ब्याचलर पार्टी पश्चिमी संस्कृतिको भोक

- जनक तिमिल्सिना

मंसिर २५, २०७६

 

    मधुरो प्रकाश भएको कोठामा मधुर संगीत बजिरहेछ । पाँच जना सुन्दरी सेतो पहिरनमा सजिएका छन् । तीमध्ये दुईजना आँखा चिम्म पारेर बसेकी एक हिस्सी परेकी युवतीलाई तयार पार्दैछन्— जसलाई पहिर्‍याइएको घुम्टोको पछाडि ‘ब्राइड टु वी’ लेखिएको छ । घुम्टो लगाइदिएपछि युवतीलाई आँखा खोल्न लगाइन्छ । जब उनी आँखा खोल्छिन्, अगाडि ऐनामा आफूलाई देख्नेबित्तिकै सरप्राइज भावमा बोली फुट्छ— ‘वाउ ।’ 

सखीहरू युवतीलाई पुन: आँखा बन्द गर्न लगाउँछन्, हिँडाउँदै अर्को एउटा कोठामा पुर्‍याउँछन् । जहाँ ठाउँ–ठाउँमा ‘ब्राइट टु बी’ लेखिएको छ, भुइँ र भित्तामा बेलुनै बेलुन छन् । एक टेबलमा पेप्सी र स्याम्पेनका बोतलसँगै थरीथरीका ‘पार्टी प्रोप्ज’हरू छन् । अर्को टेबुलमा केकसँगै मैनबत्तीहरू जलिरहेछन् । आँखा बन्द गरेर ल्याइएकी युवतीका लागि यो अर्को सरप्राइज हुन्छ । उनलाई केक काट्न लगाइन्छ । त्यसपछि क्यामरा बज्छ— खिचिक्क खिचिक्क । क्षणभरमै एउटा स्याम्पेनको बोतल फोडिन्छ, उनीहरू स्याम्पेनको चुस्की लगाउँदै ‘लाउड म्युजिक’ मा नाच्न थाल्छन् । 

यो कुनै वर्थ डे सेलिब्रेसन वा पार्टी होइन, बरु भोलि शनिबार (२१ मंसिर) मा विवाह गर्न लागेकी अभिनेत्री ऋचा शर्माको हालै पोखरामा भएको ‘सेक्रेट ब्याचलर पार्टी’ सेलिब्रेसनको दृश्य हो । ‘वेस्टी’को विवाहपूर्व अभिनेत्रीद्वय प्रियंका कार्की र केकी अधिकारीले उक्त सरप्राइज पार्टीको आयोजना गरेका हुन् ।

पोखरास्थित एक रिसोर्टमा भएको ब्याचलर पार्टीमा ऋचासँगै प्रियंका र केकीले रातभरि मस्ती गरे, एकल जीवनका सुख दु:ख साटे । ‘एकदमै रमाइलो भयो । केकी र मैले नै ऋचालाई सरप्राइज ब्याचलर पार्टी दिएका हौं’, नायिका प्रियंका कार्की भन्छिन्, ‘बाहिर कतै पनि नगएर रिसोर्टभित्रै बसेर साउना, स्टिम, गफगाफ र खानपानमै रमायौं ।’ 

पोखरामा उनीहरूले तीन दिन बिताए । सेलिब्रेसनमा तीन जना अभिनेत्री, डिजाइनर शिवांगी प्रधान र ऋचाकै बहिनी निरा जोशी थिए । ब्याचलर पार्टी सेलिब्रेट गरेर फर्किएकी ऋचा विवाह नजिकिँदै जाँदा स्ट्रेस बढ्न थालेपछि साथीहरूले पार्टी दिएको बताउँछिन् । ‘निकै रमाइलो भयो, दु:ख सुख साट्यौं । नाच्यौं, गायौं, रमाइलो गर्ने सबै कुरा गर्‍यौं,’ उनी भन्छिन्, मान्छेहरू ब्याचलर पार्टी भनेपछि वाइल्ड सोच्छन् । तर, त्यस्तो होइन । हामी साथीहरूबीचमा समय बिताउन नपाएको पनि धेरै भएको थियो । धेरै समयमा भेटे पनि एकअर्कामा दु:ख सुख साट्ने साथीहरू हौं । त्यो भएर पनि रमाइलो भयो ।’

अझ रमाइलो कुरा त के छ भने, उनीसँग विवाह बन्धनमा बाँधिएका लबिम मलका जनरल म्यानेजर दिपेक्षविक्रम राणा पनि एक महिनाअघि साथीहरूले बैंककमा दिएको ब्याचलर पार्टीमा सेलिब्रेसन गरेर फर्किएका थिए । 

    फागुन ०७५ मा बैतडीका ३१ वर्षीय दिव्य देवले लभ म्यारिज गरे । विवाहको तीन दिन पहिले उनका साथीहरूले उनका लागि ब्याचलर पार्टीको आयोजना गरेका थिए । नक्सालको एक रेस्टुराँमा भएको उक्त पार्टी अझै पनि उनको दिमागमा झलझली आइरहन्छ । ‘विवाहपूर्व साथीहरूले ब्याचलर पार्टीका रूपमा मलाई ट्रिट दिए,’ थिएटर आर्टिस्ट दिव्य भन्छन्, ‘१२ जना जति जम्मा भएका थियौं, साथीहरू मिलेर ड्रिक्स, गफगाफ र खानपिन गरेर रमाइलो गर्‍यौं ।’ पार्टीमा उनका बेस्ट फ्रेन्डहरूले दिव्य र उनकी प्रेमिकाका बारेमा आ–आफ्नो मनमा लागेका कुरा पनि दिल खोलेर सेयर गरे । उनका बेस्ट फ्रेन्ड उत्पल झा चार–पाँच दिनअगाडि भारत गएका कारण उनी निकै दुखित थिए । तर, साँझ ७ बजेतिर त्यही ब्याचलर पार्टीमा उत्पल सुटकेस बोकेर एयरपोर्टबाटै सरप्राइज दिन आइपुगे । ‘त्यो पल यादगार रह्यो,’ उनी सम्झन्छन् । 

 

    गत साउनको अन्तिम साता जनकपुरकी पवित्रा सुनुवार र उनका साथीहरू मिलेर स्कुलमेट रेवा श्रेष्ठका लागि ब्याचलर पार्टी दिए । असोजमा विवाह गर्न लागेकी रेवालाई पछिसम्म सम्झने गरी उक्त पार्टीको आयोजना गरिएको थियो । ‘जनकपुरमा हामीसँगै स्कुल पढेका साथी हौं,’ पवित्रा भन्छिन्, ‘झम्सिखेलस्थित बुज वेलीमा हामी १५ जना साथीले उनका लागि त्यो ब्याचलर पार्टीको आयोजना गरेका थियौं ।’ रेवाको ब्याचलर पार्टीमा उनीहरूले ड्रिक्स गरे, खानपिन गरे, नृत्यसँगै क्लब गएर पनि रमाइलो गरे । ‘जो ब्राइड हो, उसका लागि हामीले दिएको पार्टी हो, सरप्राइज विफोर म्यारिज । सिंगल लाइफ एक्सपिरियन्स गरायौं,’ भन्छिन्, ‘हामीले जतिसक्दो स्मरणीय बनाउने प्रयास गर्‍यौं ।’

पश्चिमा समाजमा चल्तीमा रहेका भ्यालेन्टाइन, अंग्रेजी नयाँ वर्ष, क्रिसमस इभजस्ता कुरा नेपाली समाजको बदलिँदो जीवन पद्धति बन्न थालेका छन् । त्यसमा थपिएको छ– ‘ब्याचलर पार्टी ।’ केही समयभित्रै वैवाहिक जीवनमा बाँधिन लागेका बेहुला/बेहुलीका लागि उनका घनिष्ठ साथीहरू मिलेर आयोजना गर्ने यस्तो पार्टी युरोप, अमेरिकाजस्ता पश्चिमा देशहरूतिर बढी प्रचलनमा छ । पछिल्ला वर्षमा भारतमा पनि ‘ट्रेन्ड’कै रूपमा विस्तार भइरहेको यस्तो पार्टी हाम्रोमा पनि भित्रिएको छ । 

पाँचौं शताब्दीमा स्पार्टनसहरूले बेहुलाको बिहे हुनुअघिको अन्तिम दिन बेहुलाका सबै साथीहरूसँगै बसेर डिनर र रोस्ट खुवाएर बिताउने गर्थे । यसलाई नै संसारको सबैभन्दा पुरानो ‘ब्याचलर पार्टी’का रूपमा लिइन्छ । ‘ब्याचलर पार्टी’ भन्ने शब्दको प्रयोग सन् १९२२ मा पहिलो पटक विलियम च्याम्बर्स जर्नल अफ लिटरेचर साइन्स एन्ड आर्टमा गरिएको थियो । उक्त शब्दलाई ‘जोल्ली ओल्ड पार्टी’को रूपमा व्याख्या गरिएको थियो । 

‘ब्याचलर’ शब्द भने १४ औं शताब्दीदेखि प्रचलनमा आएको हो । जिओफ्रे चौसरको द क्यान्टेबरी टेल्समा अविवाहित व्यक्तिलाई सम्बोधन गर्न उक्त शब्द प्रचलनमा ल्याएको विकिपेडियामा उल्लेख छ । यसको वास्तविक अर्थ प्रशिक्षणमा रहेको एउटा जवान भन्ने लाग्थ्यो ।

सन् १९८० देखि अमेरिका हुँदै जर्मनी, फ्रान्स, इजरायल, बेलायत, आयरल्यान्ड, क्यानाडा, दक्षिण अफ्रिका, थाइल्यान्डजस्ता देश हुँदै दक्षिण एसियन देशहरूमा विस्तारित ब्याचलर पार्टीको ट्रेन्ड विस्तार भएको हो । बेहुलाका घनिष्ठ साथीले आयोजना गर्ने भएकाले यस्तो पार्टीमा सबै कुराको व्यवस्था उनीहरूले नै गर्छन् । बेहुलाले केही पनि तिर्न नहुने नियम पश्चिमा देशमा पाइन्छ । 

बेहुलाले यस्तो पार्टीमा जे गर्न इच्छा व्यक्त गर्छ त्यो उसका साथीहरूले पूरा गरिदिनुपर्ने मान्यता पनि छ । यस्ता पार्टीमा क–कसलाई बोलाउने भनेर बेहुलाको अनुमति लिनुपर्छ । पार्टी तबसम्म सकिँदैन, जबसम्म बेहुलाले पार्टी सकेको घोषणा गर्दैन । ब्याचलर पार्टीमा सबै बेहुलाको चल्छ । 

सुरुमा विवाह हुन लागेका बेहुलाका साथीहरूले मात्रै गर्ने ब्याचलर पार्टी पछिल्लो समयमा बेहुलीका साथीहरूले पनि गर्ने गरेका छन् । नेपालमा बेहुलाका साथीले होस् वा बेहुलीका दुवैले आयोजना गरेको पार्टीलाई ब्याचलर पार्टी भनिन्छ । तर, बेहुलाका नजिकका साथीले बेहुलालाई दिने पार्टी ब्याचलर पार्टी हो भने बेहुलीका नजिकका साथीहरूले बेहुलीलाई दिने पार्टी ब्याचलोरेट पार्टी भनिन्छ । 

सहरका पढेलेखेका युवा–युवतीहरू गृहस्थी जीवनमा प्रवेश गर्न लागेका आफ्ना घनिष्ठ बेहुला/बेहुली दौंतरीका लागि ब्याचलर पार्टी दिने गर्छन् । उनीहरू केही दिनपछि विवाह गर्न लागेका साथीलाई बोकेर कतै बाहिर निस्केर विवाहपूर्वको केही दिन र रातलाई स्मणीय बनाउँदै यस्ता ब्याचलर पार्टी गर्छन् । कुनै नयाँ ठाउँ, रेस्टुराँ, होटल तथा रिसोर्टमा पुगेर वाइल्ड सेलिब्रेसन चल्छ । अविवाहिता साथीमाथि थपिने जिम्मेवारीपूर्वको अन्तिम सेलिब्रेसनका रूपमा तन्नेरीहरू ब्याचलर पार्टी गर्छन् । 

त्रिचन्द्र क्याम्पसकी समाजशास्त्रकी लेक्चरर निर्मला ढकाल आर्थिक रूपमा आत्मनिर्भर युवा पुस्तामा यो चलन लोकप्रिय र बढ्दो क्रममा रहेको बताउँछिन् । ‘जसको उद्देश्य पूर्ण मनोरञ्जन मात्र हो । राम्रा नराम्रा पक्षसँग सरोकार नराख्ने यो प्रचलनले मनोरन्जन र एउटा गृहस्थ जीवनमा प्रवेश गर्नु अगाडि आफ्ना साथी सर्कलसँग पूर्ण समय बिताउने नै हो,’ उनी भन्छिन्, ‘विवाहित जीवनका नीति, नियम, अनुशासन र जिम्मेवारी बहन गर्नु अगाडि एकल जीवनको स्वतन्त्रता उपभोग गर्न यो पार्टी गरिन्छ ।’

एक वर्षअघि मात्रै ब्याचलर पार्टीको अनुभव सँगालेका दिव्यलाई पनि त्यही लाग्छ । ‘यो साथीहरू बिहेको पूर्वसन्ध्यामा एक ठाउँमा जम्मा हुने र रमाइलो गर्ने अवसर हो,’ दिव्य भन्छन्, ‘वेस्टर्न कल्चरमा विवाह भनेपछि लाइफ लङ कमिटमेन्ट हुन्छ, अनम्यारिड लाइफको लाष्ट सेलिब्रेसन ब्याचलर पार्टी हो ।’ 

पश्चिमा देशहरूको जीवन पद्धतिका रूपमा रहेको ब्याचलर पार्टीलाई नेपालसम्म ल्याइपुर्‍याउन त्यहाँ बस्ने नेपालीको धेरथोर भूमिका छ । ब्याचलर पार्टीप्रति नेपाली युवाहरूको आकर्षणको यो मात्रै कारण होइन, त्यो भन्दा जिम्मेवार इन्टरनेटको अभूतपूर्व विकास र मिडियाहरू हुन् । पश्चिमा देश र भारतमा हिरो/हिरोइनले विवाह पूर्व गर्ने ब्याचलर पार्टीले पनि नेपाली मिडियाहरूमा बाक्लै कभरेज पाउने गरेका छन् । औंलामा संसार नियाल्ने आजको आधुनिक पुस्ताका युवा/युवती त्यसैको सिको गर्दै ब्याचलर पार्टी गर्छन् । 

पश्चिमी समाजको सांस्कृतिक प्रभाव विश्वव्यापी फैलिँदो क्रममा छ । आधुनिकीकरण, सहरीकरण र विश्वव्यापीकरणजस्ता विश्वव्यापी मान्यताहरूले पनि पश्चिमा समाजका यस्ता सांस्कृतिक प्रचलनलाई नेपालीको जीवनसम्म ल्याइपुर्‍याउन भूमिका खेलेका छन् । समाजशास्त्री डा. मृगेन्द्रबहादुर कार्की आधुनिकीकरण नाममा आफ्नो सबै मौलिक जीवनपद्धतिहरू उखेलेर फालिएका कारण पश्चिमा जीवनपद्धति नेपाली समाजको चलन बन्ने पुगेको बताउँछन् । ‘आधुनिकीकरण क्रममा हाम्रो परम्परागत रुटका नराम्रा पक्षहरूलाई फाल्नुपर्ने हो तर, हामीले राम्रा/नराम्रा सबै पक्षलाई काटेर फाल्यौं,’ डा. कार्की भन्छन्, ‘पश्चिमा जीवन पद्धतिका सबै कुरा राम्रो भनेर अपनायौं ।’ उनका अनुसार राज्य व्यवस्था, शैक्षिक, राजनीतिक सबै क्षेत्रमा पश्चिमाहरूले अनुसरण गरेको नीति लागू गर्दै गएकाले पश्चिमी जीवनपद्धति नेपालीका लागि आफ्नो हुँदैं गएको हो । 

खासगरी, न्युयोर्क, लन्डन र पेरिसतिरका पश्चिमाहरूले मनाउने उत्सवहरू क्षणभरमै कस्मोपोलिटन सहरका रूपमा विकास हुँदै गरेको काठमाडौं सिको गर्छ । त्यसपछि पोखरा, बुटवल, चितवन, भैरहवा, धरान, विराटनगर, नेपालगन्ज र धनगढीजस्ता सहरका युवायुवतीमा त्यो प्रसार हुँदै जान्छ । नेपाल पार्टी प्लानरका एमडी राजन मानन्धर ब्याचलर पार्टी पछिल्लो समय नेपालमा पनि ट्रेन्डकै रूपमा देखिन थालेको बताउँछन् । ‘नेपालमा ब्याचलर पार्टी नयाँ ट्रेण्डका रूपमा देखिँदैछ,’ उनी भन्छन्, ‘काठमाडौंजस्ता सहरमा यस्ता पार्टी गर्नेहरूको संख्या बर्सेनि बढिरहेको देखिन्छ ।’ 

ब्याचलर पार्टी मध्यम र अझ उच्च वर्गीय सहरी युवापुस्ताको रोजाइ भएको देखिन्छ । खासगरी कर्पोरेट हाउसमा काम गर्ने, राम्रो आम्दानी भएका, देश–देशाटनमा निस्किएका युवायुवतीहरूले यस्ता पार्टीहरू आयोजना गर्छन् । ब्याचलर पार्टीमा ओभरनाइट बस्ने, केक काट्ने, म्युजिक र नृत्यमा रमाउने, रक्सी तथा वाइनको चुस्की लगाउने, नयाँ, अलग र आकर्षक पहिरनमा फोटो सुट गर्ने, क्लब र डान्सबार जानेजस्ता चलन नेपालमा देखिन्छ । ब्याचलर पार्टीमा रक्सी र वाइनको चुस्की लगाएर फिट्टु भएर रमाइलो गर्नमा पनि नेपाली युवायुवतीहरू पछि छैनन् । 

पश्चिमा देशहरूमा ब्याचलर पार्टी सेलिब्रेट गर्नेहरू खानपिन र नाचगानभन्दा अझ धेरै इन्जोयमेन्टका तरिकाहरू अपनाउँछन् । त्यहाँका ब्याचलर पार्टीमा देखिने कतिपय तडक–भडक भने नेपाली समाजमा अझै पाच्य छैनन् । पश्चिमाहरू ब्याचलर पार्टीमा एकदमै धेरै रक्सी खाने, न्युड युवा–युवतीसँग रमाउने, नाचगान गर्ने, भेज ननभेज गफगाफ र छेडखानीमा रमाउने, ह्याङओभर गर्ने, जुवातास खेल्ने, कन्सर्ट, हन्टिङ, फिसिङ, घुमघाम, गल्फ, रक्सी पिउने प्रतिस्पर्धा गर्ने गर्छन् । कतिपय ब्याचलर पार्टीमा वार गर्ल र बार व्वाइहरूसमेतलाई ल्याएर मस्ती गर्ने प्रचलन पनि त्यहाँ छ । 

नेपालमा रमाइलो गर्ने बहाना र स्मरणीय बनाउन गरिने यस्ता ब्याचलर पार्टीहरू अलि सभ्य देखिन्छ । 

नेपालीहरूले गर्ने ब्याचलर पार्टीहरूमा आर्थिक स्थिति, ग्याङ, वातावरण सबैलाई ध्यान दिइएको पाइन्छ । यस्ता पार्टीहरूमा हजारदेखि लाखसम्म नेपाली युवा–युवतीहरूले खर्चने गर्छन् । कुस्त पैसा खर्च गर्न सक्ने उच्च वर्ग र घरानिया परिवारका युवा/युवतीहरू थाइल्यान्ड, सिंगापुर, दुबईतिर पनि आफ्नो बेहुला/बेहुली साथीका लागि ब्याचलर पार्टीको आयोजना गर्छन् । नेपालमा खासगरी यस्तो पार्टीप्रति मध्य र उच्च वर्गका युवा–युवतीहरूको बढी आकर्षण छ ।

 

पश्चिमा सिको

डा. मृगेन्द्रबहादुर कार्की

अहिले हामी नेपाली कलमी गरिएको रूखजस्तै भएका छौं, जरो मात्रै आफ्नो अरू सबै अनुहार पश्चिमको ब्याचलर पार्टीका सन्दर्भमा चर्चा गर्दा यसलाई तीनवटा सिद्धान्तमा बाँडेर हेर्न सकिन्छ । हाम्रो अहिले राज्य निर्माण हुनुभन्दा अगाडि पनि यहाँ राज्यहरू थिए । नेपाल हुनुभन्दा पनि अगाडि पनि थुप्रै राज्य थिए ।

अहिलेको नेपाल त सन् १८१५ को सुगौली सन्धिपछि अस्तित्वमा आएको हो । त्योभन्दा अगाडि पनि सभ्यता, संस्कृति थिएँ । त्योभन्दा पहिले पनि जीवन जगत्लाई निर्दिष्ट गर्ने पद्धतिहरू थिए । परिवार कस्तो हुनुपर्छ, व्यक्तिले परिवारमा कसरी भूमिका खेल्ने, विवाह अगाडि व्यक्तिको भूमिका के हुने, विवाहपछिको भूमिका कस्तो हुनेजस्ता कुराहरू गीता, रामायण र महाभारत र मुन्धुमबाट निर्दिष्ट थिए । 

आधुनिक राज्यमा आइसकेपछि जीवन पद्धतिको दर्शन पश्चिमबाट लियौं । पश्चिमबाट के लियौं, शिक्षा नीति पश्चिमबाटै, विकास नीति पनि पश्चिमबाटै, राज्य कस्तो खालको हुनुपर्छ भन्ने अवधारणा पनि पश्चिमबाटै । यसले हामीलाई पश्चिमीकरण गर्दै गयो । 

अहिलेको अवस्था त शारीरिक जीउ चाहिँ नेपाली, कन्सेप्टुअल वीङ सबै पश्चिमबाट । ४/५ सय वर्षदेखि हामी पश्चिमबाट प्रभावित हुँदै आएका छौं । त्यो प्रभावित भइसकेपछि हामीले पश्चिमतिरका मूल्य मान्यतालाई ग्रहण गर्न थाल्यौं । संस्कृति ग्रहणको मुख्य आधार स्तम्भ समाजको प्रबुद्ध वर्ग हो, जो अनुभवले खारिँदै गएको हुन्छ । हामीले त्यो प्रबुद्ध वर्गमा पुरानो आधुनिकीकरणको रुटमा खोज्ने हो । तर, अहिले हामीले त सबै पश्चिमी रुट अनुशरण गरिरहेका छौं । 

त्यसैले अहिलेको समाज दुविधाजस्तो पनि छ । सम्पूर्ण नीतिहरू पश्चिमबाट लिएका हुँदा पश्चिमी चलनले प्रभावित भइरहेको छ । हिजो प्रबुद्ध वर्गलाई राखेर परिवार प्रशिक्षित गरिन्थ्यो, अहिले प्रबुद्ध वर्गलाई हामीले वृद्धाश्रममा पठाउन थाल्यौं । प्रवुद्ध वर्गको ज्ञान, उनीहरूभित्रको मौलिक सभ्यताको भण्डारलाई आफूबाट अलग गरेर हाम्रो रोलमोडल पश्चिमलाई बनायौं । जसका कारण पश्चिमका सबै जीवन पद्धति हाम्रा लागि स्वभाविक बन्दै गए । हामीले विश्वविद्यालयहरूमा एरिस्टोटल, माक्स बैवरलाई पढायौं, जनक र गार्गीलाई पढाएनौं । उनीहरूलाई पढाउन हामीले फरक ढाँचाहरूको विकास गर्नुपर्ने भयो । त्यसतर्फ हामीले लागेनौं, पश्चिममा जे चलिरहेको छ, त्यसैलाई कपी गर्‍यौं । आधुनिकीकरणमा हाम्रो परम्परागत रुटका नराम्रा पक्षहरूलाई फाल्नुपर्ने हो । तर, हामीले राम्रा नराम्रा सबै पक्षलाई काटेर फाल्यौं ।

(डा.कार्की समाजशास्त्री हुन् ।)

प्रकाशित :मंसिर २५, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×