साप्ताहिक संवाददाता
कुनै समय थियो, जति बेला नेपाली खेलकुदमा सबैभन्दा लोकप्रिय र सफल खेलमा पथ्र्यो, बक्सिङ । दक्षिण एसियाली खेलकुदमा मात्र होइन, एसियाली खेलकुदमै पनि पदक भित्रिने खेल थियो यो । तर, पछिल्लो समय यसले आफ्नो साख कायम राख्न सकेन । यसको लोकप्रियता मात्र ओरालो लागेन, बरु यसका खेलाडीले पाउने सफलता पनि कमजोर हुन थाल्यो । यस्तोमा १३ औं दक्षिण एसियाली खेलकुद नै एक मात्र यस्तो अवसर थियो, जहाँ पुरानो इतिहास फर्काउन सक्ने अवस्था थियो ।
यसको एउटा कारण त प्रतियोगिता आफ्नै भूमिमा भइरहेको थियो, तर यो सजिलो काम पनि थिएन, किनभने भारतले प्रतियोगितामा आफ्नो बलियो टिम उतारेको थियो । त्यसैले भारतलाई उछिन्न सकिएन भने स्वर्ण पदक जित्ने आस कमजोर हुने थियो । यी सबैबीच नेपालले ३ स्वर्ण जित्यो । नेपालले अन्तिम पटक सन् १९९९ मै काठमाडौंमा भएको दक्षिण एसियाली खेलकुदकै बेला स्वर्ण जितेको थियो । त्यसपछि नेपाल बढीमा रजत पदकमै सीमित रह्यो ।
नेपालको यो सफलता पछाडि एउटा कारण प्रतियोगिता अगाडि थाइल्यान्डमा बिताएको दुई महिना पनि रह्यो । त्यसैले नेपालले यसपल्ट बक्सिङबाट ३ स्वर्ण मात्र होइन, ६ रजत र ६ नै कांस्य पनि जित्न सफल रह्यो । प्रशिक्षक प्रकाश थापामगरको भनाइलाई आधार मान्ने हो भने यो सन्तोष मान्न मिल्ने उपलब्धि नै हो ।
मीनु गुरुङ
नेपाली बक्सिङमा मीनु गुरुङको नाम धेरै पछिसम्म पनि सम्झिने छ, किनभने उनी नै त्यस्तो पहिलो महिला बक्सर भएकी छिन्, जसले दक्षिण एसियाली खेलकुदमा पहिलो स्वर्ण जितिन् । त्यसो त उनी नेपालका अनुभवी खेलाडी नै थिइन् । पछिल्लो सागमा पनि उनी सहभागी थिइन् र कांस्य पदकमै सीमित भइन् । त्यही बेला उनले ईख साँचेका थिए, स्वर्ण जित्न । यसपल्ट उनी आफ्नो सपना पूरा गर्न सफल रहिन् । महिला ५४ केजीमुनिको तौल समूहमा उनले हराइन्, भारतकी शिक्षालाई लगभग सजिलै हराइन् ।
भूपेन्द्र थापा
पुरुष बक्सिङमा स्वर्ण पदकको खडेरीलाई अन्त्य गर्ने काम गरे, भूपेन्द्र थापाले । सन् १९९९ मा नेपालले अन्तिम पटक पुरुषतर्फको विधामा स्वर्ण जितेको थियो । त्यसयता दुई दशक बितिसकेका छन् र अहिले त्यसबाट नयाँ इतिहास रच्ने काम गरे, भूपेन्द्रले । उनको पनि फाइनल प्रतिद्वन्द्वी भारतीय नै थिए, मनिष कौशिकका रूपमा । उनले यो सफलता ६४ केजीमुनिको तौल समूहमा प्राप्त गरेका हुन् । उनले नजितेको भए, डर थियो, कतै भारतीय खेलाडीको एकछत्र राज हुने त होइन ?
सनिल शाही
नेपाली बक्सिङका सबैभन्दा कान्छा खेलाडीमा पर्छन्, सनिल शाही । उनी नै नेपालका लागि ५० औं स्वर्ण दिलाउने खेलाडी रहे । भर्खर २१ वर्ष छोएका सनिलले स्वर्णका लागि भएको ६० केजी तौलमुनिको भिडन्तमा भारतका वरिन्दर सिंहलाई हराएका हुन् । उनका भारतीय प्रतिद्वन्द्वी खेलाडी निकै अनुभवी र बलिया थिए, तर घरेलु समर्थक अगाडि सनिलले चलाखीपूर्ण प्रदर्शन गरे ।