साप्ताहिक संवाददाता
नेपाल प्रज्ञा प्रतिष्ठानले हरेक चार वर्षमा प्रदान गर्दै आएको पृथ्वी प्रज्ञा पुरस्कार यो वर्ष वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई प्रदान गरेको छ । यसै साता राष्ट्रपति निवासमा एक कार्यक्रमको आयोजना गरि राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट चार लाख रूपैयाँसहितको पृथ्वी प्रज्ञा पुरस्कार शताब्दी पुरुष जोशीलाई प्रदान गरिएको थियो ।
‘साहित्य, कला र संस्कृति देशको मुख्य हिस्सा हुन् । भौतिक संरचनासँगै देशका लागि कला साहित्यको उत्तिकै खाँचो हुन्छ,’कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा शताब्दी पुरुष जोशीले उल्लेख गरे । कार्यक्रममा एक लाख रूपैयाँसहितको नेपाल प्रज्ञा सामाजिक शास्त्र पुरस्कार त्रिरत्ननारायण मानन्धरलाई प्रदान गरिएको थियो । त्यस्तै एक लाख रूपैयाँको नेपाल प्रज्ञा भाषा पुरस्कार टंकप्रसाद न्यौपानेलाई प्रदान गरियो ।
कार्यक्रममा नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार (२०७५) मदन रेग्मी, नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार (२०७६) भागीरथी श्रेष्ठ, नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार (२०७५) पहाडी र हिमाली क्षेत्रमा बोलिने मातृभाषा साहित्यका लागि अमर तुम्याहाङ, नेपाल प्रज्ञा मातृभाषासाहित्य पुरस्कार (२०७५) तराई–मधेशमा बोलिने मातृभाषा साहित्यका लागि अयोध्यानाथ चौधरी, नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार (२०७६) पहाडी र हिमाली क्षेत्रमा बोलिने मातृभाषा साहित्यका लागि अमृत योञ्जन तामाङ तथा नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार (२०७६) तराई–मधेशमा बोलिने मातृभाषा साहित्यका लागि अशोक थारुलाई प्रदान गरिएको थियो ।
राष्ट्रपति भण्डारीले कार्यक्रममा राष्ट्रिय कविता महोत्सव २०७६ का विजयी धादिङका हेम प्रभासलाई ३५ हजार रूपैयाँ, डोटीका सुभाषचन्द्र भण्डारीलाई २५ हजार, लमजुङका प्रज्वल अधिकारी, सोलुखुम्बुकी शान्ति शर्मा र काठमाडौंका प्रकाश बस्नेतलाई २० हजार रूपैयाँ राशि सहितको पुरस्कार प्रदान गरेकी थिईन् ।