कुनै जमानामा नेपाली चलचित्रका ‘एक्सन किङ’ भनेर चिनिन्थे शिव श्रेष्ठ । उनको एक्सन रहेको चलचित्र दर्शकले हेर्न नपाएको धेरै भयो ।
उनको अभिनय रहेको पछिल्लो चलचित्र ‘बागमती’ प्रदर्शन भएको लगभग चारबर्ष भैसक्यो । त्यसपछि उनले कुनैपनि चलचित्रमा साइन गरेनन् । अफर आएका चलचित्रका स्क्रिप्टले चित्त बुझाएन । किन ? शिव भन्छन्, ‘बागमतीबाट जति आशा राखेको थिएँ, त्यसअनुसार रिजल्ट नपाएपछि चलचित्रमा साइन गर्न डराएँ ।’
चलचित्रमा काम गर्दिनँ भनेर अडान कस्दै आएका शिवलाई एकाएक चलचित्र ‘प्रेम गीत ३’ले भने मन तान्यो । अहिले उनी विहान देखि साँझसम्म यो चलचित्रको छायांकनमा व्यस्त छन् । यो चलचित्रमा राजाको भुमिकामा काम गरिरहेका शिव थप्छन्, ‘चलचित्रका स्क्रिप्ट मन नपरेपछि साइन गर्ने कुरा पनि भएन । तर, यो चलचित्रलाई अरु जस्तै इग्नोर गर्न सकिनँ ।’
चलचित्रमा काम नगर्ने भन्दै बस्नुभएको थियो नि ? रातको ९ बज्दै सुटिङसेटमै भेटिएका शिवलाई प्रश्न थियो यो । उनको उत्तर सहजै फुत्कियो, ‘प्रेम गीत ३’ को अफर आउने बेलामा समेत अरु चलचित्रका स्क्रिप्ट जस्तै हो कि जस्तो लाग्यो, तर स्क्रिप्ट पढिसकेपछि मन प-यो । तुरुन्तै साइन गरेँ ।’ उनले राम्रै पारिश्रमिक बुझेर यो चलचित्रमा काम गरेको रहस्य उनले फुत्काए । तर, कति पारिश्रमिक लिएको भन्ने विषयमा उनले मुख खोलेनन् ।
चलचित्रका चर्चित अभिनेता हुन् शिव श्रेष्ठ, जुन कुनै नौलो कुरा थिएन । अहिले चलचित्र ‘प्रेम गीत ३’मा काम गर्दैछन् भन्ने कुरा पनि नौलो भएन । किनभने, यस बिषयमा समाचारहरु सार्वजनिक भैरहेका थिए । शिवले कफी पसल संचालन गरेर पछि बिक्री गरेको कुरा पनि खासै नौलो भएन । उनको लगानीमा निर्माण भएको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’को छायांकन सुरु भयो । र, पछि प्राबिधिक कारण यो चलचित्रको छायांकन रोकियो भन्ने समाचार पनि पाठकका लागी खासै नौलो थिएन । हातमा कफी बोकेका हँसिला शिवलाई ठट्यौली शैलीमा एउटा प्रश्न गरेँ, ‘आखिर नौलो के त ?’ उनले भने, ‘खासै नौलो कुरा केहि छैन । तर, अहिलेसम्म कहिल्यै कसैलाई नभनेको कुरा भन्छु, ‘मलाई अहिले तपाईँले अन्तरवार्ता लिइरहनुभएको छ । कुनैबेला तपाईँजस्तै मैले पनि कसैको अन्तरवार्ता लिन्थेँ । तपाईँजस्तै रातको ९ बजे–१० बजे समाचार खोज्दै हिड्थेँ । भोकभोकै समाचार खोज्दै भौतारिएका धेरै याद अहिले पनि बिर्सिएको छैन ।’
शिवले विभिन्न मिडियामा झण्डैँ एक दशक लामो पत्रकारिता गरेको कुरा सुनाए ।
२०४८ साल । विराटनगरमा थिए शिव । काठमाडौँमा रहेको समय दैनिकमा उनकै बुबा श्याम सुन्दर श्रेष्ठले जागिर लगाए । उनले उक्त पत्रिकामा ५ बर्षभन्दा धेरै रिपोर्टिङ गरे । त्यसपछि उनले ‘नयाँ समाज’मा काम गरे । यो पत्रिकामा उनले ४ बर्षको हाराहारी काम गरे । समय दैनिकका सम्पादक मनिक लाल श्रेष्ठ र नयाँ समाजका सम्पादक बाल मुकुदेव पाण्डेले शिवलाई पत्रकारिता क्षेत्रमा तिम्रो फ्युचर छ भन्दै हौसला थप्थे । शिव फुरुङ्ग पर्थे । सोहि कारण उनले धेरैपटक कडा किसिमका स्टोरी पनि लेखेका छन् । धेरैपटक धम्की समेत पाएका छन् । शिव पन्चायतकाल फर्किए । खासै धेरै बोल्न र लेख्न नपाउने स्थिती थियो । तर, शिवको स्वभाव थियो, सहि र सत्य समाचार लेख्नैपर्छ ।
त्यहिबेला सहायक अञ्चलाध्यक्षको एउटा कडा स्टोरी वाइलाइन लेखे । तुरुन्तै उनलाई भेट्न बोलाइयो, प्रशासन कार्यालयमा । बन्द कोठाभित्र उनलाई अञ्चलाध्यक्ष र सहायक अञ्चलाध्यक्षले -याख – -याख पारे । उनलाई एउटा प्रश्न गरे अञ्चलाध्यक्षले, ‘भाई पत्रकारिता भनेको के हो ?’ उनले सहजै जवाफ दिए, ‘घटना जे होस्, तर बुझेर सत्य र तथ्यगत रुपमा समाचार लेख्नुलाई पत्रकारिता भनिन्छ ।’
शिवकै भाषामा यो जवाफले ति अञ्चलाध्यक्षलाई मन परेछ ।
ल राम्रो गर्दै गर भन्दै उनीहरुले शिवलाई घर पठाए । ‘फिल्ममा होस् या फिल्मबाहिरको जिवनमा । जसले महत्वपुर्ण भुमिकामा काम गर्छ, उ हिरो हो, फन्नी स्वभावमा शिवले थपे, ‘त्यतिबेला समाचार लेख्दा पनि म हिरो थिएँ । पछि चलचित्रमा काम गरेपछि पनि म हिरो हुने मौका पाएँ ।’
पत्रकारिता किन छोडे उनले ?
ठेट जवाफ छैन । किन चलचित्र क्षेत्रमा लागे ? त्यसको पनि खास जवाफ छैन । तर, शिव भन्छन्, ‘त्यतिबेला पत्रकारिता पनि गरिन्थ्यो । हरेक चलचित्र प्रदर्शन भएको पहिलो दिन हेर्ने स्वभाव थियो । सायद सोहि स्वभावको मात्रा बढ्यो र म अभिनय क्षेत्रमा आकर्षित भएँ ।’
धेरैबर्ष चलचित्र क्षेत्रमा निस्क्रिय भएर अहिले सक्रिय भएका शिव हरेक कुरामा अपडेट छन् । शहरका विभिन्न क्याफेमा पुगेर उनले साथिभाईहरुलाई भेटिरहन्छन् । गफ सुन्छन् । चलचित्रदेखि राजनितीको पछिल्लो अवस्थाबारे उनी अपडेट छन् । शिव खुलेरै बोले, ‘अहिले राजनिती पनि खत्तम भयो । पत्रकारिता पनि उस्तै छ । पत्रकारिता गर्नेले हावातालमा काम गरिरहेका छन् । राजनिती गर्नेले पनि त्यस्तै । पत्रकारहरु पत्रकारजस्ता नभएकै कारण आफुले अन्तरवार्ता दिन समेत छोडेको उनले सुनाए । भने, ‘पछिल्लो समय भनेको पनि नलेख्ने, नभनेको त्यो भन्दा धेरै लेख्ने स्टिम पो आएछ । अनि मिडियालाई भेट्नै छोडिदिएँ ।’
करिब ४० वर्षदेखि नेपाली चलचित्रमा रहेका शिव बाँकी समय पनि यहि क्षेत्रमा बिताउने योजना सुनाए । त्यसपछि उनी छायांकनस्थल तर्फ लागे ।