साप्ताहिक संवाददाता
सबै घरका अभिभावकको चाहाना हुन्छ, आफ्ना छोराछोरी स्वस्थ रहुँन् । त्यसैअनुरुप हामी हाम्रा बच्चाहरुलाई विभिन्न कुरा सिकाईरहेका पनि हुन्छौँ । यो खाना खानु हुन्छ, यो खाना खानु हुँदैन् । मानौं हामीले उनीहरुलाई दिएको आहारले मात्रै हाम्रा बच्चा स्वस्थ रहन्छन् । तर, हामी कतिपय अवस्थामा चुकिरहेका हुन्छौं आफ्नो सरसफाई आफैं गर भन्न । हामीले हाम्रा बच्चाहरुलाई सिकाउनु जरुरी छ की :
१. मुखको सरसफाई
मुखको सरसफाई प्रत्येक बच्चाको दिनचर्याको एक प्रमुख हिस्सा हुनुपर्छ । मुखको सरसफाईमा उचित ध्यान दिएमा बच्चाहरु दाँतको समस्या, सास गन्हाउने र मुटुको रोगबाट समेत बच्न सक्छन् । आफ्नो बच्चालाई दिनमा २ पटक कम्तीमा पनि २ मिनेटको लागि आफ्नो दाँतमा ब्रसले सफा गर्न सिकाउनु आवश्यक छ । विशेषगरि खाना खाएपछि मुखको सफाइ आवश्यक छ ।
– आफ्ना बच्चाहरुलाई सानै उमेरदेखि साधै’ ब्रस गर्न र कुल्ला गर्ने तरिका सिकाउँनुहोस् ।
– जिब्रो सफा गर्ने टंग क्लिनरले जिब्रो पनि सफा गर्न सिकाउनुहोस् ।
– बच्चाहरुको दाँत नियमित रुपमा जाँच गराउनुहोस् ।
२. शरीरको सरसफाई
आफ्ना छोराछोरीहरुलाई सकेसम्म दैनिक नुहाउने बानी बसाल्नुहोस् । दैनिक नुहाउनाले शरीर त सफा नै रहन्छ उनीहरुको मृत छाला पनि निस्कन्छ । उनीहरुको अण्डरवेयर सधैँ फेरिदिनुहोस् ।
३. हातको सरसफाई
बच्चामा हात नियमित धुने बानी बसाउनुहोस् । उनीहरुलाई हात धुन थोरै समय मात्रै लाग्छ भन्ने सिकाउनुहोस् । साथै उनीहरुलाई हात धुनाले विभिन्न रोगका ब्याक्टेरियाहरु फैलनबाट रोक्न र बिरामी हुनबाट बच्न सकिन्छ भनेर बुझाउनुहोस् ।
४. खुट्टाको सरसफाई
फोहोर खुट्टाले दुर्गन्ध आउनेमात्रै होइन दाद र अन्य संक्रमणको पनि खतरा बढ्छ त्यसैले बच्चालाई खुट्टा सफा राख्न पनि धेरै आवश्यक छ भन्ने कुरा अभिभावकले बुझाउँन सक्नु पर्छ । बच्चामा दिनमा २ पटक खुट्टा सफा गर्नु आवश्यक छ भनेर सिकाउँनुहोस । खुट्टा धोएपछि औंलाहरुको बीच भागलाई राम्रोसाग पुछेर सुकाउन भन्नुहोस् ।
५. ट्वाइलेट हाइजिन
बच्चालाई सौच गर्ने सहि तरिका सिकाउनुहोस् । सधैँ अगाडीबाट पछाडितर्फ धुन सिकाउनुहोस । पछाडिबाट अगाडिको तर्फ धोएमा संक्रमणको खतरा बढ्न सक्छ भन्ने कुरा उनीहरुलाई थाहा हुन पर्छ ।
६. नङको सरसफाई
बच्चाहरुले आफ्नो नङलाई सफा राख्न सिक्नुपर्छ । फोहोर नङमा ब्याक्टेरियाहरु जम्मा हुन्छ जसले बिरामी बनाउन सक्छ । कतिपय बच्चाहरुको दाँतले नङ टोक्ने बानी हुन्छ । त्यसैले उनीहरुलाई दाँतले नङ काटेमा फोहोर हुन्छ र ब्याक्टेरियाहरु पेटमा पुगेर बिरामी बनाउन सक्छन् भन्ने सिकाउनुपर्छ ।
७. सुत्न सिकाउनुहोस्
बच्चाहरुलाई ८–१० घन्टा गहिरो निन्द्रामा सुत्ने बानी बसालिदिनुपर्छ । पुरै निन्द्रा सुतेमा उनीहरुको शारीरिक र मानसिक विकास राम्रो रहन्छ भन्ने उनीहरुलाई थाहा हुन पर्छ । सधैँ नाइट सुट पहिरिएर सुत्ने बानी बसाइदिनुहोस् किनभने आरामदायक कपडामा उनीहरु गहिरो निन्द्रा सुत्न सक्छन् ।