साप्ताहिक संवाददाता
अनु मलिकलाई भारतीय रियालिटी शो इन्डियन आइडल–११ बाट हटाइएको छ । इण्डियन आइडल ११ को निर्णायक बनेसँगै भारतीय गायक तथा संगीतकार अनु मलिकको चर्को आलोचना भइरहेको थियो ।
अनु मलिकमाथि कैयौँ महिलाहरुले ‘मि टू अभियान’ अन्तर्गत यौन शोषणको आरोप लगाएका थिए । यसअघि पनि अनु मलिकले ‘मि टू अभियान’अन्तर्गत यौन शोषणको आरोप लागेपछि शो छोड्नु परेको थियो ।
इण्डिया टुडेको एक रिपोर्टअनुसार अनु मलिक अब इन्डियन आइडल ११ बाट बाहिरिइसकेका छन् । उनको स्थानमा शोमा हिमेश रेशमियाको ‘इन्ट्रि’ भएको छ । यसअघि अनु मलिकले शोबाट आफूले तीन हप्ताको ब्रेक लिएको बताएका थिए ।
गायिका सोना महापात्राले महिला तथा बालबालिका विकास मन्त्री स्मृति ईरानीलाई खुल्ला पत्र लेखेर अनु मलिकको यौन शोषणको विषयमा आवाज उठाउन आग्रह गरेकी थिइन् । त्यसपछि राष्ट्रिय महिला आयोगले सोनी टेलिभिजनसँग स्पष्टिकरण मागेको थियो ।
अनु मलिकले भने आफू ३ हप्ताको बिदा लिएर निस्किएको बताएका छन् । उनले अब भने आफूमाथि लागेको दाग मेटाएर मात्रै फर्किने बताएका छन् ।