साप्ताहिक संवाददाता
सधैं चर्चामा रहने टेस्लाका सिइओ इलोन मस्कले हालै नयाँ विद्युतीय पिकअप ट्रक अर्थात् साइबर ट्रक सार्वजनिक गरेका छन् । सन् २०२१ पश्चात् मात्र बजारमा आउने अनुमान गरिएको उक्त साइबर ट्रकले यो साता निकै चर्चा पाएको छ ।
टेस्लाको साइबर ट्रक सिंगल मोटर रियर ह्विल ड्राइभ, ड्युअल मोटर अल ह्विल ड्राइभ र ट्राई मोटर अल ह्विल ड्राइभ गरी तीन भेरिएन्टमा उपलब्ध हुनेछ । कम्पनीका अनुसार रियर ह्विल ड्राइभले ४ सय किलोमिटर, ड्युअल मोटर अल ह्विल ड्राइभले ४ सय ८० किलोमिटर र ट्राई मोटर अल ह्विल ड्राइभले ८ सय किलोमिटरको दूरी तय गर्न सकिन्छ ।
साइबरट्रकको इन्ट्री लेवल भेरिएन्टले ६ दशमलव ५ सेकेन्डमा, ट्राई मोटर अल ह्विल ड्राइभ भेरिएन्टले २ दशमलव ९ सेकेन्डमा र ड्युअल मोटर अल ह्विल ड्राइभ भेरिएन्टले ४ दशमलव ५ सेकेन्डमा शून्यदेखि १ सय किलोमिटर प्रतिघण्टाको स्पिड लिन्छ । टेस्लाको साइबर ट्रकमा ६ जना यात्रा गर्न सकिन्छ ।