साप्ताहिक संवाददाता
राम्रो गायक–संगीतकर्मीलाई स्टार हुन न त रेडियो नेपाल धाउनुपर्ने बाध्यता छ, न त अन्त कतै जागिर खोज्नुपर्ने आवश्यकता नै । क्यासेट बनाएर श्रोता–दर्शककहाँ पुर्याउने भन्ने चिन्ता त एकादेशको कथाजस्तो भइसकेको छ ।
झन्डै ५० वर्ष पुग्न लागेछ, शम्भुजित बाँस्कोटा संगीत कर्ममा लागेको । उनले रेडियो नेपाल छिरेर पहिलो गीत ‘कुन सहरमा छौ मायालु...’ गाएको ठ्याक्कै २०२८ सालमा हो । त्यसअघि पनि उनी विभिन्न मञ्चहरूमा संगीतकर्म गरिरहेका भेटिन्थे । यद्यपि पहिलो गीत गाएपछि उनी श्रोतासँग जोडिए ।
‘लक्ष्मीले साथ नदिएको सरस्वतीले साथ दिएको समय थियो त्यो,’ ६२ वर्षीय बाँस्कोटा त्यो बखत सम्झन्छन्, ‘राम्रा कलाकार, राम्रो साधनाबाट आएका उपासकहरू थिए ।’
गायक तथा संगीतकर्मीहरू कोही रेडियो नेपालमै आबद्ध थिए, कोही जीविकोपार्जनका लागि अन्ततिर जागिर गर्थे । तर, साधनाका रूपमा संगीतकर्मलाई अँगाल्थे । व्यावसायिक रूपमा गायक वा संगीतकार बनेर हातमुख जोर्न धौ–धौ पर्ने समय थियो । यति हुँदाहुँदै पनि जागिरे बनेरै भए पनि बाँस्कोटाले जीवनभर संगीतकर्मलाई निरन्तरता दिइरहे । कसरी ? भन्छन्, ‘माहौलले नै मलाई जिन्दगीभर यसैमा तानिरह्यो । संगीत सिर्जनालाई श्रोताले दिएको ‘वाहवाही’ले निरन्तर डटिरहन ऊर्जा दिने काम गर्यो ।’
नेपालका कुना–कन्दराबाट मात्र होइन, दार्जीलिङ र सिक्किमतिरबाट पनि ‘क्या मीठो गाना, कति मीठो संगीत’ भन्दै उनका फ्यानहरू फुर्काउँथे । त्यही नै उनका लागि यसैमा डटिरहने ऊर्जा बन्थ्यो । पछि क्रमश: चलचित्र र टेलिभिजन हुँदै संगीत बजार व्यावसायिकतातर्फ फड्को मार्दै गयो । सुगम, आधुनिक र सबै खाले संगीतमा उनका कालजयी सिर्जनाले अथाह प्रेम पाए ।
‘के घर के डेरा’बाट सुरु भएको उनको चलचित्र संगीत र गायन लभ स्टेसनसम्म आउँदा ३ सय ६७ चलचित्र पुगिसकेको छ । त्यसबाहेक उनका विभिन्न सांस्कृतिक, राष्ट्रभक्ति, प्रेमभाव भरिएका थुप्रै कालजयी गीत नेपाली समाजलाई दिएका छन्, ‘निधारैमा लर्काएर’, ‘तिहारै आयो’, ‘गैरी खेत’ जस्ता धेरै छन् ।
संगीतमा अविराम लागेका बाँस्कोटालाई नेपाली संगीतको पछिल्लो अवस्था कस्तो लागिरहेको छ ? ‘विकास र सडकजस्तै हो । त्यतिबेलाको अर्गानिक, मौलिकता र वातावरणीय सुन्दरता बेग्लै थियो,’ उनी सांकेतिक जवाफ फर्काउँछन्, ‘अहिलेको विकासको बेग्लै रमाइलो छ । त्यो बेला रेडियो नेपाल कुद्नुपर्ने, मन परेको गीत सुन्न फुर्माइस कुरेर बस्नुपर्ने र क्यासेट खोज्नुपर्ने समय थियो ।’
बाँस्कोटाले भनेजस्तै अहिले नेपाली सांगीतिक आकाशमा धेरै परिवर्तन देखा परेका छन् । राम्रो गायक–संगीतकर्मीलाई स्टार हुन न त रेडियो नेपाल धाउनुपर्ने बाध्यता छ, न त अन्त कतै जागिर खोज्नुपर्ने आवश्यकता नै । क्यासेट बनाएर श्रोता–दर्शककहाँ पुर्याउने भन्ने चिन्ता त एकादेशको कथाजस्तो भइसकेको छ । गीत सुन्न न क्यासेट किन्नुपर्छ, न त कसैको फर्माइस नै कुर्नुपर्ने जमाना रह्यो । सूचना–प्रविधिको तीव्रतर विकास, बढेको व्यावसायिकतासँगै अहिले सोसल मिडियाको युग सुरु भएको छ । संगीत बजारमा थुप्रै रियालिटी शोले रातारात स्टार जन्माइरहेका छन् । तर, संगीतमा देखिएका यी वैभवशाली विकासका बीच पनि नेपाली संगीतमा केही ‘मिस’ भइरहेको छ, खट्किरहेको छ । फेसबुक र सोसल मिडियामार्फत स्टार गायक जन्माइने अहिलेको पुस्ताका गायक/गायिका र संगीतकर्मीहरूका लागि टड्कारो प्रश्न खडा भइरहेको छ— अहिलेका गीत–संगीत किन कालजयी हुन सकेनन् ? संगीतको मौलिकता कता हरायो ?
केही अग्रज कलाकारहरू सांगीतिक क्षेत्रमा कलाकारको बाढी र सर्जकमा साधनाको अभावका कारण यो अवस्था आएको बताउँछन् । यस्तो धारणा राख्नेमध्येका एक हुन्— पुराना गायक प्रेमध्वज प्रधान । उनका अनुसार, असीमित कलाकार र पैसाको चलखेल हुन थालेपछि सिर्जना दिगो हुन सकेन । ‘हिजो जति गीत बन्थे, सीमित बन्थे र राम्रा बन्थे, उत्कृष्ट सिर्जनामात्र हिट हुन्थे तर अहिले दिनमै सयौं गीत निस्कन्छन् कसको कुन गीत निस्कियो पनि पत्तो हुँदैन ।’ उनी भन्छन्, ‘नराम्रा गीत–संगीतलाई पैसा खर्चेर हिट हुने भएकाले गर्दा राम्रा सिर्जनाले स्थान पाएनन् ।’
सांगीतिक, कलात्मक हिसाबले नेपाली संगीतलाई हिजो नारायण गोपाल, अमर गुरुङ, नातिकाजी, भक्तराज आचार्य, प्रेमध्वज प्रधान, दीपक खरेल, शम्भुजित बाँस्कोटा, यादव खरेलका गीत–संगीत सदावहार मानिन्छन् । त्यो पालामा नेपाली संगीत भनेपछि आहा ! भन्ने हुन्थ्यो । यद्यपि आज शास्त्रीय, लोक होस् या सुगम संगीतमा प्रतिभा जन्मिन सकेनन् ।
गीतकार तथा सञ्चारकर्मी रमण घिमिरे सांगीतिक क्षेत्रका मानिसहरू व्यावसायिक भएका कारण यस्तो अवस्था आएको बताउँछन् । ‘हरेक कुरामा पैसाको चलखेल हुन थाल्यो,’ उनी भन्छन्, ‘त्यो बेलाका साधकहरू गीत–संगीतलाई सौखका रूपमा लिन्थे । उनीहरूको जीवन धान्ने व्यवसाय, पेसा अरू कुनै हुन्थ्यो । तर, अहिले व्यवसाय नै संगीत भएपछि अब जे गरेर भए पनि बाँच्न त पर्यो, जसका लागि संगीत बेच्नुपर्यो । बेच्दा सधैं राम्रो चिज उत्पादन हुन्छ भन्ने छैन । त्यसैले यसको कला पक्ष कमजोर भयो ।’ घिमिरे अहिले गीतहरू रातारात मेसिनले पत्रिका छापेजस्तो गरेर आइरहेको बताउँदै त्यसको गुणस्तरमा ध्यान नदिएको गुनासो गर्छन् ।
नेपाली सांगीतिक क्षेत्रमा जति पनि गीत–संगीत आउँछन्, जसले छोटो समयमै सांगीतिक बजारमा हलचल मच्चाउँछन् र त्यति नै छोटो समयमा हराइहाल्छन् । यसको मतलब हो, सर्जकहरू मेहनत गर्दैनन् र हतारमा चर्चा कमाउन अभ्यस्त छन् । अग्र्यानिक स्वाद नहुँदा पनि चटपटे शैलीमा त्यस्ता गीतहरू हराइहाल्छन् ।
पछिल्लो पुस्ताका कलाकारले साधनामा केन्द्रित नभएकाले नेपाली संगीतको अवस्था बिग्रँदै गएको सर्जक एकनारायण भण्डारी बताउँछन् । ‘नेपाली मूल संगीतको एउटा धार छ तर अहिले हरेक संगीतमा फ्युजन गराउन थालियो,’ भण्डारी भन्छन्, ‘लोकसंगीतलाई अंग्रेजी संगीत, भारतीय संगीतसँग फ्युजन गराउन थालेपछि मौलिकता कहाँ रहन्छ ?’ यो अवस्था आउनुको कारण कलाकारमा साधनाको कमी हुनु हो । भण्डारी थप्छन्, ‘हिजो एउटा गीत–संगीतको सिर्जना गर्न महिनौं लाग्थ्यो, तर अहिले एउटा गीत तयार हुन एक साता पनि ढिलो हुन थालिसक्यो अनि कहाँ सिर्जना राम्रा हुन्छन् त !’
नेपाली संगीत दुई प्रकारका प्रवृत्ति देखिएको बताउँछन्, कला विश्लेषक प्रकाश सायमी । उनका अनुसार टेम्पोररी र कन्टेम्पोररी अहिले नेपाली संगीतमा देखिएका दुई अलग प्रवृत्ति हुन् । ‘टेम्पोररी संगीत बिग्रियो भने त्यो ट्रयास म्युजिक हुने हो । संगीतले त श्वास फेरेजस्तो आनन्द अनुभूति दिनुपर्ने हो, तर श्वास फेरिए पनि श्वास फेर्न गाह्रो भइरहेको अवस्थामा अहिलेको नेपाली संगीत पुगेको छ,’ उनी भन्छन् ।
नेपाली संगीतको विकासक्रमको हिसाबले २०२० देखि २०४० सम्मको समयलाई संगीतको स्वर्णिम युग मानिन्छ, तर अब धमिलो युग आएको सायमी बताउँछन् । यसरी नकारात्मक ढंगले सांगीतिक युग परिवर्तन हुँदै जाँदा भविष्यमा यसले एकदमै राम्रो गर्छ कि त यसपछि निकै नराम्रो गर्ने उनको धारणा छ ।
गीतकार राजेन्द्र थापा आधुनिक संगीत भनेको आजको संगीत हो र यो यतिबेला यही आजमा नै रहेको बताउँछन् । ‘संगीत आजकै गतिमा आजकै समाज, मानिस र साथीसंगीले बनेको छ,’ थापा भन्छन्, ‘आजको संगीत हिजोकोजस्तो छैन भनेर केही व्यक्ति बोलिरहन्छन्, तर उनीहरू पनि हिजोको आफ्ना आमा–बाजस्ता छैनन् नि । उनीहरूको सोच, पहिरन, खानपिन आजको जस्तो भएपछि संगीत पनि आजको जस्तो हुँदैन र ?’ आज नेपाली संगीतले हिन्दी संगीतलाई विस्थापित गर्नु नेपाली संगीतको ठूलो प्रगति भएको थापाको धारणा छ ।
संगीतका शास्त्रीहरूका अनुुसार संगीतमा पाँच युग आउँछन्, जसअन्तर्गत क्रमश: धुन, धुम, ध्वनि, घुन र धूलोको युग पर्छन् । यद्यपि नेपाली संगीत भने यी युग पार नगरी अन्यत्र लागेको संगीत विश्लेषकहरूको बुझाइ छ । संगीत प्रवीण नरराज ढकालले आफूलाई भनेको कुरा स्मरण गर्दै सायमी थप्छन्, ‘संगीत जान्न सारेगमपधनि सातवटा नोट जान्नुपर्छ, तर नेपाली संगीतमा एउटा यस्तो चरण आउँदैछ जसमा अगाडिको केही जान्नु पर्दैन । पछिको ध र नि जाने पुग्छ । धनी भयो भने गायक, संगीतकार, गीतकार सबै बन्छ ।’
कलाका विविध क्षेत्र छन्, जसमा प्रविधिको उचित प्रयोगले ती क्षेत्रको समृद्धिमा बल पुर्याएको छ ।
यद्यपि, संगीतमा जसरी प्रविधिले सकारात्मक प्रभाव पारिरहेको छ, त्यसरी नै केही नकारात्मक प्रभाव छाड्दै गएको छ । गायक तथा संगीतकर्मीहरूको एक्स्पोक्जर, कमाइ, श्रोतासँगको सहज पहुँचजस्ता कुरा अहिलेको समयका वरदान हुन् । यति हुँदाहुँदै पनि प्रविधिको अनुचित प्रयोगले यसको मर्म गिर्दै गएकोतर्फ भने कसैको ध्यान गएको छैन । प्रविधिको प्रयोगले कला र गला नभएकाहरूको ठूलो जमातलाई संगीत क्षेत्रमा हुलेको छ । कतिपय पुराना संगीतकर्मीको स्वर काम्न थालिसक्यो । तैपनि उनीहरू अझै सांगीतिक क्षेत्रमा सक्रिय छन् र अडियो ट्युनमा गाएर गीत रेकर्ड गराइरहेका छन् । संगीतै नसिकी आँसु बेच्ने र भाइरल प्रवृत्तिले पनि नेपाली संगीतको उन्नयनमा बाधा पुगेको देखिन्छ ।
प्रविधिले अवसरका बहुमार्ग खोल्छ । पुराना सामग्रीको बदलामा नयाँ सामग्री र थप विकल्पहरू दिन्छ । संगीतमा पनि यही भइरहेको गीतकार थापा बताउँछन् । उपकरणबाट विश्वभरका वाद्यहरूको उपयोग गर्न सहज छ, जसले गर्दा यसलाई सकारात्मक ढंगले हेर्नुपर्ने थापाको बुझाइ छ । ‘हिजोका बिलौनावादीहरू आजको सुविधाले पुरानो यो खोस्यो त्यो खोस्यो भनेको सुनिन्छ,’ थापा भन्छन्, ‘आजले हिजो खोस्नु नै प्रकृति हो प्रगति हो । आजको प्रविधि उपयोग गरेर आजको समयमा पनि हिजोकाले अग्रपंक्तिमा त्यो ज्ञानलाई आजको समयमा मिसाएर जनमनलाई छुन सकेर आफ्नो क्षमता देखाउनुपर्छ ।’ तर, हातमै उपलब्ध कतिपय अवसरको फाइदा लिन हाम्रा गायक तथा संगीतकर्मीहरू चुकेका छन् ।
‘आजको संगीत अन्धकार लाग्छ भने सीएफएल बालेर उज्यालो देखाउ न भन्दै,’ थापा आक्रोश पोख्छन् ।
नेपाली संगीतमा पछिल्लो समय गुणात्मकभन्दा पनि संख्यात्मक आधारलाई लिएर अघि बढ्नेहरू थुप्रै छन् । यद्यपि उनीहरूको संगीतलाई कसले कति सुनेको छ र आफ्ना गीत–संगीत कालजयी हुन्छन् वा हुँदैनन् भन्नेतर्फ सर्जकको ध्यान पुगेको देखिँदैन । हिजो १ सय ३७ गीत गाएका नारायण गोपालले आज हजारौं गीत गाउनेलाई जितिरहेको सायमी बताउँछन् ।
‘नारायण गोपालजस्तै ३४ वटा गीत गाउने बच्चुकैलाश, २६ वटा गीत गाउने अरुण थापा यति धेरै लोकप्रिय छन्,’ सायमी भन्छन्, ‘अहिलेका गायक–गायिका ५/६, हजारवटा गीत गाएँ भन्छन् तर तिनीहरूको गीत नै सुनिएको हुँदैन । अहिले त यहाँ नग्न छाती र तीघ्रा प्रदर्शन गर्यो, गीत गायो नाच्यो जसले गर्दा संगीतलाई एउटा तमासाको बजार बनाइदियो ।’ उनलाई चिन्ता छ, ‘भविष्यमा बाबुआमाले आफ्ना छोराछोरीलाई संगीतमा ल्याउलान् कि नल्याउलान् भन्ने डर भयो ।’
नेपाली संगीतको स्वर्णिम कालमा जुन खालका गीत–संगीत आएका थिए । त्यस्ता सिर्जना अहिले आउन सकेका छैनन् । पछिल्लो समय सञ्चारमाध्यमको व्यापकताले राम्रो सिर्जना आउन बाधक बनेको संगीतकर्मीहरू बताउँछन् । पहिला एउटा रेडियो नेपालमात्र थियो । त्यसमा गीत गाउन स्वर परीक्षा पास गर्नुपथ्र्यो, जसले गर्दा त्यतिबेलाका गायन क्षेत्रमा आउनेले राम्रो सँग संगीत सिकेर मात्र आउनुपथ्र्यो । यद्यपि अहिले त्यो अवस्था छैन । अहिले कुनै व्यक्तिलाई गायक बन्न मनलाग्यो भने एउटा स्टुडियोमा गएर गाए हुन्छ, प्रविधिले बेसुरलाई पनि सुरमा ल्याइदिन्छ । त्यसैले प्रविधिको विकासले गर्दा गायन क्षेत्रमा आउनेले संगीतको अध्ययन गर्न छाडेको रमण घिमिरे बताउँछन् ।
अझै सांगीतिक क्षेत्रको आर्थिक पाटो पनि दयनीय नै छ, जसले गर्दा स्रष्टा र सर्जकहरूलाई बाँच्न चुनौती थपिएको गीतकार थापा बताउँछन् । ‘संगीतको लगानी र सिर्जना स्रष्टाको छ तर सम्पत्तिको अधिकार उत्पादकको हातमा छ । आम्दानी पनि यिनैको हातमा छ ।’ उनी भन्छन्, ‘अर्बाैंको आम्दानी एक सुका पनि खर्च नगर्ने कम्पनीले खाइरहेका छन्, दर्जनौं डिजिटलमाध्यमबाट हाम्रा गीतको आम्दानी सोर्छन् तर हामीलाई जिरो ।’ त्यसो त यतिबेला नेपाली सांगीतिक क्षेत्रमा देश विदेशमा मेलामा गाउने केही हिट कलाकारमात्र बाँच्न सफल भएका छन् भन्ने थापाको धारणा छ । रोचक त के छ भने कतिपय मानिसमा पैसा कमाइसकेपछि गायक बन्ने धुन चढेको पनि पाइन्छ । यसले कर्पोरेट कल्चरले संगीतको मर्मलाई कसरी थिच्दै गएको छ भन्ने देखाउँछ । ‘धन्यवाद विदेशमा केही कमाएपछि गीत रेकर्डिङ गराउने गीतकारहरूलाई । यिनकै सोखले सबै स्टुडियो, प्राविधिक, वादक, एरेन्जर, संगीतकार र केही सिंगरहरूले दैनिक नोट छाप्छन्,’ थापा व्यंग्य गर्छन्, ‘यिनीहरू बन्द हुने बित्तिकै ९० प्रतिशत कोल्याप्स हुन्छन् ।’