साप्ताहिक संवाददाता
भलिबल नेपालमा निकै लोकप्रिय छ, यसमा कुनै शंका छैन । अझ यो पर्यो, नेपालको राष्ट्रिय खेल । त्यसमाथि पछिल्लो समय नेपाली भलिबल निकै सक्रिय रहेको छ । लगातार प्रतियोगिता मात्र भइरहेको छैन, यस खेलबाट सफलता पनि प्राप्त हुन थालेको छ । यस्तोमा १३ औं दक्षिण एसियाली खेलकुदमा नेपालको प्रदर्शन कस्तो होला त ? पुरुष र महिला स्पर्धामा नेपालको सम्भावना कत्तिको छ ? नेपाल भलिबल संघ स्वयं महत्त्वाकांक्षी बनेको छ ।
संघको कतिसम्म दाबी छ भने यसपल्ट कुनै ठूलो सफलता प्राप्त हुनेछ, यसमा विश्वास गरे हुन्छ । विशेषत: नेपालले महिला भलिबलमा सम्भावना बढी देखेको छ । ‘हाम्रो सबैभन्दा बलियो सम्भावना महिला भलिबलमा रहेको छ,’ संघका महासचिव जयन्द्र चन्दले भनेका छन्, ‘नेपालको लक्ष्य स्वर्ण नै हो भन्दा आश्चर्य नमाने हुन्छ ।’ त्यसो त नेपालले महिला भलिबलबाट सागमा प्राप्त गरेको अहिलेसम्मकै सबैभन्दा ठूलो सफलता भनेको कांस्य पदक हो ।
तर पछिल्लो समय महिला भलिबलबाट प्राप्त सफलताले सबै हौसिएका छन् । सबैभन्दा ठूलो तथ्य के हो भने नेपालले आफ्नै घरेलु दर्शकमाझ खेल्दैछ । भर्खरै मात्र बंगलादेशमा भएको एभीसी सेन्ट्रल जोन महिला भलिबलको उपाधि नेपालले जितेको छ, त्यसैले पनि नेपालको आशा बढेको हो । त्यस प्रतियोगितामा अहिलेका प्रमुख प्रतिद्वन्द्वी टिम सहभागी थिएनन् । त्यसैले पनि अहिलेको सागमा पदकको समीकरण फरक र कठिन हुने निश्चित छ ।
नेपाली टिमकी कप्तान अरुणा शाही पनि आफ्नो टिमले राम्रो गर्नेमा विश्वस्त छन् । उनी भन्छिन्, ‘बंगलादेशमा प्राप्त सफलताले हामी बढी आत्मविश्वासी भएका छौं ।’ नेपाल प्रतियोगिताको समूह ‘ए’ मा रहेको छ र यसमा नेपालका प्रतिद्वन्द्वी हुनेछन्, भारत र बंगलादेश । लिग चरणमा समूहको शीर्ष दुई स्थानमा हुनेले सेमिफाइनल प्रवेश गर्ने हुनाले यसपल्ट नेपालको पहिलो उद्देश्य नै आफ्नो समूहको शीर्ष दुई स्थान कब्जा गर्नु हुनेछ, त्यसपछि थप रणनीति तयार हुनेछ ।
पुरुष भलिबलका खेल दशरथ रंगशालाको कभर्ड हलमा हुनेछ । लिग कम नकआउटका आधारमा हुने प्रतियोगितामा नेपाल कठिन समूहमा भने छ । नेपालले लिग चरणमा भारत र बंगलादेशको सामना गर्नेछ । नेपालका सबैभन्दा ठूलो प्रतिद्वन्द्वी भारत नै हो र नेपाली टिमले वैदेशिक तयारीका लागि भारत नै राजेको थियो । केही दिनअघि मात्र भारतको भ्रमणबाट नेपाली भलिबल टिम फर्केको थियो । नेपालको लक्ष्य पदककै केन्द्रित छ ।
यसपल्टको सागदेखि नै डेब्यु गर्न लागेको एउटा खेल हो— बिच भलिबल । नेपालमा यो खेल सुरु भएको एक दशकजति भइसकेको छ । सन् २०१४ मा माल्दिभ्समा भएको एभीसी सेन्ट्रल जोन बिच भलिबलमा कमला पुन र कोपिला उप्रेतीको जोडीले पहिलो पटक नेपाललाई पदक दिलाएको थियो, त्यो पनि स्वर्णका रूपमा । त्यसबाहेक नेपालले यो खेलमा खासै ठूलो सफलता हात पार्न सकेको छैन, अझ भन्दा भलिबलकै ओझेलमा परेको छ भन्दा पनि हुन्छ ।
रमाइलो के भने बिच भलिबलमा नेपालले दक्षिण एसियाली प्रतियोगितामा सहभागी जनाउन लागेको पनि यो पहिलोपल्ट नै हो । यसका लागि बन्द प्रशिक्षण भने भदौबाट गरेको थियो । पुरुष र महिला दुवै टिमले तयारीका लागि श्रीलंकाको यात्रा पनि गरेको छ । यो खेलको सबैभन्दा ठूलो समस्या हो, खेल्न र अभ्यास गर्न नेपालमा उपयुक्त कोर्टको अभाव । यी सबै पृष्ठभूमिमा नेपालको यो खेलमा सम्भावना कमजोर मान्न सकिन्न ।
कुन खेलमा कति पदक
क्र.स. | खेल | स्वर्ण | रजत | कांस्य | कुल |
1 | आर्चरी | १० | १० | १० | ३० |
2 | एथलेटिक्स | ३६ | ३६ | ३६ | १०८ |
3 | बास्केटबल | २ | २ | २ | ६ |
4 | थ्रिएक्स बास्केटबल | ||||
२ | २ | २ | ६ | ||
5 | ब्याडमिन्टन | ७ | ७ | १४ | २८ |
6 | बक्सिङ | १६ | १६ | ३२ | ६४ |
7 | क्रिकेट | २ | २ | ४ | ८ |
8 | साइकिलिङ | ८ | ८ | १६ | ३२ |
9 | फेन्सिङ | १२ | १२ | २४ | ४८ |
10 | फुटबल | २ | २ | २ | ६ |
11 | गल्फ | ४ | ४ | ४ | १२ |
12 | ह्यान्डबल | २ | २ | २ | ६ |
13 | जुडो | १५ | १५ | ३० | ६० |
14 | कबड्डी | २ | २ | ४ | ८ |
15 | कराँते | १९ | १९ | ३८ | ७६ |
16 | खो–खो | २ | २ | ४ | ८ |
17 | स्विमिङ | ३८ | ३८ | ३८ | ११४ |
18 | सुटिङ | २० | २० | २० | ६० |
19 | स्क्वास | ४ | ४ | ८ | १६ |
20 | टेबलटेनिस | ७ | ७ | १४ | २८ |
21 | टेनिस | ६ | ६ | १२ | २४ |
22 | तेक्वान्दो | २९ | २९ | ५८ | ११६ |
23 | ट्रायथलन | ५ | ५ | ५ | १५ |
24 | भलिबल | २ | २ | २ | ६ |
25 | बिच भलिबल २ २ २ ६ | ||||
26 | भारोत्तोलन | २० | २० | २० | ६० |
27 | कुस्ती | २० | २० | २० | ६० |
28 | उसु | २२ | २२ | ३६ | ८० |
29 | कुल | ३१६ | ३१६ | ४९७ | १,१११ |
नोट : प्राविधिकको सल्लाहअनुसार पदक तालिकामा हेरफेर हुन सक्नेछ ।