पर्यटन वर्षको सँघारमा पोखरा

- किशोर नेपाल

मंसिर १६, २०७६

 

पर्यटनका लागि संसार प्रसिद्ध सहरमा पर्यटकहरूको आगमन निश्चय पनि राम्रो कुरा हो । तर, पोखराको पर्यावरणको सुरक्षाका लागि अलिकति पनि काम भएको छैन । फेवाको स्वरूप खुम्चिदैछ । जलकुम्भीको प्रकोप कुनै पनि बेला बढ्न सक्छ । 

महानगर पोखराका सम्झनालाई ताजा तुल्याएर वर्तमान परिस्थितिको सामान्य आँकलन गर्न मिलाइएको समय खेर गयो । दिग्गज नाटक निर्देशक तथा कलाकार अनुप बरालसँग भेटघाट नहुने भयो । अरू व्यक्तित्वहरू पनि विविध कारणले भेट हुन सकेनन् । राजनीतिक व्यक्तिहरू उप–चुनावमा व्यस्त थिए । अनुप बरालसँग भेट हुन नसक्नुको कारण रमाइलो थियो । अहिले धान काट्ने, चुट्ने र थन्क्याउने समय हो । अनुपले पनि खेतबाट धान जम्मा पारेर ल्याउनैपर्ने भयो घरमा । घरका पुरुष सदस्यमा अनुप र उनका बुवा, अर्का दिग्गज कलाकार, दुर्गा बराल मात्रै । अनुप बताउँदै थिए, ‘बुवा अलिकति काममा व्यस्त हुनुहुन्छ’ र ‘आमा बिरामी । आमा यो मौसममा पानी पिउन गाह्रो मान्नुहुन्छ । पानी नपिएपछि उहाँको पिसाबमा इन्फेक्सन भइहाल्छ ।’

अनुपसँगको मेरो टेलिफोन वार्ता नाटक–संवादभन्दा कम थिएन । उनी आफ्नो घरेलु परिस्थिति बताइरहेका थिए । म रमाइलो मानेर सुनिरहेको थिएँ । केही समयअघि अनुपले काठमाडौं छोड्ने र पोखरा फर्किने निर्णय लिँदा मलाई अचम्म लागेको थिएन । त्यति बेला लागेको थियो, नेपाली नाटकको आकाशमा पोखरा प्रस्ट देखिने भयो । यो एक हिसाबले अनुपको मनको शान्ति पनि थियो ।

अर्थात, बिहान पोखरामा स्वादिलो कफी र सुकिलो कफीसँगै हुन लागेको अनुपसँगको कफी गफ नहुने भए पनि पोखराको प्राकृतिक सौन्दर्यको आँकलन रोकिने भएन । हामीले टेलिफोनबाटै पोखरा छलफल चलाउने निधो गर्‍यौं । त्यसपछि अनुप आमालाई लिएर अस्पताल गए होलान । म सोच्न थालें, सिर्जनाको संसारमा रमाउने अनुप बराल घर–व्यवहारमा पनि उत्तिकै रमाउँदा रहेछन् ।

मेरो मनमा अरू नै कुरा खेलिरहेका थिए । म चाहन्थें, अनुप जन्मिएको प्रकृतिको यो सहरको स्वरूप कसरी क्रमश: नष्ट हुँदै गएको छ । अनुपको तन्नेरी अवस्थामा कस्तो थियो फेवा ? र कस्तो थियो अरू तालहरूको अवस्था ? कति खुम्चियो फेवाताल ? सहर वरपरका जंगलहरूमा कस्तो परिवर्तन आयो ? यी विवरण अर्को कुनै अंकमा । अहिलेका लागि अहिले कै पोखरा । त्यो पनि फेवा किनाराको पर, पामेजाने बाटोको छेउमा रहेको, कफी ब्रेक क्याफेबाट ।

पोखरा अहिले मेसिनीकरणको होडमा लागेको छ । मानिसको मन यसको प्राकृतिक सौन्दर्यमा भन्दा पनि प्याराग्लाइडिङ, बन्जी र अरू यस्तै उड्ने र गुड्ने कुरामा रम्न थालेको छ । यसका साथै, पोखराको पर्यावरण संकटमा फस्दै गएकोमा स्थानीय चेतनशील समाज चिन्तित छ । यो चिन्ताको कुनै सीमा छैन । यति बेला लेकसाइडमा पर्यटकहरूको मेला लागेको छ । पोखराका लागि र नेपालकै लागि यो शुभसंकेत हो ।

पर्यटनका लागि संसार प्रसिद्ध सहरमा पर्यटकहरूको आगमन निश्चय पनि राम्रो कुरा हो । तर, पोखराको पर्यावरणको सुरक्षाका लागि अलिकति पनि काम भएको छैन । फेवाको स्वरूप खुम्चिँदैछ । जलकुम्भीको प्रकोप कुनै पनि बेला बढ्न सक्छ । पोखराका अन्य तालहरूको आकर्षणको आवश्यक प्रचार हुन सकेको छैन । जनसंख्याको ठूलो भाग फेवातिरै बराल्लिन चाहन्छ भने त्यसको कारण फेवा किनारामा पाइने सुविधाको परिकल्पना अन्यत्र गर्न सकिँदैन । बेगनास र रूपातालमा पनि त्यसप्रकारको सुविधा भए ती पनि एक नम्बरका डेस्टिनेस नहुन्थे । 

एक महिनापछि सुरु हुने पर्यटन वर्ष सफल बनाउने हो भने पोखराका अन्य तालहरूको महत्व र आकर्षणको प्रवद्र्धन आवश्यक छ । आखिर, जसले जे भने पनि, पर्यटन वर्षमा मानिसलाई तान्ने र लोभ्याउने एकमात्र पर्यटक सहर त पोखरा नै हो ।

पोखरा सहरको स्वरूप बडे बडे भवनहरूले बिगार्न थालेका छन् । यो प्रवृत्तिलाई रोक्न सकिएन भने पोखरा ‘सौन्दर्यको सहर’ रहने छैन । यो सहरका आकर्षणका विभिन्न आयामलाई बिग्रिन दिनु हुँदैन । सहरमा केबुलकार आउने कुरा सुनिएको छ । त्यो पर्यटन प्रवद्र्धनका लागि आवश्यक छ । त्यसले पोखराको सौन्दर्यको प्रवद्र्धनलाई सघाउनुपर्छ । अहिलेसम्म पोखराले धनी र गरिब पर्यटकमा विभेद गरेको छैन । बढ्दै गएका विभिन्न प्रकारका सुविधा र सहुलियतले यसको रूप बिथोल्न सक्छ । त्यतातिर आवश्यक छ पोखरेली समाजको सक्रियता ।

पत्रकार दीपेन्द्र श्रेष्ठका शब्दमा, ‘पोखराले यसको मौलिकता गुमाउँदै गएको छ । पोखरा भनेको ताल र हिमालको सहर हो । पहिले पोखराको सडकमा हिँड्दा हिमाल सँगसँगै हिँडेजस्तो लाग्थ्यो । अहिले हिमालको आफ्नै सौन्दर्य खस्किन थालेको छ । हिमश्रृंखलाका धेरै भाग हिउँबिनाका काला डाँडा देखिन्छन् । सहरलाई हरित सहर बनाउने चर्चा सुनिएको धेरै भयो । त्यसलाई यथार्थमा परिणत गर्न सकिएको छैन । सुकुम्वासीको व्यवस्थापन गर्न नसक्दा बसपार्क बन्न सकेको छैन । सहरमा प्रदूषण बढेको छ । कतिपय मानिस ‘मास्क’ लगाएर हिँड्न थालेका छन् ।’

प्रकाशित :मंसिर १६, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×