साप्ताहिक संवाददाता
आठौँ संस्करणको आईएमई नेपाल लिटरेचर फेस्टिबल शुक्रबारदेखि सुरु हुने भएको छ । गतसाल झैँ लेकसाइडस्थित बाराहीघाट नजिक फेवाकिनारमा महोत्सव चारदिनसम्म चल्नेछ ।
आयोजक बुकवर्म फाउन्डेसन र र्यान्डम रिडर्स सोसाइटीले पत्रकार सम्मेलनको आयोजना गरी मंगलबार कार्यक्रमको जानकारी दिएको हो । आयोजक संस्था बुकवर्म फाउन्डेसनका निर्देशक अजित बरालले फेस्टिबलका अघिल्ला संस्करणभन्दा यसपटक नयाँ वक्तालाई उभ्याइने जानकारी दिए । ‘सुरुका संस्करणमा एउटै अनुहार दोहोरियो भन्ने धेरै गुनासा र सुझाव आयो,’ उनले भने, ‘यसपटक हामीले ९८ प्रतिशत नयाँ वक्तालाई फेस्टिबलमा ल्याउन लागेका छौं ।’ ४ दिनसम्म चल्ने फेस्टिबलमा १ सय १० भन्दा बढी वक्ता सहभागी हुनेछन् ।
त्यसमध्ये १ दर्जनभन्दा बढी विदेशी लेखक सहभागी हुने बरालले जानकारी दिए । ‘फेस्टिबलमा अन्र्तराष्ट्रिय लेखकहरूलाई पनि ल्याउन लागेका छौं । त्यसले यहाँको साहित्यलाई अन्र्तराष्ट्रियकरण गर्न पनि सहयोग मिल्ने अपेक्षा राखेका छौं,’ उनले भने । फेस्टिबलमा ४० भन्दा बढी सेसन समावेश गरिएको छ ।
फेस्टिबलको पहिलोदेखि ४ संस्करण काठमाडौंमै गरिएको थियो । ५ औं संस्करणदेखि पोखरामा आयोजना गर्न थालिएको हो । फाउन्डेसन निर्देशक बरालले तत्कालीन समयमा काठमाडौंमा भूकम्प गएर पोखरामा आयोजना गर्नु परे पनि अहिले पोखराकै फेस्टिबल भएको सुनाए ।
फेस्टिबलको अर्का आयोजक संस्था र्यान्डम रिडर्स सोसाइटीका अध्यक्ष केशवशरण लामिछानेले फेस्टिबलले पोखरेली साहित्य उजागर गर्न मद्दत पुगेको दाबी गरे । ‘फेस्टिबलका सबै संस्करणमध्ये ४ वटा पोखरामै भएका छन् । त्यसले पनि हामीलाई अपनत्व महसुस भएको छ,’ उनले भने, ‘यस संस्करणमा २० प्रतिशतभन्दा बढी वक्ता पोखरेली बुद्धिजीवीलाई नै सहभागी गराउन पाउँदा हामी पनि खुसी छौं ।’