साप्ताहिक संवाददाता
जति लामो तयारी गर्यो, त्यति राम्रो हुने हो । तर, नेपालीहरूको परम्परा नै जहिले अन्तिम समयमा काम गर्ने भइसकेको छ । दोस्रो कुरा, यो काम गर्दागर्दै नभ्याएर हो । म आएको जम्मा चार महिना भयो, त्योभन्दा अगाडि हामी के हेरेर बसेका थियौं भन्ने कुरा जायज हो ।
गत साउनमा रमेश सिलवाल राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव नियुक्त भएपछि उनले दुईवटा प्राथमिकता अघि सारे । एक, नेपाली क्रिकेटको विवाद समाधान । दुई, साग (दक्षिण एसियाली खेलकुद प्रतियोगिता) गराउने । संयोग दुवै प्राथमिकता पूरा गर्ने उनको अभियान जारी छ । ढिलै भए पनि १३ औं साग सुरु हुँदैछ । साग सुरु हुँदै गरेको मेसो पारेर सिलवालसँग साप्ताहिकले गरेको एकघण्टा लामो वार्तालापको सम्पादित अंश :
खेल सुरु हुने दिन आइसक्यो, तयारी सकिएको छैन नि ?
हामी नेपालीको परम्परा नै जहिले अन्तिम समयमा काम गर्ने भइसकेको छ । काम गर्दागर्दै नभ्याएर यसो भएको हो । म आएको जम्मा चार महिना भयो, त्योभन्दा अगाडि हामी के हेरेर बसेका थियौं भन्ने कुरा जायज हो । यो चार महिनामा कुनै पनि समय बिदा नलिइकन मसहित एउटा टिम नै खटियो । तीन महिनाअघि नै सबै तयारी सकिएर बाँकी के छन् भनेर सोच्नुपर्ने थियो तर त्यो भएन । जसले मिति घोषणा गर्यो । त्यसले इमानदारितासाथ योजना बनाएर काम गर्नुपथ्र्यो तर गरेको पाइएन । घमन्ड गर्यो भन्लान्, म नभएको भए साग हुन्थ्यो कि हुँदैनथ्यो भन्न सक्दिन ।
सरकारका अरू निकायबाट सहयोग नभएर हो ?
त्यो होइन । सरकारले त यसलाई राष्ट्रिय पर्वका रूपमा लिएको छ । आवश्यक बजेट दिनेदेखि कानुनसम्मत रूपले सहयोग गर्ने र कतिपय ठाउँमा सहजीकरण गर्ने काममा समेत सरकारको भूमिका छ । महानगरपालिकाहरूले राम्रो समन्वय र सपोर्ट गरेका छन् । सरसफाइ, ब्युटिफिकेसन, सडकका खाल्डाखुल्डी पुर्ने, एउटा डिनर होस्टे गर्ने, प्रचार–प्रसारमा सहयोग गर्नेसम्मका कुरा सकारात्मक रूपमा लिएका छन् । खेलकुद मन्त्रालयबाहेक परराष्ट्र, गृह र अर्थ तथा उद्योग वाणिज्यको सहयोगमा
काम भइरहेछ ।
पूर्वाधार बनिसकेपछि ट्रायल गर्नुपर्ने होइन ?
हामीले फाइदा लिने ‘होम ग्राउन्ड’ र ‘होम क्राउड’को हो । ‘होम ग्राउन्ड’को जति फाइदा लिनुपथ्र्यो, लिन सकेनौं । अब होम क्राउडको त साथ लिन सक्नुपर्छ । खेल्नलाई सबै पूर्वाधार फिट भइसकेका छन् । स्वीमिङ पुल एक साताजति खेल्न लगाउँछौं । हिटिङ पुलको ट्रायल पनि गरिसकेका छौं । पानीको समस्या हुँदैन, किनभने त्यो धेरै नौलो चिज होइन । दशरथ रंगशालामै फुटबल अभ्यास गर्न पाएको भए परिणाम राम्रो आउँथ्यो । त्यो हामीले गर्न सकेनौं तर त्यसले खासै ठूलो फरक पार्दैन ।
विश्वकप छनोटको कुवेतविरुद्धको खेल गराउन नसक्दा नकारात्मक सन्देश गयो नि ?
हरेक स्पोर्ट भेन्यु सम्बन्धित संस्थाले अन्तर्राष्ट्रिय मापदण्डअनुसार एक्रिडेट हुनुपर्छ । अस्तिको सवाल रंगशाला भएन भन्ने होइन, दुबो र प्याराफिट भएन भन्ने पनि होइन । मंसिर ३ गतेको खेल सर्नुको मूल सवाल भीआईपी प्याराफिट अन्डर कन्स्ट्रक्सन भएको र सुरक्षाका दृष्टिकोणले हो । ।
अर्को कुरा, त्यो खेल राजनीतिको सिकार पनि हो । कुवेत नेपाल आउन चाहँदैनथ्यो, उसलाई चिसो मौसमको नेपालको होम क्राउडमा हार्न पनि सक्छ वा ड्र हुन सक्छ भन्ने डर थियो । हाम्रो एन्फाले जति लबिङ गर्नुपर्ने हो, त्यो गर्न सकेन । उनीहरू भुटान पनि आउन चाहँदैनथे । हामीले हाम्रो देशको जस्तो हावापानी भनेर भुटान छानेका हौं । उनीहरूले कतारको दोहामा गर्ने भनेका थिए, खाने, बस्ने, ट्रेनिङ, टु वे सम्पूर्ण खर्च हामी बेहोर्छौं, पछि पनि सहयोग गर्छांै भनेर कुवेतले चिठी पठाएको छ । त्यसलाई अन्तर्राष्ट्रिय रूपमा लिएर गयो भने कारबाही हुन्छ । एक किसिमको म्याच फिक्सिङजस्तो तँलाई यो–यो दिन्छु, मैले भनेको ठाउँमा खेल्दे न भनेजस्तो । त्यो राजनीतिको सिकार पनि अलिकति भइयो ।
तर हारे पनि ७–० बाट १–० झर्यौं, त्यो सुधार त हो नि । कात्तिक मसान्तमा भीआईपी प्यारापिट सक्छु भनेर लागेको थिएँ, तर सकिनँ । सामान पनि समयमा आएन, म आफैं चीन गएँ, एउटा टोलीलाई भारत पठाएर ल्याएँ । छानो ठेकेदारले ल्याउन नसकेर हामी आफंैले एयर लिफ्ट गरेर ल्याउनुपर्यो । यस्ता प्राविधिक समस्याहरू पनि आएकाले अलि ढिला भयो, नत्र १५ दिनअगाडि सकिन्थ्यो ।
अन्तर्राष्ट्रिय प्रतियोगितालाई सहरले आफ्नो प्रतिष्ठा बनाउँछन्, तर साफमा त्यस्तो देखिएन नि ?
स्थानीय तहका सरकारले सहयोग गरेन भनेर म भन्दिनँ । जति स्वामित्व लिनुपथ्र्यो, त्यतिचाहिँ भएको देखिएन । त्यसको कारण यसबारे नबुझ्नु हो । अरू देशमा त्यहाँका मेयरहरू नै लिड गरेर जान्छन्, ओलम्पिक, एसियन गेम्स, वल्र्डकप क्यालिफायरमा हाम्रो नगरले यो–यो सुविधा दिन सक्छ भनेर बोलाउँछन्, वेलकम गर्न जान्छन् । हामीकहाँ त्यो प्रचलन रहेन । सागजस्ता खेलकुद सहरलाई विश्वसामु चिनाउने अवसर हुन् । काठमाडौं, पोखरा र जनकपुरलाई यो इन्टरनेसनल एरिनासम्म चिनाउने अवसर हो । त्यो मौकामा उहाँहरूको भूमिका अहिलेको भन्दा १० गुणा बढी हुनुपथ्र्यो तर त्यो भएन ।
सहरहरूमा खेलको माहौल बन्न किन नसकेको ?
गाह्रो कहाँनेर पर्यो भने १ सय दिनअघि काउन्ट डाउन गर्ने अन्तर्राष्ट्रिय प्रचलन हो । हामीले ३० दिनअगाडि काउन्ट डाउन गर्नुपर्ने हो । तर, ३० दिनअगाडि रंगशालाको त्यो संरचना नै बन्दैन । त्यतिबेला काउन्ट डाउन गरेको भए सकारात्मकभन्दा नकारात्मक असर पथ्र्यो, त्यसैले हामीले १५ दिनदेखि काउन्ट डाउन सुरु गर्यौं । त्यो हाम्रै असक्षमताका कारणले हो । हामीले १५ दिनदेखि सबै टेलिभिजन, पत्रपत्रिका, ठूलो इलेक्ट्रोनिक्स बोर्डबाट काउन्ट डाउन सुरु गरेका छौं । होर्डिङ बोर्डहरू क्रमश: लाग्दै छन्, बेलुनमार्फत पनि गर्दैछौं, मस्कटबाट पनि गरिरहेका छौं । प्रचार नै नभएको होइन, जति हुनुपर्ने हो त्यो भएको छैन ।
भिजिट नेपालको पूर्वसन्ध्यामा विश्वव्यापी नेपाललाई प्रचार–प्रसार गर्ने अवसर पनि साग हो । यसमा समन्वय कत्तिको भइरहेको छ ?
टुरिज्म बोर्ड र हाम्रो बीचमा समन्वय भएको छ । यसलाई हामीले ग्लोबलाइज गर्न खोजिरहेका छौं, १५ वटाजति टेलिभिजन च्यानलबाट प्रत्यक्ष प्रसार हुँदैछ । साग मुलुक मात्रै छैनन्, हङकङ, थाइल्यान्ड, सिंगापुर, जापान, कोरिया पनि हुँदैछ । २ अर्बभन्दा बढीले साग हेर्ने अनुमान हामीले गरेका छौं । यो सकारात्मक पक्ष हो । त्यसैले हामीले उद्घाटन र समापन सत्रलाई भव्य बनाउने तयारी गरिरहेका छौं । ३ घण्टा १७ मिनेटको उद्घाटन सत्र हुनेछ । उद्घाटन सत्रमा नेपाली कला, संस्कृति, इतिहास झल्काउने खालको एउटा र अर्को पारम्परिकबाहेक अलि हाइटेक प्रयोग पनि गर्न खोज्दैछौं । झन्डै २ सय ड्रोन प्रयोग गर्न खोज्दैछांै, लेजर लाइटको प्रयोग गर्छौं । राम्रो साउन्ड सिस्टम र बाहिर इलेक्ट्रिसिटीको पनि ब्युटिफिकेसन गर्न खोजिरहेका छौं । यी सबैबाट यसले गति लिन्छ ।
लाइभ गर्ने विषय विवादित बनेको छ नि ?
लाइभ गर्ने नेपाल टेलिभिजनबाट मात्रै हुन्छ । एउटाले अधिकार किनेपछि सबैलाई दिने–नदिने उसको हातमा हुन्छ । तर, खिच्नै नपाइने भन्ने होइन । अहिले हामीले बसेर एउटा छलफल गरेका छौं, निश्चित समय समाचारका लागि दिने कि ? हामीले कमाउने लाइभ गरेर हो, त्यही फेसबुक र युट्युबहरूबाट लाइभ गर्ने प्रवृत्ति बढ्न सक्छ । डर त्यहाँ मात्रै हो, दिनु हुन्न भन्ने होइन । हामीले गर्न हुने र नहुने गरौं, बदमासी गर्नेलाई मुद्दा चल्ने र पेनाल्टी गर्ने गरौं । बदमासी गर्नेलाई कार्ड खोसिदिने कुरा पनि छ । ओलम्पिक र एसियन गेम्समा अनुशासनमा बसेको छ, तर नेपालमा क्यामरा लिएर जहाँ जे पनि खिच्न पाउने स्वतन्त्रता उपभोग गरिरहेकालाई बाउन्ड्रीमा बाँधिनुपर्दा आपत् भएको मात्रै हो ।
सागमा खेलका हिसाबले नेपालको तयारी कस्तो छ ?
सन् १९९९ मा हाम्रो एक वर्षको तयारी थियो । अहिले एक वर्षको हुन पाएन । हामीले १३ वटा खेलको असार मसान्त अगाडि तयारी सुरु गर्यौं । १३ वटाभन्दा बढी खेलको साउनको पहिलो सातादेखि तयारी सुरु गर्यौं । भदौ २६ गते क्याबिनेटले कार्यविधि पास गरिदियो, असोजको ६ गते मेरो हातमा पर्यो । तर, हामीले साउन र भदौमा पनि रोकेनौं । अहिले ट्रेनिङ पुगेन भन्ने गुनासो कसैको छैन । २१ वटा खेलको विदेशमा लगेर राम्रा विदेशी प्रशिक्षकबाट प्रशिक्षण गरायौं । त्यहाँ बढीभन्दा बढी एक्स्पोजर गेममा सहभागी गरायौं । त्यसले गर्दा हाम्रो क्वालिटी बढेको छ । ८ वटा गेम्सको देशभित्र विदेशी प्रशिक्षक ल्याएर ट्रेनिङ गरायौं । यो सबै हेर्दा राम्रो परिणामको अपेक्षा गरेका छौं ।
कति मेडल जितिएला ?
खेल र खेलाडीको तयारीका आधारमा हेर्दा ५० स्वर्णको लक्ष्यसाथ अगाडि बढेका छौं । हाम्रो टार्गेट अहिले सागमा दोस्रो स्थान छ । सन् १९९९ मा दोस्रो स्थानमा आयौं, ३१ वटा गोल्डमेडल जितेर । त्यो बेला १२ वटा गेम मात्रै थिए । १४ वटा कराँते, १४ वटा तेक्वान्दो र बाँकी अर्कोको तीनवटा पदक थिए । यो पालि तयारी हेर्दाखेरि हामी त्यति ल्याउन सक्षम छौं ।
बढी पदकहरूको अपेक्षा कुन विधाका खेलहरूमा छन् ?
मूलत: मार्सलआर्टमा हो, त्यहाँ संख्या धेरै छ । सबै ३ सय २४ मध्ये प्याराग्लाइडिङ ५ वटा माइनस भएपछि ३ सय १९ वटा पदक छन् । त्योमध्ये तेक्वादो, कराँते, उसु, जुडो, बक्सिङ, वेट लिफ्टिङमा हामीले बढी पदकको आशा गरेका छौं । पपुलर गेमबाट पनि पदकको अपेक्षा छ तर पपुलर गेममा पदक हुँदैन । फुटबलमा हामीले जति जिते पनि दुइटा पदक त हो । भलिबलमा जित्यो भने चारवटा पदक त हो । यसमा पदकको संख्या धेरै हुँदैन, त्यसैले हामीले मार्सल आर्टमा अलि बढी अपेक्षा गरेका छौं । एथलेटिक्स, स्वीमिङलगायतका अन्य खेलहरूबाट एक/दुइटा, दुई–चारवटा पदकको अपेक्षा गरेका छौं ।
आठौं सागमा हामीले धेरै पदक जित्यौं, त्यसपछि निरन्तर खस्कँदो अवस्थामा छ । ५० वटा पदक जित्ने गरी हाम्रो तयारी भएको छ त ?
साग गेम सकियो, खेलाडीहरू घर–घर बस्न थाल्छन् । राम्रा खेलाडीहरूलाई निरन्तर तालिम दिन, निरन्तर एक्पोजर दिन सकेनौं, त्यसैको परिणाम हो । हामीले राम्रो योजनासमेत बनाउन सकेनौं र लगानी गर्न पनि सकेनौं । सागमा सबैभन्दा कम लगानी गर्ने देश नेपाल हो । भारतलगायत अन्य देशहरूको तयारी नै त्यही लेभलको छ । लगानी भएन भने प्रतिफल कहाँबाट आउँछ । अब लगानी गर्न सुरु गर्नुपर्छ । यसभन्दा अगाडि हामीले तेस्रो हुने लक्ष्य लिएका थियौं, पाँचौंमा पुग्यौं । यसपालि हाम्रो दोस्रो हुने लक्ष्य छ, त्यो हामी पूरा गर्छौं ।
नेपालको प्रदर्शन निरन्तर खस्किनुको कारण के हो ?
दुइटा कारण छन्, हामी जति तयारी गर्नुपथ्र्यो त्यो सकेनौं, अरूले हामीभन्दा धेरै तयारी गरे । एक समय भारत भन्नेबित्तिकै हक्की थियो, पछि क्रिकेटले खाइदियो । चीन र भारत छिमेकी दुई देशमा चीनले स्पोर्टमा छलाङ मार्यो, ओलम्पिकमा पहिलो नम्बर बन्यो, भारत १० नम्बरमा पनि अटाउन सकेन । हामीले सागमा राम्रो गरेपछि हाम्रो एसियन र ओलम्पिक गेम लक्ष्य बनाउनुपथ्र्यो त्यो सकेनौं । हामीले अन्तर्राष्ट्रिय प्रतियोगितालाई विदेश जन्ती लिएर घुम्न जानेजस्तो बनायौं, खेलाडीभन्दा बढी अफिसियलहरू जान थाले । त्यो संसारमा कहीं पनि हुँदैन । अब त्यसरी हुँदैन, अब योजना बढाएर अगाडि बढ्ने हो । मैले खेलाडीको प्रतियोगिता अघि र प्रतियोगितापछिको पनि हरेक दिनको पर्फमेन्स एनालाइसिस गर्ने गरी रिसर्च गराएको छु । त्यसले उनीहरूको प्रगतिको ग्राफ देखाउँछ । म सदस्य–सचिव भएर आएपछि २५ जिल्ला पुगें, अहिले पोजेटिभ पक्ष इन्फास्ट्रक्चर धमाधम बनाउन सुरु भएको छ । प्रतियोगिता पनि हामी बढाउँछौं । अब हाम्रो लक्ष्य एसियन गेम र ओलम्पिक हुनुपर्छ ।
मैले महिला भलिबल टिमलाई थाइल्यान्डमा तालिम गर्न पठाएँ, मानिसहरूले किन पठायो भने, तर त्यसको परिणाम सेन्ट्रल जोनमा एउटा खेल पनि नहारेर विजेता बन्यो । राम्रो टिम सेटिङ गर्न सक्यो र तालिम दिन सक्यो तथा संघहरू क्रियाशील हुने हो भने हाम्रो पनि क्षमता रहेछ भन्ने देखियो । क्रमश: अन्य खेलमा पनि रिजल्ट देखिँदैछ ।
सरकारले सागका लागि खेलाडीहरूलाई केही विशेष घोषणा गर्छ ?
हामी पदक जित्नेहरूका लागि केही घोषणा गर्छौं । यो छिट्टै घोषणा हुन्छ, प्रधानमन्त्रीज्यूलाई अनुरोध गरेको थिएँ, उहाँले सबै खेलाडीलाई सम्बोधन गरेर घोषणा गर्छु भन्नु भएको थियो । तर उहाँ बिरामी भएपछि त्यो घोषणा हुन सकेन । सन् १९९९ मा स्वर्ण जित्नेलाई घरघडेरी दिने भनेर घोषणा गरियो, तर खेलाडीहरूले त्यो घर घडेरी पाएनन् । धेरै पछि नगद पाए, तर त्यो पनि कागजको घर किन्ने पैसा मात्रै पाए । घोषणा गर्ने तर पुरस्कार पछि दिने चलन रहेछ । पुरस्कार त अन द स्पट र साताभित्र दिन सके पो अर्थ हुन्छ । उपयुक्त समयमा सरकारका तर्फबाट खेलाडीहरूका लागि केही विशेष घोषणा हुन्छ ।
सुरक्षा व्यवस्था तयारी के छ ?
हजार सुरक्षाकर्मी तीन ठाउँमा गरी खटिन्छन् । सादा पोसाकमा पनि सुरक्षाकर्मी परिचालित हुन्छन् । ‘ए ग्रेड’को सुरक्षा हुन्छ । हामी किन विश्वस्त छौं भने सुरक्षा समितिको संयोजक नै आइजिपी सा’प हुनुहुन्छ । उहाँले नै कमान्ड गर्ने भएपछि सुरक्षामा कुनै चुनौती छैन ।