साप्ताहिक संवाददाता
सन् २०१६ मा भारतको गुवाहटी र सिलोङले १२ औं दक्षिण एसियाली खेलकुद (साग) आयोजना गर्दा सबैभन्दा पीडा कुनै खेलका खेलाडी थिए भने त्यो कराँतेकै थियो । त्यो संस्करणको सागमा भाग लिन जान जहाँ अन्य खेलका खेलाडी अभ्यास गरिरहेका हुन्थे, कराँतेका खेलाडीसामु त्यसलाई चुपचाप हेर्नु बाहेक अर्को कुनै विकल्प नै थिएन । त्यस सागको दु:ख के भने त्यस संस्करणमा कराँते खेललाई समावेश गरिएको थिएन । नेपाली खेल अधिकारीहरूलाई के कुराको डर थियो भने कतै खेलबाट खेलाडीको माया र रुचि हराउने त होइन ?
धन्न त्यस्तो भएन् र नेपाली खेलकुदमा कराँतेको उपस्थिति ज्युँको त्यूँ रह्यो । यसपल्टको १३ औं सागमा फेरि एकपल्ट यो खेलले पुनरागमन गरेको छ, त्यो पनि आफ्नै देशमा । संयोग कस्तो भने सन् १९९९ मा आठौं सागमा पहिलो पटक कराँते खेल सामेल गरिएको थियो र त्यसमा राम्रो प्रदर्शनको आधारमा नेपालले पदक तालिकामा दरिलो उपस्थिति जनाएको छ । अबको प्रश्न कराँते फेरि सागमा फर्कंदैछ, यस्तोमा यो खेलले के पुरानो साख फर्काउन सक्नेछ त ?
काठमाडौंमा नेपालले कराँतेमा १४ स्वर्ण जितेको थियो । समग्रमा नेपालले यो खेलबाट २० स्वर्ण जितेको छ । यो अर्थमा सागमा कराँतेको प्रदर्शन बैभवशाली नै छ । काठमाडौंमा २० वर्षपछि फर्केको सागमा यो खेलको प्रदर्शन यस्तै रहनेछ कि त्यसमा अझ सुधार हुनेछ । मूल प्रश्न के नेपालले आठौं सागको तुलनामा अझ बढी स्वर्ण जित्न सक्ने छ त ? प्रशिक्षक कुशल श्रेष्ठ यत्तिको दाबी भने गर्दैनन् । खेलाडी छँदा आफैं स्वर्ण विजेता रहेका थिए, उनी ।
अहिले भन्छन्, ‘हाम्रो लक्ष्य आठ स्वर्णको हो । हाम्रो उद्देश्य सकेसम्म बढी पदक जित्ने नै हो । हामी यसका लागि सक्षम पनि छौं ।’ उनी पनि मान्छन्, ‘यो खेलका खेलाडी यसपटकका सागमा अझ राम्रो खेल्ने प्रयास गर्नुपर्छ किनभने उनीहरूलाई पछिल्लो साग खेलमा खेल्न नपाउनुको पीडा भुलाउनु छ ।’ यसपल्टको सागमा कराँतेतर्फ १९ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । कराँतेमा यसपल्ट व्यक्तिगत फाइट र काता मात्र होइन, टिम फाइट काता पनि राखिएका छन् ।
नेपाली खेलाडीले लगभग क्लिन स्विपका लागि प्रयास गर्नेछन् । यसको एउटा प्रमुख कारण दक्षिण एसियाली कराँतेको एउटा शक्ति भारतको अनुपस्थिति । भारतीय कराँते केही समययतादेखि विवाद र फुटबाट गुज्रिरहेका छ र नेपालले यसै कारण भारतको अनुपस्थितिका फाइदा उठाउनु पर्नेछ । हुनसक्छ, नेपालका लागि यसपटकको सागमा सबैभन्दा बढी स्वर्ण भित्रिने खेलमा यही कराँते पनि हुनेछ । प्रशिक्षक श्रेष्ठ यसका लागि प्रयास हुने पनि बताउँछन् र उनी त्यसका लागि आशावादी पनि छन् ।
यसमा एउटा बलियो आधार भनेको सागका लागि नेपाली कराँते टिमको लामो प्रशिक्षण पनि हो । सागकै लागि भनेर कराँतेका खेलाडी ६ महिनादेखि लगातार बन्द प्रशिक्षणमा छन् । यसैबीच टिमले दक्षिण एसियाली च्याम्पियनसिप र एसियाली च्याम्पियनसिपमा भाग लिएको छ र दुवैमा राम्रो पनि गरेको छ । संयोगले दक्षिण एसियाली च्याम्पियनसिपमा पनि नेपालले आठ स्वर्ण जितेको थियो र प्रशिक्षक श्रेष्ठ यसलाई आधार मानेर ठूलो दाबी गर्न चाहदैनन् । उनी के मान्छन्, यी दुई प्रतियोगिता खेलेर टिमलाई फाइदा भने भएको छ ।
उनका अनुसार नेपाली खेलाडीको सबैभन्दा बलियो पक्ष हो, शारीरिक रूपमा सबल हुनु । भारतको अनुपस्थितिमा नेपाललाई चुनौती दिने भनेको मुख्यत: श्रीलंका, पाकिस्तान र बंगलादेशले नै हो । नेपाली टिममा दुई अनुभवी खेलाडी पनि छन्, विनोद शाक्य र अनु अधिकारी । दुवै खेलाडीले यसअघिका सागमा नेपालका लागि स्वर्ण जितिसकेका छन् । कराँतेले वैदेशिक प्रशिक्षणका रूपमा केही साता मलेसियामा बिताएको थियो र खेलाडीहरू यसबाट फाइदा मिलेको पनि बताउँछन् ।