साप्ताहिक संवाददाता
आउँदो बुधबारदेखि काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ) प्रारम्भ हुने भएको छ । प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृह तथा नेपाल पर्यटन बोर्डको हलमा आयोजना हुने १७ औं संस्करणको किम्फ पाँच दिनसम्म सञ्चालन हुनेछ । यसपटकको किम्फमा विभिन्न २९ देशका ६६ वटा चलचित्र प्रदर्शन हुनेछन्, जसमध्ये नेपाली पानारोमाअन्तर्गत १४ वटा चलचित्र प्रदर्शन हुँदैछन् ।
नेपाली पानारोमाअन्तर्गत सरला थापाको ब्रिटेन्स लोन्ली गोर्खाज, गणेश पाण्डेको सह–श्रीमान्, निपिल शर्माको अटिसार्गा, धोंडप छिरिङको आमा खुन्डो, सुमन सापकोटाको अठारौं, धनराज बर्कोटेको एउटा रूखको पीडा, केदार श्रेष्ठको जुनुको जुत्ता, प्रसिस बज्राचार्यको कोक्रो, पहिचान, फुर्वा, साइलेन्स प्लिज, रंगहीन पुतली, द कलरलेस तथा तिर्खा जस्ता चलचित्र प्रदर्शन हुनेछन् ।
महोत्सवमा प्रदर्शन हुने चलचित्रहरूमध्ये १७ वटा चलचित्र प्रतिस्पर्धात्मक विधामा छन् भने ३२ वटा चलचित्र गैर–प्रतिस्पर्धात्मक विधामा छन् । महोत्सवको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमश: २ लाख, १ लाख ५० हजार र १ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
नेपाल पानोरामाअन्तर्गत उत्कृष्ट हुने कथानक (फिक्सन) तथा गैरकथानक (नन–फिक्सन) चलचित्रलाई क्रमश: १ लाख र ७५ हजार रुपैयाँ प्रदान गरिनेछ ।