साप्ताहिक संवाददाता
दक्षिण एसियाली खेलकुदमा प्राय: पुरुष फुटबल सबैभन्दा अन्तिममा हुने गर्छ र यसबाट प्राप्त हुने स्वर्णको महत्त्व बेग्लै हुन्छ । सन् २०१६ मा नेपालले पुरुष फुटबलमा स्वर्ण जित्दा यस्तै महत्त्व थियो, झन् त्यसमाथि त्यति बेला भारतीय भूमिमा नेपालले समग्रमा ३ स्वर्ण मात्र जित्न सकेको थियो । यसपल्ट नेपालले पुरुष फुटबलको फाइनल खेल्नुअगाडि नै ५० स्वर्ण जितिसकेको थियो, तर पनि यसपल्ट पनि प्राप्त स्वर्णको महत्त्व उत्तिकै रह्यो, अझ त्योभन्दा बढी ।
खासमा नेपालको स्वर्णको रक्षा अवसर बन्यो, यसपल्ट । फाइनलमा नेपालको प्रतिद्वन्द्वी थियो, भुटान । यस प्रकारले यो अस्वाभाविक थियो, किनभने भुटानी फुटबलले यसअघि यति धेरै ठूलो छलाङ कहिले पनि लगाएको थिएन, तर यो किन पनि स्वाभाविक रह्यो भने भुटानले पछिल्लो समय फुटबलमा खुबै प्रगति गरेको छ र यसको कारण भनेको त्यहाँको ग्रास रुट फुटबलमा प्रशस्त लगानी नै हो । दशरथ रंगशालामा भएको फाइनलमा नेपालाई भुटानबाट गाह्रो चुनौती भने पेस भएन ।
नेपाल २–१ ले विजयी रह्यो, यसमा गोल गर्ने खेलाडी थिए, अभिषेक रिजाल र सुनिल बल । नेपाल स्वर्णको हकदार पनि थियो । भारत खेल्न नआएपछि पाँच टिमको राउन्ड रोबिनमा परिणत भएको प्रतियोगितामा नेपाल नै एक मात्र यस्तो टिम रह्यो, जसले कुनै पनि खेल गुमाएन । नेपालले भुटानलाई सुरुमै ४–० हराएको थियो । त्यसपछि श्रीलंकासँग १–१ को बराबरी खेलेयता माल्दिभ्सलाई २–१ र बंगलादेशलाई १–० ले हराउन सफल रह्यो ।
स्वर्ण हात पारेपछि प्रशिक्षक बालगोपाल महर्जनले भने, ‘हामी किन सफल रह्यौं भने लगातार तयारी गर्न सक्यौं । हामीले पूरा प्रतियोगितामै कुनै पनि खेल गुमाएनौं । त्यसैले पनि स्वर्ण हाम्रै नाममा रह्यो ।’ यही सफलताका क्रममा महर्जनले प्रशिक्षक र खेलाडी दुवैका रूपमा सागको स्वर्ण जित्ने उपलब्धि आत्मसात् गरे । उनका दुई सहयोगी राजेश मानन्धर र मृगेन्द्र मिश्र दुवैले पनि प्रशिक्षक र खेलाडी दुवैको भूमिका स्वर्ण जिते ।
महिला फुटबलको कथा भने पुरानै
रह्यो । नेपाल फेरि एकपल्ट रजत पदकमै रोकियो र यसको एक मात्र कारण थियो, भारतलाई हराउन नसक्नु । अथवा भनौं निर्णायक मोडमा फेरि एकपल्ट भारतकै हातबाट पराजित हुनु । महिला फुटबल पोखरामा भएको थियो र त्यसमा भारतको पनि सहभागिता थियो । यस्तोमा तय थियो, स्वर्णका लागि भिड्ने भनेको यिनै दुई टिम हुन् । हुन पनि यस्तै भयो, नेपालले सहभागी अरू टिममाथि अपेक्षित जित
त निकाल्यो ।
तर भारतविरुद्धको खेलमा लगातार हार बेहोर्यो । लिग चरणको अन्तिम खेलमा नेपाल पराजित रह्यो, फाइनलमा पनि नेपालले उही भारतसँगै हार आत्मसात् गर्नुपर्यो । यो कति नमीठो हार थियो भने खेल सकिएलगत्तै नेपाली टिमका प्रशिक्षक हरि खड्काले राजीनामा दिए । त्यति मात्र होइन, केही सिनियर खेलाडीले संन्यासको घोषणा पनि गरे । उनीहरू कसैले पनि भारतलाई हराएर स्वर्ण जित्ने सपना पूरा गर्न सकेनन् ।