साप्ताहिक संवाददाता
भारतको नयाँ दिल्लीमा अर्को महिना आयोजना हुने भारत रंग महोत्सव थिएटर फेस्टिबल–२०२० मा दुई नेपाली नाटक मञ्चन हुने भएका छन् । सुशीला आर्ट्स एकेडेमीले उत्पादन गरेको नाटक ‘कुमारी एन्ड द बिस्ट’ तथा मण्डला थिएटरको नाटक ‘महाभोज’ उक्त महोत्सवमा मञ्चन हुनका लागि छनोट भएका हुन् ।
काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सुशीला आर्ट्स एकेडेमीकी निर्देशक युलिया कोइरालाले भारतको नयाँ दिल्लीमा आयोजना हुने भारत रंग महोत्सव थिएटर फेस्टिबलमा मञ्चन हुनका लागि आफ्नो एकेडेमीको नाटक छनोट हुनु आफैंमा ठूलो उपलब्धि भएको बताएकी छिन् । एकेडेमीले पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त महोत्सवमा मञ्चन हुने नाटकका कलाकार तथा निर्देशकहरूको परिचय गराइएको थियो ।
नयाँ दिल्लीस्थित नेसनल स्कुल अफ ड्रामामा आयोजना हुने महोत्सवमा ७१ वटा अन्तर्राष्ट्रिय नाटकले मञ्चनको निवेदन दिए पनि केवल १० वटा मात्र छनोट भएको बताइन्छ । तीमध्ये दुईवटा नेपाली नाटक परेका हुन् । ‘कुमारी एन्ड द बिस्ट’ नाटक काठमाडौंमा सन् २०१८ को अक्टोबरमा मञ्चन गरिएको थियो । यो नाटक जीवित देवी कुमारी तथा कुमारी प्रथासँग सम्बन्धित छ । ‘महाभोज नाटकलाई पनि यसअघि मण्डला थिएटरले काठमाडौंमा मञ्चन गरिसकेको छ ।
‘कुमारी एन्ड द बिस्ट’ नाटक ‘नेपाली अध्यात्मजगत्को इतिहास’ पुस्तकबाट निकालिएको कथामा आधारित छ । उक्त पुस्तक महेश्वर जुजू राजोपाध्यायले लेखेका हुन् । यो नाटकको लेखन तथा निर्देशन कविता श्रीनिवासनले गरेकी हुन् ।