साप्ताहिक संवाददाता
नेपाली कथानक चलचित्र ‘नीरफूल’ आगामी फागुन ३० गतेबाट अल नेपाल रिलिज हुने भएको छ । यस अघि यो चलचित्रले गत भदौ २७ गतेलाई रिलिज मिति तय गरेको थियो । तर, चलचित्र पोस्ट प्रोडक्सनको ढिलाइका कारण चलचित्र रिलिज हुन सकेको थिएन । अब भने चलचित्रको नयाँ रिलिज मिति घोषणा गरिएको छ ।
भूकम्पका कारण विछोडिएको एक परिवारको प्रेमकथामालाई केन्द्रमा राखेर निर्माण गरिएको यो चलचित्र सञ्चारकर्मी फूलमान वलले निर्देशन गरेका हुन् । गणेश हिमाल क्षेत्रमा पर्ने रुबी भ्याली र काठमाडौंमा छायांकन गरिएको चलचित्रमा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी लगायतका कलाकारले अभिनय गरेका छन् ।
यो चलचित्रमा अभिनेत्री रेखा थापाले विशेष भूमिका निर्वाह गरेको निर्देशक वलले बताएका छन् । रंगकर्मी शान्ति वाइबाको भने यो डेब्यू चलचित्र हो । यसै चलचित्रबाट ठूलो पर्दामा देखिन लागेकी वाइबा चलचित्रमा दयाकी जोडी बनेर प्रस्तुत हुने छिन्
चलचित्रको पटकथा निर्देशक वल स्वयं र सचिन घिमिरेले लेखेका हुन् भने सचिन एशोसिएट निर्देशकको रुपमा पनि छन् ।