साप्ताहिक संवाददाता
बलिउडमा अभिनेत्रीको पारिश्रमिकलाई लिएर प्राय: चर्चा भइरहन्छ । अभिनेताभन्दा कम पारिश्रमिक लिने भनेर समय–समयमा उनीहरूको आलोचना पनि हुन्छ । हालै मात्र अभिनेत्री तापसी पन्नुले अभिनेत्रीले अभिनेताको तुलनामा आधा वा एक चौथाइ मात्र पारिश्रमिक पाउने गरेको बताएकी थिइन् । बलिउडका अभिनेत्रीको पारिश्रमिक के–कति रहेछ, त्योबारे केही जानकारी लिऔं ।
कंगना रनावत
बलिउडमा महिलाको कामलाई लिएर सबैभन्दा बढी आवाज उठाउने अभिनेत्री कंगना रनावतले जयाललिताको बायोपिक ‘थलाइवी’ बाट २४ करोड पारिश्रमिक लिएकी छन् । समाचारअनुसार उनले तमिल र हिन्दी भाषाका लागि यो रकम लिएकी हुन् । उनको यो पारिश्रमिक हालसम्म बलिउडमा कुनै पनि अभिनेत्रीले लिने पारिश्रमिकको तुलनामा बढी हो । कंगना बलिउडमा तीनपटक लगातार राष्ट्रिय अवार्ड जित्ने अभिनेत्री हुन् ।
दीपिका पादुकोण सिंह
अभिनेत्री दीपिका पादुकोण सिंह पनि बलिउडकी महँगी अभिनेत्रीमा पर्छिन् । चलचित्र ‘पद्मावत’को समयमा उनले यो चलचित्रका लागि १३ करोड पारिश्रमिक लिएको चर्चा चलेको थियो । उनलाई सन् २०१८ को फोब्र्स पत्रिकाले सबैभन्दा बढी कमाइ गर्ने अभिनेत्रीको स्थान दिएको थियो । त्यो समयमा उनको कमाइ १ सय १२ दशमलव ८ करोड थियो । हालै मात्र उनले आगामी चलचित्रका लागि २१ करोड रुपैयाँसम्म पारिश्रमिक बढाएकी छन् । चाँडै नै दर्शकमाझ उनी अभिनित ‘छपक’, ‘महाभारत’, ‘८३’ जस्ता चलचित्र आउँदैछन् ।
प्रियंका चोपडा
अभिनेत्री प्रियंका चोपडाले सन् २०१७ मा ७७ करोड आम्दानी गरेकी थिइन् । उनले अभिनेता सलमान खानको चलचित्र ‘भारत’का लागि १४ करोड पारिश्रमिक माग गरेकी थिइन् । तर, चलचित्रका निर्माताले उनीसँगको कुराकानीलाई टुंगोमा पुर्याउन सकेनन् । बलिउडसँगै हलिउडमा पनि व्यस्त प्रियंकाले
आफ्नो अन्तर्राष्ट्रिय आइकनलाई ध्यानमा राख्दै आफ्नो पारिश्रमिक अहिले १८ करोड
पुर्याएकी छन् ।
करिना कपुर
अभिनेत्री करिना पनि महँगो पारिश्रमिक लिन पछि पर्दिनन् । हालै मात्र रिलिज चलचित्र ‘वीरे दी वेडिङ’ का लागि करिनाले १० करोड पारिश्रमिक लिएकी थिइन् । बलिउडमा दुई दशकदेखि सक्रिय करिनाले अहिले एउटा चलचित्रबाट १७ करोड पारिश्रमिक लिन्छिन् ।
श्रद्धा कपुर
सुन्दरता र अभिनयका कारण चर्चामा आइरहने श्रद्धा कपुरले एक चलचित्रबाट १५ करोड पारिश्रमिक लिन्छिन् । उनको आगामी चलचित्र ‘स्ट्रिट डान्सर’, ‘बागी ३’ र ‘स्त्री रिटर्नस्’ हो ।
सोनाक्षी सिन्हा
बलिउडमा राम्रो बैंक ब्यालेन्स भएको अभिनेत्रीमा सोनाक्षी पर्छिन् । केही हिट र केही फ्लप चलचित्रका बाबजुद पनि उनले आफ्नो स्थानलाई सन्तुलनमै राखेकी छन् । उनी एउटा चलचित्रबाट ७ करोड पारिश्रमिक लिन्छिन् । उनको रिलिज हुन लागेको चलचित्रमा ‘दबंग ३’ र ‘भुज: द प्राइड अफ इन्डिया’ हो ।
आलिया भट्ट
समाचारअनुसार आलियाले एक चलचित्रका लागि ७ करोड पारिश्रमिक लिन्छिन् । आफू ७ करोड पारिश्रमिक लिने भए पनि आलियाले अहिले आफ्नो पारिश्रमिकलाई १४ करोड पुर्याएकी छन् । उनी अभिनित चलचित्र ‘ब्रम्हास्त्र’, ‘आरआरआर’ र ‘सडक–२’ दर्शकले चाँडै हेर्न पाउनेछन् ।
कटरीना कैफ
कटरीना बलिउडमा सर्वाधिक पारिश्रमिक लिने गैरभारतीय अभिनेत्री हुन् । उनी एउटा चलचित्रबाट १२ करोड पारिश्रमिक लिन्छिन् । सन् २०१८ को फोब्र्स लिस्टका अनुसार कटरीनाले एक वर्षमा ३३ दशमलव ६७ करोड कमाइ गरेकी थिइन् । उनी चाँडै अभिनेता अक्षयकुमारसँग चलचित्र ‘चन्द्रवंशी’ मार्फत दर्शकमाझ आउँदैछिन् ।
सोनम कपुर अहुजा
बलिउडका निर्माता तथा फेसन डिजाइनरको रोजाइमा पर्ने अभिनेत्री हुन्, सोनम कपुर अहुजा । प्रत्येक चलचित्रमा केही न केही फरक प्रस्तुति दिने सोनमले एउटा चलचित्रबाट १० दशमलव ५ करोड पारिश्रमिक बुझ्छिन् ।
विद्या वालन
विद्या पनि बलिउडमा महँगो पारिश्रमिक लिने अभिनेत्रीमा पर्छिन् । उनी एउटा चलचित्रबाट १० करोड पारिश्रमिक लिन्छिन् ।
अनुष्का शर्मा
बलिउड अभिनत्री अनुष्का शर्मा एक चलचित्रबाट ८ करोड पारिश्रमिक लिन्छिन् । क्रिकेटर विराट कोहलीसँग वैवाहिक जीवनमा बाँधिएपछि अनुष्काको चर्चा झन् चुलिएको छ ।
परिणीति चोपडा
राष्ट्रिय एवार्ड विजेता अभिनेत्री परिणीति बलिउडकी व्यस्त र निर्माताको खोजीमा पर्ने अभिनेत्री हुन् । उनी एउटा चलचित्रबाट साढे ७ करोड पारिश्रमिक लिन्छिन् । उनको नयाँ चलचित्र ‘भुज: द प्राइड अफ इन्डिया’, सैना नेहवालको बायोपिक, ‘सन्दीप और पिन्की फरार’ र ‘गर्ल अन द ट्रेन’को रिमेक हो ।
ऐश्वर्या राय बच्चन
बलिउडमा अभिनेत्रीको कुरा गर्दा नछुट्ने नाम हो, ऐश्वर्या राय बच्चन । रूपको सुन्दरतासँगै अभिनयमा पनि प्रखर ऐश्वर्याले एक चलचित्रबाट ६ करोड पारिश्रमिक बुझ्छिन् । उनको आगामी चलचित्र ‘तानाजी : द अनसङ वारियर’ हो ।
ज्याकुलिन फर्नान्डिज
श्रीलंकाबाट भारत आएर अभिनयमा संघर्ष गरेकी अभिनेत्री ज्याकुलिन फर्नान्डिज एउटा चलचित्रबाट ५ करोड पारिश्रमिक लिन्छिन् । उनी अभिनित चलचित्र ‘ड्राइभ’, ‘हमारी सादी’ र ‘डान्सिङ ड्याड’ रिलिजको तयारीमा छन् ।
दिशा पटानी
दिशालाई बलिउडमा शतप्रतिशत सफल अभिनेत्री मानिन्छ । उनी एक चलचित्रबाट ४ करोड पारिश्रमिक लिन्छिन् । उनी दर्शकमाझ ‘मलाङ’ र ‘राधे’ लिएर चाँडै दर्शकमाझ आउँदैछिन् ।
यीबाहेक अभिनेत्री कृति सेननले एउटा चलचित्रबाट तीन करोड पारिश्रमिक लिन्छिन् । उनको आगामी चलचित्र ‘पानीपत’ र ‘मिमी’ हो । त्यस्तै तापसी पन्नुले अढाई करोड, कियारा आडवाणीले २ करोड पारिश्रमिक लिन्छन् ।
स्रोत : एजेन्सी