साप्ताहिक संवाददाता
ऋचा फटाफट बाथरुम हिँडिन् । ‘म इमोस्नल पनि भएको थिएँ । ट्वाइलेटमा गएर त्यो रिङ आधाघन्टासम्म हेरेँ,’ उनले भनिन्, ‘त्यो बेला रिङ हेरको भन्दा पनि जिन्दगीको अर्को क्षण कल्पना गरे । रिङ त पित्तलकै दिएको भए पनि मलाई त केही थिएन । म त्यस्तो डिमान्डेड मान्छे पनि होइन । तर, यो कुलको १ सय ४४ वर्ष पुरानो भनेपछि अब चाहिँ अब म अर्को फेमिलिको पार्ट हुँदैछु भन्ने रियालिटीले आफैंलाई हिट गरेको जस्तो भयो ।’
ब्याचलर पार्टी सेलिब्रेट गरेर ‘स्ट्रेस रिलिज’ गरेकी अभिनेत्री ऋचा शर्माले यसै साता विवाह गरेकी छिन् । २१ मंसिरमा विवाह बन्धनमा बाँधिएकी यी अभिनेत्रीले हालैको एक दिन ‘लभस्टोरी’ सुनाउन समय निकालिन् ।
‘स्टार हिरोइनको अफेयर्स कसरी गोप्य रह्यो ?’, नक्सालस्थित काल्म रेस्टुराँमा प्रेमीसँगै आएकी ऋचा खुलिन्, ‘गोप्य होइन, हाम्रोमा पापाराजीको कमी रहेछ । खोज्ने पत्रकार रहेनछन् ।’
डेढ वर्ष पनि बढी भइसकेछ, ऋचाले लबिम मलका जनरल म्यानेजर दिपेक्ष विक्रम राणासँग ‘डेट’ गरेको । काठमाडौंका चल्तीका रेस्टुराँ, लाउन्जलगायत धेरै ठाउँमा यी जोडीसँगै जान्थे । नजिकका साथीहरूलाई पनि ‘डेट’ गरेको थाहा थियो । ‘हामी यही रेस्टुराँमा पनि कयौंपल्ट आएका छौं’, ऋचा र दिपेक्ष दुवैले बताए, ‘तर मिडियाले हाम्रो गतिविधिलाई फलो नै गरेन ।’
मिडियाले चाल नपाए पनि यो जोडीको ‘लभ अफेयर्स’ झाँगिदै गयो । र, काठमाडौंका क्याफे, मल र वरपरका डाँडाकाँडामा विकसित सहचार्य र च्याटरुममा बढेको घनिष्टता अब विवाहमा परिणत हुँदैछ ।
आजभन्दा ठ्याक्कै ५ सय ४० दिनअघि पहिलो पटक लबिम मलमा आफ्नै निर्माणमा बनेको चलचित्र ‘सुनकेशरी’ प्रमोसनका क्रममा त्यही मलका जनरल म्यानेजर दिपेक्ष विक्रम राणासँग ऋचाको भेट भएको थियो ।
व्यावसायिक कामको क्रममा दिपेक्षसँग ऋचाको भेटघाट जुराइदिने ‘पुल’ थिए– नकिम उद्दिन । उनले नै ऋचालाई लबिममा प्रमोसनका लागि त्यहाँका जिएम दिपेक्षलाई भेट्न भनेका थिए । ‘सन् २०१८ को मेमा हामीहरू पहिलो पटक भेटेका थियौं ‘सुनकेसरी’को प्रमोसनका क्रममा,’ ऋचाले पहिलो भेट सम्झिइन् ।
भनिन्छ, जीवनको पासा पल्टिन त्यही एक पल काफी हुन्छ । अहिले वैवाहिक जीवन बिताउने निर्णयसम्म पुग्न ऋचा र दिपेक्षलाई पनि त्यही एक पलको भेट काफी बन्यो । ‘त्यो एकदमै छिटो र छोटो भेट थियो । म लबिम मल बाहिर गाडी पार्क गरेर बसिरहेकी थिएँ, फोन गरेँ, उहाँ बाहिर आउनुभयो । मैले उहाँलाई यति प्रमोसनका कामहरूका लागि सहयोग गर्दिनुस् न भनेँ । उहाँले हुन्छ भन्नुभयो । म निस्किहालेंँ ।’
त्यो भेटपछि नै उनीहरू च्याटरुममा कुरा गर्न थाले, भेटघाट बाक्लिदै गए । क्रमश: घनिष्टता विकसित हुँदै गयो । त्यही घनिष्टताले तीन महिना नबित्दै उनीहरूबीच लभ अफेयर्स सुरु भयो । तर, नबोलिएको र केही नभनिएको लभ अफेयर्स । ‘एसक्लुसीभ डेट गर्न थालेको भने २०१८ को सेप्टेम्बरपछि हो,’ दिपेक्षले थपे, ‘हाम्रो भोगाई र रोजाइहरू पनि उस्तै–उस्तै छन् । साना–साना कुराहरू पनि मिल्छ । सानो कुरामा पनि खुसी हुने दुवैको बानी छ ।’
बाहिर कोकोनटजस्तो खस्रो र रुढ देखिने दिपेक्षसँग सुरुमा भेट्दा ऋचालाई कहिल्यै जीवन बिताउला भन्ने लागेको थिएन् । तर, जब उनीहरू घण्टौं च्याटरुममा कुरा गर्न थाले, रेस्टुराँहरूमा डेट गर्न थाले, ऋचाको मनमा दिपेक्षको तस्बिर गाढा बन्दै जान थाल्यो । ‘दिपेक्ष विक्रम राणा भनेको एकदमै हाउडे मान्छे हो,’ ३२ वर्षीया ऋचा भन्छिन्, ‘खासमा मेरो त्यही हाउडे दिपेक्षसँग लभ परेको हो, अहिले तपाईंको अगाडि भएको दिपेक्षसँग होइन् । त्यो अति रमाइलो मान्छे नै मैले मन पराएकी हुँ ।’ ऋचालाई दिपेक्षको फन पार्ट एकदमै मन पर्छ, जो उनका साथीहरूको बीचमा हुँदा प्रकट हुन्छ ।
दुवै जनाको छवि बाहिरबाट हेर्दा अलि बोल्ड छ । दुवै टफ—टफ जब ठोक्किए, त्यसपछि मुलायम प्रेमाभाव उनीहरूको मनमा टुसाउन थाल्यो । ‘त्यही कुराले हामीलाई एकअर्कामा क्लिक गराएको हो,’ ३७ वर्षीय दिपेक्ष बोले, ‘एउटै भोगाइ, एउटै पृष्ठभूमि र समान रुचिका कारण हामीले एकअर्कालाई रोज्यौं ।’ उनले आफूहरूबीचमा रहेका केही समानता र केही फरकपनले नै ‘समानता क्रियट’ गरेको बताए ।
दिनदिनै हुने भेटघाट, साथीहरूसँगै हुने पार्टीका आनन्द र काठमाडौंमा हुने डेटले उनीहरूबीच अफेयर्स त विकसित गरेको थियो नैं । तर, विवाहका विषयमा चाहिँ दुवै अनभिज्ञ थिए । ऋचाले परिवारका मानिससँग आफूले एउटा केटासँग डेट गरिरहेको र पर्पोज गरेमा आफूले स्वीकार्न सक्नेसम्मको कुरा गरेकी थिइन् । दिपेक्षले भने यो बीचमा विकसित घटनाक्रमले विवाहको खाका बनाउँदै थिए, त्यो विवाहको योजना उनले आफ्नी आमालाई पनि सुनाएका थिए । उनीहरूले यो बीचमा एकअर्काका पारिवारिक सदस्यलाई पनि भेटिसकेका थिए । तर, ऋचाले विवाह बारे सोचिसकेकी थिइनन् ।
डेट गर्न थालेको ७ महिनापछि १८ मार्च सन् २०१९ । झम्सिखेलस्थित होटल भिभान्तामा दिपेक्षको सप्रराइज वर्थ डे पार्टी थियो । त्यहीँ दिपेक्षका दिदीभिनाजु र साथीभाइहरूको जमघट थियो । दिपेक्षको वर्थ डेमा ऋचा निम्तालु नबन्ने कुरै भएन । ऋचा पनि पार्टी वेयरमा सामान्य तवरले गइन् । पार्टीमा ऋचाको प्रवेशमै कतिले भनिहाले, ‘आज किन यति सिम्पल ड्रेसमा आएको साडी लगाएर आउनु पर्दैन् ?’
उनलाई किन यस्तो भनिरहेका छन् भन्ने लागिरहेको थियो । तर, पार्टीमा वेलकम गरिसकेपछि ऋचालाई हात समाएर डोर्याउँदै दिपेक्ष अलि भर्याङमा उक्लिए । यतिबेला दिपेक्ष आफैं रातोपिरो र नर्भस थिए । वर्थ डेको केक पनि काटिएको थिएन । ऋचाको धड्कनको के कुरा । टाकुरैमा पुगेर धडकिन थालिसकेको थियो ।
‘त्यतिबेला अब चाहिँ यहाँ केही हुँदैछ भनेर मेरो मुटु जोडले ढुकढुक भयो, सबै साथीहरूले फोन झिके,’ ऋचा आफ्नो इन्गेजमेन्ट सम्झिन्छिन्, ‘त्यही क्रममा उहाँले १ सय ४४ वर्ष पुरानो औंठी मेरो औंलामा लगाइदिनुभयो । त्यो बेला म ब्ल्यांक थिएँ । कसैको रिङ लगाउनु भनेको मेरो जीवनकै ठूलो डिसिजन थियो ।’ ऋचाले आफ्नो इन्गेजमेन्ट यसरी आउला भनेर सोचेकै थिइनन् ।
भर्याङमा नै ऋचालाई दिपेक्षले १ सय ४४ वर्ष पुरानो आफ्नी हजुरआमाको डाइमन्डको रिङ पहिर्याउँदै प्रस्ताव राखे—यु वील म्यारी मी । सप्रराइज वर्थ डेका लागि भिभान्त पुगेकी ऋचाका लागि अर्को ठूलो अकस्मात परेपछि बोली फुटेन । दिपेक्षले जे–जे भने उनले टाउको हल्लाउँदै गइन् । ऋचा यतिसम्म नर्भस थिइन् कि दिपेक्षले हातको औंलामा रिङ लगाइदिँदा पनि चाल पाइनन् ।
यति भइसकेपछि ऋचा फटाफट बाथरुम हिँडिन् । ‘म इमोस्नल पनि भएको थिएँ । ट्वाइलेटमा गएर त्यो रिङ आधाघन्टासम्म हेरेँ,’ उनले भनिन्, ‘त्यो बेला रिङ हेरेको भन्दा पनि जिन्दगीको अर्को क्षण कल्पना गरे । रिङ त पित्तलकै दिएको भए पनि मलाई त केही थिएन । म त्यस्तो डिमान्डेड मान्छे पनि होइन । तर, यो कुलको १ सय ४४ वर्ष पुरानो भनेपछि अब चाहिँ म अर्को फेमिलिको पार्ट हुँदैछु भन्ने रियालिटीले आफैंलाई हिट गरेको जस्तो भयो ।’
ऋचा बाथरुमबाट फर्केपछि दिपेक्षका साथीहरूले उनलाई व्यङ्ग्य गर्न थाले– ‘ओहो कति ठूलो डाइमन्ड दिएको । घुँडा टेक्नुअघि नै तिमी एस भनिदिने ।’ तर, ऋचाले कुनै जवाफ फर्काइनन् । ‘त्यही दिन हामीले इन्गेजमेन्ट गरेका हौं । हामीले इन्गेजमेन्ट पनि एकदमै प्राइभेट गरेका थियौं,’ उनले भनिन्, ‘यतिसम्मकी इन्गेजमेन्टमा सहभागी हुनुभएका साथी आफन्तलाई यो भिडियो फोटो कहीँ नजाओस् भनेर रिक्वेस्ट गरेका थियौं ।’
दिपेक्षले आमाबुवासँग ऋचासँगको इन्गेजमेन्टका लागि सरसल्लाह गरेका थिए । ऋचाले भने पहिलो पटक दिदीलाई आफ्नो औंलामा दिपेक्षले लगाइदिएको रिङको फोटो खिचेर पठाइन् । यसपछि यो कुरा ऋचाको परिवारसमक्ष पुग्यो । ऋचाको हातमा दिपेक्षको रिङ परेको एक महिनामा उनकी आमाले दिपेक्षलाई भेटिन् । त्यसपछि मान्यजनहरूसँग पनि दिपेक्षले भेटघाट गराइन् । परिवारबीच भेटघाटपछि ऋचा र दिपेक्षको विवाह गरिदिने विषयमा दुवै परिवार सहमत भए । त्यसपछि दिपेक्षकी आमाले ऋचाको घरमा सगुन ल्याइन् । अफेयर्स हुँदै इन्गेजमेन्टसम्म पुगेको ऋचा र दिपेक्षको सम्बन्धमा विवाहको नयाँ बहस सुरु भयो । लगन जुराउन परिवारबीच सहमति भएपछि साइत हेर्न थालियो ।
उनीहरूको परिवारले गत असारमै विवाह गरिदिने मनस्थिति बनाएका थिए । तर, लगन नजुरेपछि २१ मंसिरका लागि ऋचा र दिपेक्षको विवाह तय भएको थियो । यहि मितिमा उनीहरुले लगन गाँठो कसेका छन् । हुन त दिपेक्षले ४ वर्षअघि पहिलो पटक ऋचालाई देखेका थिए, जतिबेला उनी होटल अन्नपूर्णमा फुड एन्ड बेभरेज डाइरेक्टरका रूपमा काम गर्थे । ‘मैले उसलाई देखेको करिव ४ वर्ष भयो । काठमाडौंजस्तो सानो ठाउँमा हाइ हेल्लो रिलेसन त जोसँग पनि हुन्छ, त्यतिबेला हाम्रो रिलेसन त्यस्तै थियो । उसलाई म एक्ट्रेस हो भनेर चिन्थे,’ उनले भने ।
दुवैको आफ्नै यात्राहरू थिए– ऋचा अभिनेत्री भएकाले आफ्नै बाटोमा, दिपेक्ष होटेलियर भएकाले अर्को बाटोमा । ऋचाले पनि दिपेक्षलाई अलिअलि चिनेको त्यही बेलादेखि नै हो । ‘मैले पनि उहाँलाई अन्नपूर्णमा हुँदा होटेलियर भनेर चिन्थें,’ ऋचाले थपिन्, ‘मलाई दिपेक्ष विक्रम राणा भनेको अन्नपूर्ण होटलको एफ एन्ड बीको हेड हो भन्ने थियो ।’ सामान्य हाइहेल्लो स्तरको चिनजान भए पनि उनीहरूबीच बोल्ने, बाहिर भेट्ने कहिल्यै भएन ।
बलिउड/हलिउडतिर सेलिब्रेटीहरू डेस्टिनेसन विवाहप्रति बढी आकर्षित छन् । अहिलेकी चर्चित अभिनेत्री ऋचा शर्माको विवाह समारोह कस्तो हुँदैछ त ? ऋचाले सुरुमै आफूहरूलाई एकदमै ठूलो र तडक–भडकपूर्ण विवाह गर्ने इच्छा नभएको बताइन् । ‘१ सय ५० जनाजति नजिकका पारिवारिक सदस्य लिएर कतै टाढा गएर डेस्टिनेस वेडिङ गरौं भन्ने पनि इच्छा थियो,’ उनले भनिन्, ‘अझ माछापुच्छ्रेलाई साक्षी राखेर विवाह गर्ने एकदमै इच्छा हो ।’ तर, विविध कारणले उनीहरूको त्यो योजना भने पूरा भएन् ।
ऋचा र दिपेक्षले पारिवारिक सदस्य, आफन्त र नजिकका केही साथीभाइको उपस्थितिमा २१ मंसिरमा बूढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा विवाह गरे । नेपाली शैलीमा डेकुरेसन गरिएको मण्डपमा ऋचा बेहुलीकै रूपमा लालीगुराँसै लालीगुराँस भएको ब्राइडल वेयरमा देखिएकी थिइन् । विवाहा हुनु केहि दिन अघिनै ‘दुलही भइसकेपछि कति चीजहरू गर्न रहर लाग्दोरहेछ,’ ऋचाले दुलही बन्न लाग्दाको अनुभव सुनाएकी थिइन्, ‘आफैं हिरोइन भएकाले पनि यस्तो गरौँ न, अनुष्का शर्माले गरेजस्तै गरौँ न भन्ने लाग्दोरहेछ ।’ तर, कतैबाट प्रभावित नदेखियोस् भनेर नेपाली डिजाइनर शिवांगी प्रधानले डिजाइन गरेको ब्राइडल वेयर उनले पहिरिएकी थिइन् ।
बाहुन, क्षेत्रीको भन्दा राणाहरूको विवाहशैली फरक हुने भएकाले उनको विवाहमा केही झलक राणा शैलीको विवाहको पनि मिक्सम्याच गरिएको छ । राणाहरूको विवाह उसो त राति नै गर्ने चलन छ तर ऋचा स्वयम्ले नै दिपेक्षकी आमालाई कन्भिन्स गरेर विवाह गरिन । एकदमै नेपाली शैलीमा विवाह सम्पन्न भएको छ ।
को हुन दिपेक्ष ?
दिपेक्ष काठमाडौंको डिल्लीबजारमा राणा परिवारमा जन्मिएका हुन् । उनी नेपाली सेनाका पूर्वपृतनापति दीपक विक्रम राणाका छोरा हुन् । उनकी आमा भने लिंकन स्कुलमा ३२ वर्षदेखि अध्यापन पेसामा संलग्न छिन् ।
दिपेक्षले काठमाडौंको लिंकन स्कुलमै प्रारम्भिक शिक्षा हासिल गरेका हुन् । सिंगापुर होटल एन्ड टुरिज्म एजुकेसन सेन्टर सिंगापुरबाट होटल म्यानेजमेन्टमा डिप्लोमा गरेका उनले अमेरिकाको जोन्सन एन्ड वेल्स युनिभर्सिटीबाट होटल म्यानेजमेन्टमा ब्याचलर्स तथा फाइनान्स एन्ड मार्केटिङमा मास्टर्स गरेका छन् । अमेरिकामा रहँदा उनले केही समय लाप्रिमा क्याफे, अडिनोज रेस्टुराँ, फयाट्टी म्याकिजमा म्यानेजरका रूपमा काम गरे । यस्तै, स्टेट अल्ट्रा लाउन्जमा ५ महिना एसिस्टेन्ट जनरल म्यानेजरका रूपमा काम गरेका उनले ३ वर्ष ५ महिना जनरल म्यानेजरका रूपमा काम गरे ।
सन् २०१२ मा नेपाल फर्किएपछि उनी होटल अन्नपूर्णमा फुड एन्ड बेभरेज म्यानेजरका रूपमा दुई वर्ष सक्रिय रहे । त्यसपछि उनको पदोन्नति फुड एन्ड बेभरेजको डाइरेक्टरमा भयो । सन् २०१६ देखि उनी लबिम मलको जनरल म्यानेजरमा रूपमा कार्यरत छन् ।