साप्ताहिक संवाददाता
प्रतिबन्धित शक्तिवद्र्धक औषधीको प्रयोग विश्व खेलकुदमा कहिले पनि रोकिनेछैन । सफलताको भोक, सफलताले दिने ख्यातिसँगै आर्थिक समृद्धिका कारण डोपिङ गरे खेल्ने खेलाडीहरू कहिल्यै पूर्णत: रोकिने छैनन् । अनि के पनि रोकिनेछैन भने यस्ता खेलाडीलाई रोक्ने अभियान पनि । यो अभियानको सन्देश नै हो, ‘डोपिङबाट बचौं, बचाऔ’ । डोपिङबाट बच्न सकिन्न, कुनै न कुनै दिन समातिने नै छ । त्योभन्दा ठूलो त के भने डोपिङ गर्ने खेलाडीले कालान्तरमा भयावह स्थिति सामना गर्नुपर्नेछ ।
दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करण सुरु हुँदा एउटा ठूलो मुद्दाका रूपमा रहनेछ, डोपिङ । सबैभन्दा डोपिङ के हो त ? प्रत्येक वर्ष वल्र्ड एन्टी डोपिङ एजेन्सी (वाडा) ले यस्ता औषधीको सूची जारी गर्छ, जसले खेलाडीमा अप्राकृतिक रूपमा शक्ति बढाउँछ र यसले खेलाडीको सफलताको सम्भावना बढ्छ, तर यो त चोरबाटो नै भयो । त्यसैले वाडाले त्यस्ता औषधी प्रयोगमा रोक लगाउनेछ । कसैले यस्ता प्रतिबन्धित औषधी प्रयोग गरेर खेल्छ भने त्यो नै डोपिङ भयो ।
वाडाको एक मात्र उद्देश्य हो, खेलकुदलाई सफा र चोखो राख्ने । यस्तोमा साग पनि त डोपिङबाट मुक्त रहनुपर्ने नै भयो । प्रतियोगितामा सहभागी खेलाडी औसत रूपमा डोपिङ परीक्षणबाट गुज्रिनेछन् । विजेता खेलाडी यस्ता प्रशिक्षणबाट गुज्रिने सम्भावना बढी भयो नै । सम्भवत: दुई सय खेलाडी यो प्रक्रियाबाट गुज्रिनेछन् । डोपिङ परीक्षण गर्ने विशेषज्ञले गुपचुप हल्ला नगरेर काम गर्ने गर्छन् । सकेसम्म उनीहरू मिडियामा पनि आउन चाहँदैन ।
सागमा पनि यही प्रक्रिया लागू हुनेछ । फेरि यो उत्तिकै खर्चिलो मात्र होइन, जटिल प्रक्रिया पनि हो । यसमा निकै धेरै लगानी गर्नुपर्ने हुन्छ । सागकै लागि भने डोपिङका विदेशी विशेषज्ञ आउनेछन्, विशेषत: चीन, जापान र दक्षिण कोरियाबाट । यो काममा सहभागी हुनेको दाबी रहनेछ, कसैले चोर बाटो प्रयोग गरेर शक्तिवद्र्धक औषधी प्रयोग गर्छन् भने त्यो खेलाडी जोगिनेछैन, समातिने नै छ । अझ सीधा अर्थमा यो चेतावनी नै हो, डोपिङ नगरौं भनेर ।
डोपिङमा नेपालमा उपलब्ध विशेषमध्ये अग्रणीमा पर्छन्, डा.सरोज श्रेष्ठ । उनी नेपालमा साग हुने भनेपछि खुबै व्यस्त छन् । उनको सबैभन्दा ठूलो काम हो, प्रतियोगितामा सहभागी हुने नेपाली खेलाडीलाई डोपिङबारे पूर्ण जानकारी दिने । यसबाट कसरी बच्ने, किन बच्नुपर्ने सबै तथ्य उनी खेलाडीलाई प्रशिक्षण दिइरहेका छन् । यसपछाडिको कारण पनि स्पष्ट छ । केहीले जानाजान प्रतिबन्धित शक्तिवद्र्धक औषधी प्रयोग गर्छन् । यो त अपराध भयो नै, तर केही खेलाडीले नजानेर पनि प्रतिबन्धित शक्तिवद्र्धक औषधीको प्रयोग गरेका हुन सक्छन् । सामान्य औषधीमा पनि डोपिङमा फस्न सक्ने तत्व हुन सक्छ । अब त खेलाडीले यस्ता औषधी बोकेका स्थितिमा पनि दोषी हुने नियम आइसकेको छ । फेरि कसैले नियतवश खेलाडीलाई फसाउने काम पनि गर्न सक्छन् । त्यसैले डोपिङबाट बच्ने एक मात्र उपाय भनेको खेलाडी स्वंय यसबाट सचेत हुने नै हो । यो सचेतनामा मिडियाको पनि उत्तिकै ठूलो भूमिका हुन्छ ।
सागको इतिहासमा डोपिङका ठूला–ठूला घटना भएका छैनन् । दु:खले यो प्रतियोगितासँग जोडिएको सबैभन्दा ठूलो काण्डमा मुछिने खेलाडी हुन्, नेपालकै धावक राजेन्द्र भण्डारी । सन् २००६ को कोलम्बो सागमा उनले दुई स्वर्ण जितेर सनसनी मच्चाए । तर पछि थाहा भयो, उनले त प्रतिबन्धित शक्तिवद्र्धक औषधी प्रयोग गरेका थिए । त्यसैले उनीमाथि निश्चिम समयको प्रतिबन्ध मात्र लागेन, ती दुवै स्वर्ण खोसिए । राजेन्द्र र देश दुवैको बेइज्जति भयो ।
डोपिङलाई लिएर सबैभन्दा ठोस तथ्य यही हो, यस्ता प्रतिबन्धित औषधी प्रयोग गरेर बच्न सकिन्न । अहिले बच्न नसकिएला, समातिने डर १० वर्षभन्दा बढीसम्म पनि हुन्छ । फेरि डोपिङको परिणाम भयावह छ नै । खेलाडीको स्वास्थ्यमा यसले निकै खराब असर पार्छ । शरीरमा अनौठो परिवर्तन आउँछन् । खेलाडी बिरामी हुने गर्छ अनि ज्यान नै जाने सम्भावना पनि हुन्छ । खेलाडी मानसिक पीडाबाट पनि गुज्रिने हुन्छन् र केहीले त आत्महत्या र्नै गर्छन् । त्यसैले यसबाट बच्नैपर्छ ।