साप्ताहिक संवाददाता
दसैं र तिहारताका पिङ खेल्दा जोकोहीको मुखबाट निस्कने शब्द हो— च च हुई च च हुई । पिङ खेल्दाको रमाइलोमा निस्कने यो शब्दले जोकोहीलाई रोमाञ्चित बनाउँछ, तर यहाँ पिङको नभई चलचित्र ‘च च हुई’को कुरा हुँदैछ । गत साताबाट प्रदर्शनमा आएको साम्तेन भुटिया निर्देशित चलचित्र ‘च च हुई’ नेपालका विभिन्न हलमा प्रदर्शन भइरहेको छ । आर्यन सिग्देल, भोलाराज सापकोटा, मिरुना मगर र माओत्से गुरुङको कथा वरपुर घुमेको यो चलचित्रको व्यापार सोचेजस्तो छैन ।
चलचित्रको कथा हङकङबाट सुरु हुन्छ । सानैमा आमा गुमाएपछि प्रेम (आर्यन सिग्देल) हङकङ पुग्छन् । आमाको निधनपछि प्रेमका नेपाली सेनाका कर्णेल पिताले दाजुभाइको अंशबन्डा गरिदिन्छन् । उनका पिताले प्रेमलाई चाहिँ नागरिकता र पासपोर्ट बनाइदिएर हङकङ पठाउँछन् । प्रेमका साथी भोला (भोलाराज सापकोटा) टुहुरो हुन्छन् र उनलाई हङकङका व्यापारीले धर्मपुत्र बनाएर हङकङ पुर्याउँछन् । त्यहीं नै उनीहरूको भेट हुन्छ र साथी बन्छन् । भोला भोलाजस्तै सोझा छन्, जुनसुकै काम गर्दा उनले काम बिगारेकै हुन्छन् । भोलाकै कारण प्रेमले राम्ररी काम गर्न सक्दैनन्, जसका कारण दुवै जना आफू काम गरिरहेको ठाउँबाट निकालिन्छन् ।
यही बेला उनीहरूको भेट श्यामलाल पण्डित (माओत्से गुरुङ) सँग हुन्छ । श्यामलालले दुवै जनालाई नेपाल गएर अभिभावक खोजी उतै बस्न सल्लाह दिन्छन् र उनीहरूको हातमा एउटा पुस्तक थमाएर नेपाल फर्काउँछन् । हातमा पुस्तक बोकेर नेपाल फर्किए पनि दुवैले पुस्तकको महत्व बुझ्दैनन् । पुस्तकका कविता पढ्छन्, चित्त बुझाउँछन् । पुस्तक हातमा थमाएपछि माओत्सेले उनीहरूसँग सेल्फी खिचेर त्यो फोटो भाइबरमा नेपाल पठाउँछन् ।
यता नेपाल आइपुगेपछि प्रहरी र पुस्तक पाउने आस गरेका व्यक्तिहरूले पुस्तक खोज्न थाल्छन्् । यही मेसोमा प्रेमको भेट संगीता (मिरुना मगर) सँग हुन्छ । काठमाडौंको रेस्टुराँमा काम गर्ने संगीता देखेपछि प्रेम मोहित हुन्छन् । पुस्तकको खोजी बढेपछि प्रेम र भोला पोखरा जाने निर्णय लिन्छन् । पोखरा जाने बस चढ्दा त्यही बसमा संगीता पनि पोखरा जान चढ्छिन् । मुस्ताङकी संगीता घर जानका लागि पोखरा गएकी हुन्छिन् । पोखरा पुगेपछि प्रेमले पोखराकै एक होटलमा मुस्ताङबाट आएका एक युवक भेट्छन् र आफ्नो पिताका बारेमा बताएपछि मुस्ताङको मार्फामा रहेको ठेगाना पाउँछन् अनि भोला र प्रेम पनि मुस्ताङ नै जान्छन् ।
मुस्ताङ पुगेपछि प्रेमले संगीता र उनको परिवारको सहयोगमा पिता बस्ने घर त भेट्छन् तर पिता भेट्दैनन् । यही बीचमा प्रेम र संगीताको प्रेम मौलाउँदै जान्छ । रूपले सुन्दर संगीतालाई मुस्ताङमै एक प्रहरी अधिकृत र स्थानीय डनले मन पराइरहेका हुन्छन् । प्रेम र भोलालाई पक्राउ गर्ने आदेश आएपछि प्रहरीले उनीहरू दुवैलाई खोज्छन् । यो कुरा थाहा पाएका प्रेम र भोला संगीतालाई लिएर पोखरा भाग्छन् । उनीहरूसँगै हङकङबाट ल्याएको किताब पनि पोखरा पुग्छ । चलचित्रमा पुस्तकले ल्याएको ट्विस्ट र प्रेमले पितालाई भेट्छन् या भेट्दैनन् भन्ने थाहा पाउन दर्शकले चलचित्र नै हेर्नुपर्ने हुन्छ ।
चलचित्रलाई कमेडी फ्लेभरमा प्रस्तुत गरिएको छ । अभिनयका हिसाबले आर्यन र भोलाले राम्रै अभिनय गरेका छन् । मिरुनाको अभिनय खासै नदेखिए पनि उनको मुस्कानलाई भने दर्शकले राम्रैसँग हेर्न पाउँछन् । माओत्सेले पनि आफ्नो भूमिकालाई केही हदसम्म न्याय दिएका छन् । कमेडी जनरा रुचाउने दर्शकले केही मात्रामा चलचित्र मन पराउलान् । चलचित्रको संगीत पक्ष ठीकै छ । द्वन्द्वमा केही नयाँ शैली अपनाइएको छ । चलचित्रमा चुनावको वातावरण, डनजस्तो देखाइएको एक पात्रको शैली अनावश्यक दृश्य लाग्छन् । यी दृश्य नहुँदा पनि चलचित्रमा खासै केही फरक पर्दैन थियो । जुन कुरामा निर्देशकको ध्यान गएको पाइँदैन ।