साप्ताहिक संवाददाता
शिक्षा, साहित्य, कला, संस्कृति, इतिहास, सम्पदा र विकास र खेलकूदमा उल्लेखनिय योगदान गर्ने व्यक्तित्वहरुलाई सम्मान गर्ने उद्देश्यले बेबिलोन नेशनल स्कुल शान्तिनगर, मिनभवनद्वारा स्थापित नगद १५ हजार ५ सय ५५ रुपैयाँ राशीसहितको ‘बेबिलोन स्रस्टा सम्मान–२०७६’ भक्तपुरका चर्चित युवा सम्पदा संरक्षणवीद् एवम् शिक्षासेवी रवीन्द्र पुरीलाई प्रदान गर्ने निर्णय गरिएको छ ।
बेबिलोन नेशनल स्कुल, बेलायती शैक्षिक नियोग ब्रिटिस काउन्सिलबाट सन् २०१५ देखि २०२० सम्मका लागि दुईपटक ‘इन्टरनेशनल स्कुल एवार्ड (आईएसए) बाट पुरस्कृत भईसकेको २४ वर्ष पुरानो स्थापित विद्यालय हो ।
काठमाडौं उपत्यकाका प्राचीन र ऐतिहासिक सम्पदाहरुको संरक्षणमा अहोरात्र खटिनुका साथै विभिन्न सामुदायीक विद्यालयहरुको निर्माण, जिर्णोद्वार र शिक्षा विकासमा महत्वपुर्ण योगदान गरेवापत संरक्षणवीद् तथा शिक्षासेवी पुरीलाई ‘बेबिलोन स्रस्टा सम्मान–२०७६’ प्रदान गर्न लागिएको हो ।
यसअघि राष्ट्रगानका रचनाकार व्याकुल माइला र इतिहास तथा संस्कृतिवीद् सत्यमोहन जोशीलाई सो सम्मान प्रदान गरिएको थियो ।
यही मंसीर २७ गते शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना हुन लागेको बेबिलोन नेशनल स्कुलको २४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहमा सम्पदा संरक्षणवीद् पुरीलाई सो सम्मान प्रदान गरिने विद्यालयका प्रिन्सिपल राजु राईले बताएका छन् ।