबित्तिकै स्त्री यौनांग बाहिरतिरको एकतिहाइ हिस्सामा संकुचन आउँछ । यसबाट सुखमय समागम हुन पाउँदैन र साथीले जबर्जस्ती सम्बन्ध राख्ने प्रयास गर्छ भने समस्या र पीडा दुवै बढ्छ । यसका पछाडि कैयन् मानसिक कारण हुन्छन् । जस्तै महिलाको मनमा सहवासका सम्बन्धमा पहिलेदेखि नै डर रहनु वा कुनै प्रकारले यौनलाई पाप सम्झनु वा गलत कार्यका रूपमा बुझ्नु । यो एक प्रकारको मानसिक समस्या हो र यसलाई काउन्सिलिङपश्चात् एक हदसम्म निराकरण गर्न सकिन्छ । स्त्रीरोग विज्ञहरू यस्तो मामिलामा महिलालाई उनीहरूको यौनांग इलास्टिकजस्तै हुने र आवश्यकताअनुसार आकार बढ्ने वा घट्ने प्रकृतिको हुन्छ भनेर बुझाउँछन् । कुनै थेरेपी वा किजल एक्सरसाइजमार्फत यौनांगलाई बिस्तारै बाहिरी स्पर्शप्रति सहज बनाउने
प्रयास गरिन्छ ।
योनिमा हुने पीडा
कहिलेकाहीं महिलाहरूलाई नाभीमुनि वा यौनकेश क्षेत्रको वरपर पीडा महसुस हुन्छ । यस्तो पीडा मासिक श्रावका बेलाको जस्तै हुन्छ । यसका पछाडिको कारण हुन्छ, उत्तेजना हुँदा यौनांग वरपर रक्त संचार तीव्र रुपमा बढ्नु । यस्तो अवस्थामा लुब्रिकेशन त हुन्छ तर चरमोत्कर्ष हुँदैन । यसले पीडा दिन्छ । यसैलाई महिलाहरू यौनसम्पर्कका कारण भएको पीडाका रूपमा लिन्छन् । यसबाट जोगिन
स्त्रीरोग विज्ञको परामर्श लिनु आवश्यक हुन्छ ।
लेक्स पेरिनियम
बढ्दो उमेर तथा शिशुको जन्मपछि केही महिलाको यौनांग खुकुलो हुन्छ, जसका कारण यौन समागमका क्रममा स्त्री–पुरुष दुवैलाई सन्तुष्टिको आभास हुँदैन । यसका लागि कीजल एक्सरसाइज एवं आवश्यक भए सर्जरी, वेजानोप्लास्टीसम्म गरिन्छ ।
रजनोवृत्ति
रजनोवृत्तिमा केही महिलामा यौनइच्छा कम भएको पाइन्छ । यस्तो अवस्था योनिरसको पर्याप्तताको अभावका कारण सिर्जना हुन्छ । यसले गर्दा यौन समागममा समस्या सिर्जना हुन्छ । हार्मोनल परिवर्तनका कारण पनि त्यस्तो हुन्छ । यतिबेला महिलाको शरीरमा सेक्स हार्मोनको स्तर कम हुन्छ । राम्रो खानपानबाट एस्ट्रोजन लेवल बढाउन सकिन्छ भने आवश्यकताअनुसार चिकित्सकीय सल्लाहअनुसार एस्ट्रोजन क्रिम वा सिन्थेटिक एस्ट्रोजन प्रयोग गर्न सकिन्छ ।
योनिको सुख्खापन
स्त्री यौनांगमा चिल्लोपनलाई उत्तेजनाको आधार मानिन्छ । केही महिलामा चिल्लोपनको कमी भएको गुनासो पाइन्छ । यस्तोमा यौन क्रिया पीडादायक हुन्छ । चिल्लोपनको कमीको मुख्य तीन कारण हुन्छन्— इन्फेक्सन, हार्मोनल गडबडी वा पाक्क्रीडामा कमी । यदि यौनांगबाट रगत आउँछ वा कपडामा दाग लाग्छ वा अत्यन्त गन्ध आउँछ भन्ने इन्फेक्सनको सम्भावना हुन्छ । हार्मोन्सको गडबडी अर्थात् एस्ट्रोजनको कमी प्राय: गरी रजनोवृत्तिपछि देखा पर्छ । पाक्क्रीडाको समस्या छ भने त्यसमा पर्याप्त समय दिनु पर्छ तर चिप्लोपनको अभाव नै कारण हो भने चिकित्सकीय सल्लाह आवश्यक हुन्छ ।