विराज भट्ट नेपाली चलचित्रमा निकै व्यस्त थिए । दर्जनौं हिट चलचित्र दिएका विराज विस्तारै भोजपुरी चलचित्रप्रति आकर्षित भए । कुरा लगभग ५–७ बर्षअघिको हो ।
नाम पनि राम्रै, दाम पनि गज्जबको हुने भएपछि उनी भोजपुरी चलचित्रमा छिरे । धमाधम काम गर्न थाले । एकछत्र राज गरे । एक्सन र उनको फरक किसिमको अभिनयले त्यहाँ स्थापित गरायो । भोजपुरी चलचित्र उद्योगमा उनले तिन दर्जन भन्दा धेरै चलचित्रमा अभिनय गरे ।
अहिले पनि उनको माग भोजपुरी चलचित्रमा निकै राम्रो छ । निरन्तर फोन र म्यासेज आइरहेको हुन्छ, भोजपुरी चलचित्र उद्योगका निर्देशक तथा निर्माताको । तर, विराजले आफु केहि समयका लागी व्यक्तिगत काममा व्यस्त रहेको जवाफ दिएर तर्किएका छन् ।
फ्यान पनि राम्रै, पैसा पनि राम्रै रहेको उक्त उद्योग छोडेर विराज केहि बर्षअघि नेपाल फर्किए । अनि, घोषणा गरे, ‘साङ्लो’ । चलचित्रको स्क्रिप्टको पहिलो खाका लगभग तयार थियो, सुरुमा विराजले यो चलचित्रको स्क्रिप्ट सकाए । केहि महिनामै स्क्रिप्ट सकियो । त्यसपछि अभिनेत्री खोज्न सुरु गरे । प्रोडक्सन टिमसहित उनको ध्यान विभिन्न पुराना अभिनेत्रीमा गयो । तर, कोहि चित्त बुझेन । विराज सम्झन्छन्, ‘एकाएक निकिता चाण्डकमा पुगेर आँखा अडियो ।
प्रोडक्सन टिमले फोन गरेर निकितालाई पुरानो बानेश्वर नजिकैको एक रेष्टुरेन्टमा भेटघाट मिलायो । अनि चलचित्रका विषयमा लामै छलफल भयो ।’ विराजका अनुसार सुरुमा निकिताले आफु चलचित्रमा काम गर्ने मुडमा नरहेको बताएकी थिइन् । तर, विराजले वान लाइन स्क्रिप्ट सुनाउँदै गए, एकाएक निकिताको मन परिवर्तन भयो । विराज सम्झन्छन्, ‘मैले पहिलोपटक सामान्य रुपमा स्क्रिप्ट सुनाएँ । जब अन्तिम तिरको एउटा दृश्य छ त्यसले उहाँ भक्कानिएरै रुनुभयो ।’ विराजले जब निकिता रोइन, अक्क न वक्क भए । किन रोइन भन्ने कुरा नबुझेपनि स्क्रिप्टले रुवाएको हुन सक्न अड्कन काटे । आँसु पुछेपछि निकिताले विराजलाई फाइनल स्क्रिप्ट दिन आग्रह गरिन् । दोस्रो भेटमा उनले स्क्रिप्ट दिए, अनि निकितालाई आधिकारिक रुपमा आफ्नो चलचित्रमा साइन गराए ।
पुर्व मिस नेपाल भएकाले धेरैको नजर निकिताले तानेकी थिइन् । महंगो बजेटमा निर्माण सुरु गरिएको चलचित्र ‘रानीमहल’को सुटिङ एकाएक रोकिएको थियो । रानीमहल घोषणापछि निकिताको क्रेज कस्तो रहेछ भन्ने विराजले बुझेका थिए । सोहि कारण उनले निकितालाई सहजै रुपमा आफ्नो चलचित्रमा लिन खोजे । हामीले केहि अभिनेत्रीहरुको सुची बनाएका थियौं, विराज भन्छन्, ‘हाम्रो युनिटका धेरैको ध्यान उनीप्रति गयो । राम्रै रकम दिएर अनुबन्धित गरेका हौं ।’
निकितासँग काम गर्दाका धेरै क्षण विराजले सम्झन्छन् । आफुभन्दा ठुला र पुराना कलाकारलाई आदर तथा सम्मान गर्ने निकिताको बानीबाट आफु प्रभावित भएको उनले सुनाए । हरेक कुरा सिक्न खोज्ने स्वभाव विराजलाई असाध्यै मन प-यो ।
निकिताले चलचित्र क्षेत्रमै स्थापित हुने योजना गराउनुभएको छ, विराज सम्झन्छन्, ‘अभिनयमा खोट लगाउने बाटो छैन । मिहेनत गर्दै जानुभयो भने धेरै सफल हुने लक्षण देखेको छु ।’