साप्ताहिक संवाददाता
खेलमा खुसी र हाँसो मात्र हुन्न । त्यसमा दु:ख र पीडा पनि हुन्छ । अनि कहिलेकाहीँ यही दु:ख र पीडामा पनि सफलता लुकेको हुन्छ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा भलिबल सबैभन्दा पहिले सुरु भएको थियो । त्यसैले प्रतिस्पर्धा सकिएको पहिलो खेल पनि भलिबल नै रह्यो । पुरुष र महिला विधा दुवैको स्वर्ण भारतको नाममा रह्यो । पुरुषतर्फ भारतले फाइनलमा पाकिस्तानलाई हराएको थियो । महिलातर्फ भने भारतसँग फाइनलमा पराजित टिम रह्यो, नेपाल ।
नेपाल त्यो निर्णायक खेलमा के पराजित रह्यो, नेपाली खेलाडीले आफ्नो भावना लुकाउन सकेनन् । त्यो त्यस्तो क्षण थियो, जति बेला दशरथ रंगशालाको कभर्ड हलको कोर्ट आँसुले भिजेको थियो । पूरा कथा साग सुरु हुनभन्दा धेरै अगाडि सुरु हुन्छ । केही वर्ष भयो, नेपाली भलिबल खुबै सक्रिय हुन थालेको । विशेषत: महिला भलिबल लगातार सक्रिय रह्यो । यसबीच केही विवाद पनि निस्के, केही राम्रा नतिजा पनि तर महिला भलिबल अगाडि बढिरह्यो, रोकिएन ।
नेपाली महिला भलिबललाई बलियो बनाउन धेरैले योगदान गरे, कसैले आफ्नो खेल जीवन दिएर त कसैले कोर्ट बाहिरबाट अनेक थरीले सहयोग गरेर । त्यसैले पनि महिला भलिबल महत्त्वाकांक्षी पनि बनेको थियो । उसलाई लागेको थियो, अब नेपालले सागमा स्वर्णका लागि दावेदारी प्रस्तुत गर्न सक्छ । जगदीश भट्टको प्रशिक्षण र अरुणा शाहीको नेतृत्वमा रहेको टिमले त्यही काम गरेर देखायो, जुन अपेक्षा गरिएको थियो । नेपालले सुरुमा सजिलै माल्दिभ्सलाई हरायो ।
त्यसपछि नेपाल लिग चरणमा फेरि एकपटक भारतको हातबाट पराजित रह्यो । त्यसमा कसैले खासै ध्यान दिएनन, किनभने यो हारपछि पनि नेपालको सबै खाले सम्भावना खुला नै थियो । त्यस लगतै सेमिफाइनल सावित खेलमा नेपालले श्रीलंकालाई हराउन सफल रह्यो । सागको इतिहासमा नेपालले यसअघि हात पारेको सबैभन्दा ठूलो सफलता भन्नु नै कांस्य थियो । यस्तोमा त्यो पनि ठूलो उपलब्धि थियो, कम्तीमा रजत जित्ने निश्चित भएको स्थिति ।
अरुणा भन्दै थिइन, नेपाली महिला भलिबल ऐतिहासिक मोडमा पुगेको छ, जहाँ हामी अद्वितीय सफलता चुम्न सक्छौं । फाइनलमा नेपालले त्यो प्रतिद्वन्द्वी पाएको थियो, जसले पछिल्लो समय एसियाली भलिबलमै पनि राम्रो गर्न थालेको छ । एसियाली महिला भलिबलमा भारतको वरियता राम्रो छ । त्यसैले फाइनलमा नेपालले पहिलो सेट गुमाउँदा धेरैले लागेको थियो, तर अब नेपाल सजिलै पराजित हुन्छ ।
तर, ठीक त्यहींनिर देखियो, त्यो सबै मेहनतको फल जुन केही वर्ष अगाडिदेखि तयारीका रूपमा सुरु भएको थियो ।नेपालले त्यसपछि लगातार दुई सेट जित्यो । अब लागि रहेको थियो, नेपालले वास्तवमै स्वर्ण जित्न सक्छ । तर, अन्त्यमा त्यस्तो पनि भएन । अन्तिम दुई सेटमा भारतले व्यावसायिक खेलको नमुना पेस गर्यो र खेल आफ्नो पक्षमा पार्न सफल रह्यो । भारत पाँच सेटको खेलमा विजयी रहेको स्थिति थियो, त्यो । जति बेला खेल सकियो, नेपाली खेलाडीले आफ्ना आँसु रोक्न सकेनन् । त्यो खेललाई हजारौंले कभर्ड हलमै हेरिरहेका थिए, अनि लाखौंले टिभीमा ।
नेपाली भलिबल मन पराउने सबै भावविह्वल भए । तर, प्रशिक्षक भट्टले भनेको नै ठीक थियो, नेपाल स्वर्ण पदक जितको निकै नजिक त पुग्यो, तर सकेन । तर, रजत पदक पनि त कम्ती ठूलो उपलब्धि थिएन । के यस्तो सम्भव हुन्छ भनेर आजभन्दा केही वर्षअगाडि सोच्न सकिन्थ्यो त ? आवश्यक पनि सकिन्न थियो । त्यसैले सागको इतिहासमा नेपाली महिला भलिबल टिमले तय गरेको यो यात्रालाई सबैले लामो समय सम्झेर राख्ने छन् ।
पुरुष भलिबलको कथा भने पुरानै रह्यो, यो भने असफलताको कथा रह्यो । अनि प्रस्ट के पनि भएको छ भने नेपाली पुरुष भलिबलले महिला जत्तिको सफलता हात पार्ने हो भने पनि अझै निकै लामो यात्रा तय गर्नुपर्ने छ । नेपालले यसपल्ट बंगलादेशविरुद्धको पहिलो खेल पाँच सेटले गुमाएको थियो । यही खेलले नेपालको पदक सम्भावा समाप्त भएको थियो भन्दा हुन्छ । त्यसपछि त नेपालले भारतविरुद्ध केही पनि गर्न सकेन् । पुरुष भलिबलमा अझै धेरै सुधार आवश्यक छ, सागले उही भन्छ ।