साप्ताहिक संवाददाता
नेपाली संगीत तथा साहित्यमा दार्जिलिङले थुप्रै स्रष्टा जन्माएको छ । अहिले आएर चलचित्रमा पनि दार्जिलिङले सर्जकहरू जन्माउन थालेको छ । त्यसको पछिल्ला पात्र हुन् निर्देशक भाष्कर प्रधान । दार्जिलिङका रैथाने चलचित्रकर्मी प्रधानले निर्देशन गरेको नेपाली चलचित्र लभ यू हमेशा अघिल्लो शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आयो ।
त्रिकोणात्मक प्रेम कथामा आधारित उक्त चलचित्र व्यवसायमा भने चिप्लिएको छ । मल्टिप्लेक्समा खासै शो नपाएको उक्त चलचित्रले प्रेमको पुरानै स्वरूपलाई नयाँ शैलीमा भन्ने प्रयास गरेको छ । नेपालमा प्रदर्शन हुनुअघि भारतका केही सहरमा प्रदर्शन भएको उक्त चलचित्रको छायांकन काठमाडौं तथा कालिङ्पोङमा गरिएको छ । लोकेसनका हिसाबले चलचित्रका दर्शकले नौला दृश्यहरू हेर्न पाएका छन् ।
चलचित्रको केन्द्रित भूमिकामा अभिनेता यशराज गराच छन् । उनी पेसाले चिकित्कस हुन्, यद्यपि उनी आफैं बिमारी छन् । ब्रेन ट्यूमर भएकाले उनको निधन निश्चित छ । आफू यो संसार छाड्दैछु भन्ने कुरा थाहा पाएका उनी जीवनदेखि निराश हुँदैनन्, उल्टै आफूलाई भीरबाट खसाउन लगाएर आफ्नी प्रेमिकाको बाल्यकालमै बन्द भएको बोली फिर्ता गराउन सफल हुन्छन् ।
फिलिपिन्समा छायांकन गरिएका चलचित्रका दुई गीत कर्णप्रिय छन् । सुन्दर लोकेसनले ती गीतलाई दर्शनीय बनाएको छ । पुराना छायांकार शिव ढकालले आफ्नो अनुभवलाई चलचित्रका दृश्यमा सुन्दर शैलीमा कैद गरेका छन् ।