साप्ताहिक संवाददाता
यसपल्टको दक्षिण एसियाली खेलकुद सुरु हुनुअगाडि सबैभन्दा कम चर्चा पाएको खेल थियो— एथलेटिक्स । यसको स्पष्ट कारण पनि थियो, एथलेटिक्सबाट पदक आउने सम्भावना कम थियो । प्रतिस्पर्धा सुरु हुनु ठीक अगाडि खेल आफैं गलत कारणले चर्चामा आयो । महिला ४ सय मिटर दौडकी खेलाडी तुलसा खत्री टिम छाडेर कतारमा पलायन भइन् । यसअघि व्यक्तिगत कारणले कृष्ण बस्नेतले पनि म्याराथनबाट आफ्नो नाम फिर्ता लिए ।
यी दुवै खेलाडीबाट पदकको आस थियो । यस्तोमा नेपाली एथलेटिक्समा एक प्रकारको निराशा छाएको थियो, तर जति बेला प्रतिस्पर्धा सुरु भयो, एथलेटिक्सले नेपाली खेलकुदका लागि राम्रै समाचार दियो । नेपालले एथलेटिक्सबाट समग्रमा ३ स्वर्ण, १ रजत र ४ कांस्य हात पार्न सफल रह्यो । सबैभन्दा पहिले स्वर्ण पदक दिलाउने खेलाडी थिइन्, महिला १० हजार मिटर दौडमा सन्तोषी श्रेष्ठ । यसलाई नेपाली एथलेटिक्सले आत्मसात् गरेको अहिलेसम्मकै सबैभन्दा ठूलो सफलतामध्ये एक मान्न सकिन्छ ।
कुनै पनि ठूलो अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले स्वर्ण जितेको यो नै पहिलो पल्ट हो । एथलेटिक्सबाट प्राप्त दोस्रो स्वर्ण गोपीचन्द्र पार्कीको नाममा रह्यो । उनले पुरुष ५ हजार मिटरमा दौडमा स्वर्ण जिते । पुरुषतर्फ यसअघि एथलेटिक्सले दक्षिण एसियाली खेलकुदमा जितेका पाँच स्वर्ण सबै म्याराथनबाट थियो । सन् २००६ को कोलम्बो सागमा नेपालका लागि राजेन्द्र भण्डारीले मध्यम लामो दूरीको दौडमा २ स्वर्ण जिते पनि त्यो पछि खोसियो ।
राजेन्द्र शक्तिवद्र्धक प्रतिबन्धित औषधी प्रयोग गरेको आरोपमा समातिए ।
यस्तोमा गोपीचन्द्रको स्वर्ण पनि ऐतिहासिक रह्यो । उत्तिकै उल्लेखनीय पदक म्याराथनबाट प्राप्त भयो । सन् १९९५ मा टीका बोगटीले मद्रासमा जितेको स्वर्ण नै म्याराथनबाट प्राप्त अन्तिम थियो । राजेन्द्रले नै सन् २०१० मा यसै विधामा स्वर्ण त जिते, तर पछि यसलाई रोड रेसको मात्र मान्यता दिइएको थियो । यस्तोमा किरणसिंह बोगटीले यस विधाबाट प्राप्त स्वर्णको अलगै महत्त्व रह्यो । महिला म्याराथनमा पुष्पा भण्डारीको रजत पनि उत्तिकै ऐतिहासिक रह्यो ।
सन्तोषी श्रेष्ठ
दशरथ रंगशालामा भएको महिला १० हजार मिटर दौडको अन्तिम २५ मिटरसम्म अगाडि थिइन् । लागिहेको थियो, अब स्वर्ण आउने भयो । तर अप्रत्याशित रूपमा सन्तोषीलाई भारतकी कविता यादवले उछिनिन् । कविताले सन्तोषीको बाटो छेक्ने प्रयास पनि गरिन् । तर फोटो फिनिसका रूपमा सकिएको दौडमा सन्तोषी नै पहिलो भइन् । सन्तोषीले कवितालाई उछिनेको समय मिलिसेकेन्ड मात्र रह्यो । उनले निकालेको समय थियो, ३५ मिनेट ७ दशमलव ९४ सेकेन्ड ।
गोपीचन्द्र पार्की
पुरुष ५ हजार मिटर दौडमा गोपीचन्द्र पार्कीले सुरुदेखि अग्रता कायम राखेका थिए र त्यसलाई अन्त्यसम्म कायम राख्न पनि सफल रहे । त्यो अर्थमा उनले मज्जाले दौड जिते । कोलम्बो सागमा राजेन्द्र भण्डारीको स्वर्ण पदक खोसिँदा उनलाई लागेको थियो, जे जति भयो राम्रो भएन । त्यही बेला उनले राजेन्द्रको ५ हजार मिटर दौडमा खोसिएको पदक फिर्ता ल्याउने सपना बुनेका थिए । उनले यसपल्ट दौड १४ मिनेट ४४ दशमलव ३४ सेकेन्डमा पूरा गरे ।
किरणसिंह बोगटी
म्याराथनमा पहिलो रोजाइका खेलाडीको अनुपस्थितिमा नेपालले पदकको आस पनि गरेको थिएन् । किरणसिंह बोगटीका रूपमा नेपालले दोस्रो रोजाइका खेलाडी उतारेको थियो । कसैले छाडेको अवसर कसैका लागि उसको जीवनको सबैभन्दा निर्णायक मोड हुनसक्छ । किरणसिंहका लागि पनि यस्तै भयो । उनले ४२ दशमलव १३५ किलोमिटर लामो दौडमा सुरुदेखि अग्रता लिए र त्यसलाई अन्त्यसम्म कायम राखे । उनले निकालेको समय दुई घण्टा २१ मिनेट १७ सेकेन्ड रह्यो ।