साप्ताहिक संवाददाता
१३ औं दक्षिण एसियाली खेलकुद (साग) आफ्नै भूमिमा हुन लागेको स्थितिमा घरेलु खेलाडीबाट अपेक्षा हुनु स्वाभाविक पनि हो । यसपल्टको प्रतियोगितामा को–को खेलाडी नेपालका लागि चम्कन सक्नेछन् त ? उनीहरूको खेल हेर्नैपर्ने खेलाडी यस प्रकार छन् ।
गौरिका सिंह, पौडी
नेपालले अहिलेसम्म सागको पौडीमा व्यक्तिगत स्वर्ण जित्न सकेको छैन । यसअघि टिम स्पर्धामा प्राप्त स्वर्ण पनि नाम मात्रकै भएको सबैलाई थाहा छ । त्यसैले के नेपालले यसपल्ट कसैले पौडीमा व्यक्तिगत स्वर्ण जित्न सक्नेछ त ? यो प्रश्नको उत्तर टिकेको छ, नेपाली पौडीका सनसनीपूर्ण खेलाडी गौरिका सिंहमा । उनको उद्देश्य नै स्वर्ण पदक जित्नु हो । इंग्ल्यान्डमा रहेर अभ्यास गरिरहेका गौरिकाले यसअघिको सागमा २ रजत पदक जितेकी हुनाले पनि यसपल्ट स्वर्णको सम्भावना बढेको हो ।
प्रतिभा माली, भलिबल
नेपालले हालै मात्र बंगलादेशमा भएको एभीसी सेन्ट्रल जोनको उपाधि जित्दा नेपाली टिमका लागि सबैभन्दा ठोस योगदान दिने खेलाडी थिइन्— प्रतिभा माली । त्यसैले उनी प्रतियोगिताकै उत्कृष्ट खेलाडी पनि चुनिइन् । ओपनर स्पाइकरका रूपमा प्रस्तुत हुने न्यू डाइमन्ड एकेडेमीकी यी खेलाडी घरेलु नेपाली भलिबलमा अहिलेको पुस्ताका सबैभन्दा ठूलो स्टार हुन् । नेपालले महिला भलिबलमा पदकको आश गर्ने हो भने प्रतिभाले राम्रो नखेलेर सुखै छैन ।
ज्ञानेन्द्र हमाल, तेक्वान्दो
नेपाली तेक्वान्दो सागमा फर्कने प्रयासमा छ भने त्यसका लागि सबैभन्दा बढी भूमिका खेल्न सक्ने खेलाडी हुन्,— ज्ञानेन्द्र हमाल । नेपालले स्वर्ण पदकका लागि सबैभन्दा बढी आस गर्न सक्ने खेलाडी नै हुन् । यस्तो दाबी गर्नका लागि ठोस कारण पनि रहेको छ । नेपालले भर्खर चीनमा प्रशिक्षण लिने क्रममा माथिल्लो स्तरको प्रतियोगिता खेलेको थियो । त्यसमा नेपालले एक रजत पदक पनि जितेको थियो र सुखद् संयोग हो, यी खेलाडी हुन्— तिनै ज्ञानेन्द्र ।
सोमबहादुर कुमा, एथलेटिक्स
पछिल्लो समय नेपाली एथलेटिक्सको सबैभन्दा ठूलो समस्या हो, कुनै स्टार खेलाडी नहुनु । त्यस अर्थमा नेपाली एथलेटिक्स ग्ल्यामरविहीन रहेको छ । सम्भवत: यो कमीको पूर्ति हुन सक्छ, ८ सय मिटरका कीर्तिमान धावक सोमबहादुर कुमालबाट । एथलेटिक्समा माथिल्लो स्तरको पदकको सम्भावना बोकेका खेलाडी यिनै हुन् । नेपाली सेनामा प्रवेशपछि उनको खेलमा अझ सुधार आएको छ । राष्ट्रिय कीर्तिमानधारी खेलाडीका रूपमा उनीबाट धेरै अपेक्षा गर्न सकिन्छ ।
अनु अधिकारी, कराँते
कराँते खेल आफैंले सागमा पुनरागमन गर्दैछ, त्यसमाथि नेपाली कराँते पुराना सबै पीडा भुलेर यसपल्ट राम्रो प्रदर्शन गर्ने विश्वासमा छ । यसका लागि सबैभन्दा भरपर्दाे खेलाडी हुन्— महिलातर्फकी अनु अधिकारी । एसियाली पदकबाट केही दूरीले मात्र चुकेकी यी खेलाडीले दक्षिण एसियाली स्तरमा अहिलेसम्म कुनै ठूलो सफलता हात पार्न सकेकी छैनन् । त्यसैले उनलाई युवा खेलाडीसामु यसपल्टको सागमा राम्रो प्रदर्शन गर्ने र नेपाली कराँतेलाई खुसी पार्ने अवसर छ ।
सुजल श्रेष्ठ, फुटबल
नेपाल पुरुष फुटबलको डिफेन्डिङ च्याम्पियन हो, यस्तोमा यही टिमबाट राम्रो प्रदर्शनको आशा गर्नु स्वाभाविक पनि हो । नेपालको यू–२३ टिम यसपल्ट सुजल श्रेष्ठको नेतृत्वमा ओर्लिंदै छ । नेपाली राष्ट्रिय टिमका पनि नियमित सदस्य रहेका सुजललाई पछिल्लो समय कप्तानीका लागि राम्रो विकल्प मान्न थालिएको छ । मध्यपंक्तिमा खेल्ने यी खेलाडीकै प्रदर्शनमा नेपालको खेल टिक्नेछ । उनी कति आत्मविश्वासी छन् भने भारतलाई हराएर स्वर्ण जित्ने हाम्रो धोको यसपल्ट पूरा हुनेछैन, यसमै दु:ख छ ।
नमिता श्रेष्ठ र सान्टु श्रेष्ठ, टेबल टेनिस
नेपाल टेबल टेनिसमा महिलातर्फ नम्बर १ खेलाडी हुन्— नमिता श्रेष्ठ । पुरुषतर्फ भने नम्बर १ हुन्— सान्टु श्रेष्ठ । संयोगले उनीहरू गुरु–चेला पनि हुन् । नमिताकै रेखदेखमा सान्टु हुर्केका हुन् भन्दा फरक पर्दैन । यसपल्टको सागमा नेपालले मिक्स डबल्समा स्वर्णको अपेक्षा राखेको छ र यसका लागि चुनौती पेस गर्ने जोडीनै हुन् । लामो समयदेखि नमिताले नेपाली टेबल टेनिसमा एकछत्र राज गर्दै आएकी छिन् । अब त्यस्तै प्रदर्शन गर्ने पालो हो, सागमा ।
सावित्रा भण्डारी, फुटबल
प्रशिक्षक हरि खड्काको भनाइ मान्ने हो भने सावित्रा भण्डारी दक्षिण एसियाली महिला फुटबलकै सर्वाधिक उत्कृष्ट खेलाडी हुन् । यी फरवार्ड एक प्रकारले गोल मेसिन पनि हुन्, उनले नेपालका लागि कीर्तिमान ३१ गोल गरिसकेकी छन् । नेपालले यसपल्ट स्वर्ण जित्ने हो भने धेरै अर्थमा टिमको प्रदर्शन यिनै खेलाडीमा टिक्नेछन् । सावित्राले पनि भनेकी छन्, जति बेलासम्म भारतलाई हराएर नेपाललाई पहिलो बनाउन सकिन्न, त्यति बेलासम्म उनले राहत महसुस गर्ने छैनन् ।