साप्ताहिक संवाददाता
बलिउडका चर्चित तथा लोकप्रिय अभिनेता आमिर खानको नयाँ चलचित्र ‘लाल सिंह चड्डा’को एउटा लुक भाइरल भएको छ । यो लुक आमिरका एक फ्यानले सुटिङ सेट छायांकन भैरहेका बेला खुसुक्क खिचेका हुन् । र, उनैले सार्वजनिक गरिदिएको चर्चा छ ।
सार्वजनिक तस्बिरमा आमिरले क्याप लगाएका छन् । उनको अनुहारमा लछप्पै लामो दाह्री छ । लामै कपाल छ । यो कपाल र दाह्री उनले पालेका हुन् या जोडिएको हो भन्ने विषयमा अहिलेसम्म जानकारी प्राप्त भएको छैन ।
यो चलचित्र हलिउड चलचित्र ‘फरेस्ट गम्प’को अफिसियल रिमेक भनिएको छ । जुन चलचित्रको यतिबेला धमाधम छायांकन भैरहेको छ । केहि दिनअघि मात्रै यो चलचित्रको फस्ट लुक सार्वजनिक गरिएको थियो । उक्त लुकले चलचित्रप्रति धेरैको कौतुहलता जगाएको छ । कुनै एक व्यक्तिको दिमागले कम काम गर्छ तर कसरी उसले आफु सफल भएर देखाउँछ ? भन्ने विषयमा यो चलचित्र निर्माण हुनेछ ।
‘फरेस्ट गम्प’ अस्कर अवार्डमा लगभग एक दर्जन विधामा नोमिनेसन पाएको थियो । आधा दर्जन विधामा एवार्ड जितेको थियो । यो चलचित्रको रिमेकले कति एवार्ड जित्छ त्यसका लागी भने प्रदर्शन भएपछि पक्कै थाहा हुनेछ ।