साप्ताहिक संवाददाता
जाडो मौसममा चिसोका कारण शरीर काम्दा शक्ति खेर जाने भएकाले खाना पनि धेरै रुच्छ । धेरै खानेकुरा खाँदा कतिपयको तौल बढ्छ । बढ्दो तौल कम गर्न सन्तुलित खानाका साथमा व्यायाम पनि गर्नुपर्ने ज्यासमिन फिटनेस एन्ड स्पाका नीरोज लामा बताउँछन् ।
लामाका अनुसार व्यायामका लागि उपयुक्त मौसम जाडो नै हो । यद्यपी यतिबेला कतिले चिसोका कारण व्यायाम गर्न छोड्छन् । यसले गर्दा शरीरमा अनावश्यक मोटोपन देखिन्छ । प्रदुषित वातावरण तथा चिसो हुने भएकाले जाडोमा बिहान सबेरै मर्निङ वाक जानुहुँदैन । उमेरअनुसार घरमै वा क्लबमा योग, एरोबिक्स, साइक्लिङ, वेट ट्रेनिङ, स्किपिङ आदि गर्न सकिन्छ ।
अहिले धेरैले घरमै ट्रेडमिल, साइक्लिङ राख्न थालेका छन् । तालिम प्राप्त भए घरमै तथा नजानेको भए क्लबमा गएर व्यायाम गर्नुपर्छ । संगीतको तालमा डान्स पनि गर्न सकिन्छ । व्यायामका साथमा प्रोटिन, कार्बोहाइड्रेट, रिफाइन्ड चिल्लो, माछामासु, सागपात, ब्रोकाउली आदि खानेकुरा खानुपर्छ ।
यस्ता खानेकुरा २–३ घन्टाको फरकमा ठिक्क मात्रामा खानु उपयुक्त हुन्छ । चिया तथा जाँड–रक्सी कमै मात्रामा सेवन गर्नुपर्छ । पानी प्रशस्त मात्रामा पिउनुपर्छ । साँझको खाना छिटो खानु स्वास्थ्यका हिसाबले राम्रो मानिन्छ । बेलुकी छिटो सुत्ने र बिहान छिटो उठ्ने बानी बसाल्नुपर्छ ।