साप्ताहिक संवाददाता
ऐश्वर्यासँग अलग्गिएपछि सलमानको नाम अभिनेत्री कटरीना कैफसँग जोडियो । बलिउडमा कटरिनाको करियर बनाउनका लागि सलमानको योगदान महत्त्वपूर्ण मानिन्छ ।
टिप्स कम्पनीले ‘सलमान खान’ नाम नै राखेर चलचित्र दर्ता गराएको थियो, तर यो चलचित्र आजसम्म निर्माण भएको छैन । सलमान खान र शाहरूख खानमा एउटा ठूलो आकर्षण थियो । दुवैले ‘हम तुम्हारे हे सनम’, ‘करण अर्जुन’ र ‘कुछ कुछ होता हे’ जस्ता चलचित्रमा काम गरेका थिए ।
बलिउड अभिनेता सलमान खान यतिबेला होम प्रोडक्सनको चलचित्र ‘दबंग–३’मा व्यस्त छन् । पछिल्लो पटक चलचित्र ‘भारत’मा देखिएका सलमान चलचित्र ‘दबङ’मा रहेको आफ्नो हिट चरित्र ‘चुलबुल पाण्डे’लाई ‘दबंग–३’मार्फत पुन: दर्शकमाझ ल्याउन लागेका हुन् । यो चलचित्रमा प्रभु देवाको निर्देशन छ ।
हालसम्म अविवाहित सलमानको रोचक कुरा थाहा पाउने दर्शक तथा पाठक सायद कमै होलान् । सलमानका मन पर्ने अभिनेता, अभिनेत्री, पहिलो कमाइ, लाज लागेको क्षण, कोसँग डराउँछन् जस्ता कुरा सम्भवत: उनको नजिकका बाहेक अन्य कोहीले पनि थाहा पाएका छैनन् । यो आलेखमा सलमानका यिनै रोचक कुरा प्रस्तुत गरिएको छ ।
सन् १९६५ डिसेम्बर २७ मा इन्दोरमा जन्मिएका सलमान चलचित्रमा अभिनेता नभई निर्देशक बन्न चाहन्थे, तर उनको सानदार व्यक्तित्व देखेका निर्माताहरू उनलाई अभिनेताकै रूपमा चलचित्रमा अनुबन्धित गर्न चाहन्थे । सलमानको पूरा नाम अब्दुल रशिद ससलम सलमान खान हो ।
सन् १९८८ मा सलमानले सहायक अभिनेताका रूपमा पहिलो पटक अभिनय गरेको चलचित्र ‘बीबी हो तो ऐसी’ रिलिज भएको थियो । फारुख शेख र रेखाजस्ता स्टार कलाकारका बीच सलमानले दर्शकको ध्यान आफूतिर तान्न सफल भएका थिए ।
सलमानले प्रमुख अभिनेताका रूपमा अभिनय गरेको पहिलो चलचित्र ‘मैने प्यार किया’ हो । सन् १९८९ मा रिलिज भएको यो चलचित्र त्यो बेला रिलिज भयो, जुन समयमा बलिउड उद्योग पाइरेसीको चपेटामा परेको थियो । सलमानको यो चलचित्रको प्रिन्टको खर्च बचाउनका लागि थोरै प्रिन्ट र प्रचारका साथ रिलिज गरिएको थियो, तर चलचित्रले सफलता पाएपछि यसको प्रिन्टको संख्या बढाइएको थियो ।
चलचित्रमा आउनुअघि सलमानको रोमान्स संगीता बिजलानीसँग चलिरहेको थियो । त्यो समयमा सलमानको तुलनामा संगीता ठूलो स्टार थिइन् । एक विज्ञापनमा यो जोडी सँगै देखिएका थिए ।
सन् २००४ मा पीपुल म्यागाजिनले सलमानलाई ‘बेस्ट लुकिङ म्यान इन द वल्र्ड’को लिस्टमा सातौं र भारतमा पहिलो स्थानमा राखेको थियो । सलमान अभिनेता धर्मेन्द्रका ठूलो फ्यान हुन् । आज पनि धर्मेन्द्र सलमानका मन पर्ने अभिनेता हुन् । उनी हलिउड अभिनेता सिल्वेस्टर स्टेलोनको पनि फ्यान हुन् ।
सलमानले धर्मेन्द्रका साथमा चलचित्र ‘प्यार किया तो डरना क्या’मा काम गरेका थिए । धर्मेन्द्रले यो चलचित्रमा काम गर्दा एक रुपैयाँ पनि पारिश्रमिक लिएका थिएनन् । धर्मेन्द्र सलमानलाई भेट्दा आफूलाई युवावस्थाको सम्झना आउने गरेको बताउँछन् । उनी पनि सलमानकै जस्तो ह्दयका सफा देखिन्थे । सलमान धर्मेन्द्रकी अभिनेत्री पत्नी हेमा मालिनीलाई पनि आफ्नो मन पर्ने अभिनेत्री मान्छन् ।
टिप्स कम्पनीले ‘सलमान खान’ नाम नै राखेर चलचित्र दर्ता गराएको थियो, तर यो चलचित्र आजसम्म निर्माण भएको छैन ।
सलमान खान र शाहरूख खानमा एउटा ठूलो आकर्षण थियो । दुवैले ‘हम तुम्हारे हे सनम’, ‘करण अर्जुन’ र ‘कुछ कुछ होता हे’ जस्ता चलचित्रमा काम गरेका थिए । सन् २००६ को दीपावलीमा एकै दिन सलमानको ‘जानेमन’ र शाहरूखको ‘डन’ रिलिज भएको थियो । सलमान आफ्नो चलचित्रको प्रचारका बेला शाहरूखको चलचित्र हेर्न पनि आग्रह गर्थे । केही समयअघि अभिनेत्री कटरिना कैफको जन्मदिनको पार्टीमा केही कुरालाई लिएर सलमान र शाहरूखबीच झगडा भएको थियो । यही घटनाका कारण उनीहरू लामो समय बोलेनन् । त्यसको केही समयपछि एक पार्टीमा दुवैले अँगालो मारेर आफूहरूबीचको तुस मेटाए ।
सलमानको संगीता बिजलानीसँग निकै लामो समय रोमान्स चल्यो । पछि सोमी अली उनीसँग नजिकिइन् । उनीहरूको निकटतालाई नजिकबाट नियालिरहेकाहरूले उनीहरूको चाँडै विवाह हुने अनुमान गरेका थिए, तर अनुमान केवल अनुमान मात्र रह्यो, अर्थात् उनीहरूको सम्बन्ध टुट्यो ।
सोमीपछि सलमानको जीवनमा ऐश्वर्या रायको प्रवेश भयो । सलमान ऐश्वर्यालाई निकै मन पराउँथे । भनिन्छ, चलचित्र ‘चलते चलते’मा ऐश्वर्याको शाहरूखसँग सुटिङ भइरहेको थियो । सलमान सुटिङ सेटमा पुगे र उनले शाहरूख र ऐश्वर्याकै कुरा काट्न थाले । सलमानको कुरालाई साथ दिँदै शाहरूखले ऐश्वर्यालाई चलचित्रबाट निकालेर रानी मुखर्जीलाई भित्र्याए ।
सलमानसँगको सम्बन्ध टुटेपछि ऐश्वर्या अभिनेता विवेक ओबरायसँग नजिकिइन् । यही मौकामा विवेकले सलमान र उनका दाजुभाइसँग झगडा गरे । यो घटनाको केही समयपछि विवेकले सलमानसँग माफी मागे, तर सलमानले उनलाई ‘नौटंकी’ भन्दै आजसम्म माफी दिएका छैनन् । सलमानका निकटस्थहरू भन्छन्, सलमान कोहीसँग रिसाए भने उनी सजिलै माफी दिँदैनन् । ऐश्वर्यासँग अलग्गिएपछि सलमानको नाम अभिनेत्री कट्रीना कैफसँग जोडियो । बलिउडमा कट्रीनाको करियर बनाउनका लागि सलमानको योगदान महत्त्वपूर्ण मानिन्छ ।
सलमानलाई कुनै पनि एवार्डमाथि विश्वास छैन । उनका लागि जनताको माया सबैभन्दा ठूलो पुरस्कार हो । सन्् २००५ मा चलचित्र ‘मेने प्यार क्यूँ किया’ पछि सलमानको कैयौं चलचित्र (क्योंकि, शादी करके फंस गया यार, जानेमन, बाबुल, सलाम–ए–इश्क, साँवरिया, गड तुस्सी ग्रेट हो, युवराज) बक्स अफिसमा असफल भए । करिब चार वर्षसम्म उनका कुनै पनि चलचित्र सफल भएनन् । यो अवस्थामा कतै सलमानको करियर सकिने अवस्थामा त आएको होइन भन्ने चर्चा पनि चल्यो, तर ‘पार्टनर’ र ‘वान्टेड’ जस्ता चलचित्रले उनको करियरलाई नयाँ सफलता दिलायो ।
चलचित्र ‘दबंग–२’, ‘एक था टाइगर’, ‘दबंग’, ‘वान्टेड’, ‘रेडी’, ‘बडीगार्ड’, ‘बजरंगी भाइजान’, ‘सुल्तान’, ‘एक था टाइगर’, ‘टाइगर जिन्दा है’ जस्ता चलचित्रले सलमानको करियरमा सफलताको नयाँ परिभाषा दियो । यो समय सलमानलाई बलिउडको सबैभन्दा ठूलो स्टार मानिन्छ । सय करोड क्लबमा उनका सर्वाधिक १२ चलचित्र समावेश छन् ।
चलचित्र ‘चिल्लर पार्टी’ हेरेपछि सलमान यति प्रभावित भए कि उनी तुरुन्तै चलचित्रका निर्माता बने । वर्षौं पहिले जब रणवीर कपुर चलचित्रमा आएका थिएनन्, त्यो समय रणवीर र सलमान एक नाइट क्लबमा बसिरहेका थिए । त्यो समयमा उनीहरूबीच झगडा पनि भएको थियो । त्यसको भोलिपल्ट पिता सलिम खानको आग्रहमा सलमान ऋषि कपुरको घर गएर माफी मागेका थिए । सलमान पिता सलिमसँग निकै डराउँछन् ।सलिम भन्छन्, ‘अब त सलमानले विवाह गर्नैपर्छ । किनकि उनको सानो भाइ विवाह गरेर बाबु बनिसके ।’
सलमान प्राय: शरीर बनाउने तरिका र फिटनेस टिप्स आफ्ना जुनियर कलाकारलाई दिइरहन्छन् । ऋतिक रोशन, अर्जुन कपुर, सोनाक्षी सिन्हासहित कैयौं अभिनेताले यो मौकाको फाइदा उठाइसकेका छन् ।
आफ्ना साथीको चलचित्रमा सानोतिनो भूमिकामा अभिनयका लागि सलमान तुरुन्तै सहमत हुन्छन् । उनी आफ्नो भूमिका र चलचित्रको कथाबारे बुझ्नुको साटो कहिले आउनुपर्ने हो भनेर जानकारी लिन्छन् ।
सलमानका पिता मुसलमान र आमा हिन्दू हुन् । सलिमकी दोस्री पत्नी इसाई हुन् । त्यसकारण सलमान दुवै धर्मका पर्व हर्षोल्लासका साथ मनाउँछन् । उनी आफ्नो परिवारलाई ‘मिनी इन्डिया’ भन्छन् । सलमान समाजसेवामा पनि निकै चासो दिन्छन् ।
आफ्नो संस्था बिइङ ह्युमनमार्फत उनी विशेष मुद्दामा सहयोग गर्छन् । जो व्यक्ति बिइङ ह्युमनको नक्कली टिसर्ट लगाउँछन्, ती व्यक्तिमाथि सलमानको सधैं रिस रहन्छ ।
भारतमा उनको बिइङ ह्युमन नामका धेरै स्टोर छन्, जसमार्फत प्राप्त आम्दानी उनी सामाजिक काममा खर्चन्छन् । सलमान प्राय: आफूले प्राप्त गरेको महँगो उपहार अन्य व्यक्तिलाई दिन्छन् । सलमानको बानीबाट आजित उनकी आमा सलमानलाई बिइङ ह्युमनको महँगो घडी मानिसहरूलाई दिन आग्रह गर्छिन्, जुन आग्रहलाई सलमानले नकार्न सकेका छैनन् ।
अभिनयका अतिरिक्त सलमान लेखक पनि हुन् । उनले केही चलचित्रका कथा पनि लेखेका छन् । योबाहेक उनी चित्र कोर्न पनि निकै रुचाउँछन् । चलचित्रका अतिरिक्त सलमान टेलिभिजनमा पनि रुचाइएका कलाकार हुन् । उनको शो ‘बिग बोस’ र ‘दस का दम’ लोकप्रिय शो हो ।
विवादसँग पनि सलमानको विशेष नाता छ । सन् २००२ मा उनको कारले रातिको समयमा सडकको फुटपाथमा सुतेका चार व्यक्तिलाई किचेको थियो, जुन घटनामा एकको मृत्यु भएको थियो । राजस्थानमा हरिण मारेको अभियोगमा उनले ठूलै मुद्दा–मामिलाको पनि सामना गर्नुपर्यो । यही मुद्दाका कारण उनी जेल पनि गए ।
सलमानका अनुसार उनको जिन्दगीमा सर्वाधिक लाजलाग्दो क्षण त्यो समयमा थियो, जुन बेला एक एवार्डमा उनले आफू सर्वश्रेष्ठ अभिनेताको एवार्ड पाउँछु भन्नेमा ढुक्क थिए । त्यो पुरस्कार घोषणा हुँदा उनी एवार्ड लिन आफू बसेको स्थानबाट उठेका पनि थिए, तर त्यो एवार्ड उनले नभई ज्याकी श्राफले पाए ।
केही वर्षअघि सलमान निकै मदिरा पिउँथे । एकदिन ऐनाअगाडि उभिँदा उनले आफ्नो अनुहार अनौठो देखे । त्यसपछि उनले ऐनामा आफूलाई मन नपरेको अनुहार दर्शकले स्क्रिनमा कसरी मन पराउलान् भनेर मदिरा पिउन पनि कम गरे ।
सलमानलाई चलचित्र उद्योगका मानिसहरू प्रेमपूर्वक ‘भाइ’ भनेर बोलाउँछन् र उनीसँग डराउँछन्, तर सलमान आफैं भने भाइ भनेको मन पराउँदैनन् । केही वर्षअघिसम्म सलमान आफू अभिनीत चलचित्रको प्रचार गर्न रुचाउँदैनथे । उनी चलचित्र राम्रो छ भने निश्चय नै चल्छ भन्ने मान्यता राख्थे, तर चलचित्र फ्लप हुन थालेपछि उनले ‘दबंग’को खुलेर प्रचार गरे । चलचित्र सुपरहिट भएपछि उनले प्रचारको महत्त्वलाई नजिकबाट बुझे । सलमान अन्तर्वार्ता दिन मन पराउँदैनन्, तर चलचित्रको प्रचारका लागि उनले नचाहेर पनि यो काम गरिरहनुपरेको छ ।
सलमान कार र मोटरबाइकका सौखिन हुन् । उनीसँग बीएमडब्लू एम–५, बीएमडब्लू एक्स–६, ओडी, रेन्ज रोवर, लेक्सस एलएक्स–४७०, टोयोटा लेन्डक्रुजरजस्ता महँगा कार छन् । कैयौं पटक उनी साइकलमा पनि मुम्बईका सडकमा निस्कन्छन् । पछिल्ला कैयौं वर्षदेखि उनी ब्रासलेट लगाइरहेका छन्, जसमा फिरोजा स्टोन लगाइएको छ । सलमानको मान्यता छ कि त्यो ब्रासलेट उनका लागि भाग्यशाली मात्र छैन, त्यसले उनीमाथि नराम्रो नजर लगाउनेबाट पनि बचाइरहेको छ ।
५ फिट ८ इन्च अग्ला सलमानभन्दा धेरै अभिनेत्री अग्ला छन् । यो विषयलाई लिएर उनी आफ्नै मजाक उडाउँछन् । सलमान आफूलाई अभिनय गर्न नआउने बताउँछन् । उनी आफू जस्तो रूपमा पर्दामा आए पनि दर्शकले त्यसलाई मन पराउँछन् । जब उनी चलचित्रमा आफ्नो टिसर्ट उतार्छन्, दर्शकहरू खुसीसाथ ताली बजाउँछन् । सलमान जिम जान त्यति मन पराउँदैनन्, तर आफ्नो पेसाअनुसार जिम जानुपर्ने भएपछि उनी दैनिक जिम जान्छन् । सलमानलाई मुम्बईका अतिरिक्त लन्डन मन पर्ने स्थान हो । सलमानको पहिलो कमाइ ७५ रुपैयाँ थियो । उनी डान्स ग्रुपमा कोरस थिए । त्यही नृत्यबाट उनी यति पारिश्रमिक पाउँथे ।
- स्रोत : वेभ दुनिया