आम सर्वसाधारण होस् वा नेता, कलाकार, खेलाडी, साहित्यकार सबैलाई संगीतले बाँधिराखेकै हुन्छ । यो वा त्यो मानिसहरू केही न केही गीत–संगीत सुनिरहेकै हुन्छन् । भाव आउने गरी मन परेको परिवेशमा केही न केही गुनगुनाइरहेकै हुन्छन् ।
काठमाडौं के सुनिरहेको छ ? कानमा ठोसिएको एयरफोन, हातको मोबाइल, क्याफेमा मन्द आवाजमा घन्किरहेको स्पिकर, कुदिरहेका गाडी र अफिसका कम्प्युटरमा के घन्किरहेको छ ? ठ्याक्कै एउटै जवाफ पाउन मुस्किल छ । स्वाद, परिस्थिति, उमेर, समय र वातावरणअनुसार यसमा विविधता भेटिन्छ । यति हुँदाहुँदै पनि आखिर काठमाडौं के सुनिरहेको छ ? संगीतप्रेमीहरू कुन स्वादमा रमाइरहेका छन् ?
‘म त चौबीसै घण्टा संगीत श्रवण गरिरहेको हुन्छु,’ व्यवसायी राजेन्द्र खेतान भन्छन्, ‘के गाडी के घर सबैतिर ।’ उनी मुडअनुसार आफूले सुन्ने संगीत छनोट गर्छन् ।
उनको हरेक कोठामा ब्लुटुथ स्पिकर छन् । त्यसमा केही न केही संगीत घन्किरहेकै हुन्छ । संगीतकै लागि भनेर उनले छुट्टै मोबाइल नै बोक्ने गर्छन् । ‘शब्दबिनाको नेपाली इन्स्ट्रुमेन्टल संगीत, पुराना हिन्दी गीतहरूको ट्युन निकै सुन्छु,’ उनी आफ्नो संगीत स्वाद प्रस्ट्याउँछन्, ‘म्युजिक भनेको सजिलो–असजिलो परिस्थितिमा मानसपटललाई शीतलता प्रदान गर्ने र खुराक दिने माध्यम हो ।’ खेतान व्यावसायिक धपेडी र तनावलाई कम गर्न पनि संगीतको समीप पुगिरहन्छन् । आफूले कन्टेन्टभन्दा भन्दा पनि संगीतको मधुरतालाई बढी ध्यान दिने उनी बताउँछन् ।
व्यवसायी खेतानजस्तै सेलिब्रेटी बैंकर अनिलकेशरी शाहको जीवनमा पनि संगीतको छुट्टै स्थान छ । अहिले पनि उनी कलेज जीवनमा सुन्ने पुराना अंग्रेजी गीतहरू सुनेर त्यो बेलाका यादहरूलाई जीवन्त बनाइरहेका हुन्छन् । नेपाली गीत–संगीतमा ‘रातो र चन्द्र सूर्य’, ‘यो मन त मेरो नेपाली हो’ जस्ता राष्ट्रभावले ओतप्रोत गीतहरू उनलाई बढी मन पर्छन् । जिम र ड्राइभमा रहँदा बढी गीत सुन्ने बंैकर शाहसँग दर्जनौं गीतको कलेक्सन छ । ‘जिममा म मोबाइलमा हेडफोन प्रयोग गरेर गीत सुन्छु,’ उनी भन्छन् । गायिका इन्दिरा जोशीका गीतहरू पनि उनलाई मन पर्छन् ।
युवा साहित्यकार सुविन भट्टराईलाई सुनौं न । उनको बढी रोजाइमा पर्ने संगीतमा लोकगीत पर्छन् । ‘गलबन्दी’, ‘सालको पात टपरी’जस्ता लोकगीतहरू बढी सुनिरहेको हुन्छु,’ ३० को दशकमा हिँडिरहेका उनी भन्छन्, ‘फ्यामिलीसँग हुँदा, ट्राभलमा रहँदा मुडअनुसार क्लासिक, आधुनिक र चलचित्रका गीतहरू पनि सुन्छु ।’ कपनमा बसोबास गर्दै आएका उनी पुराना गीतहरू पनि सुनिरहेका हुन्छन् । मुड बनाउनका लागि गीत सुन्ने उनी गाडीमा लामो तथा छोटो यात्रामा निस्कँदा पनि गीतहरू बजाइरहेका हुन्छन् । ‘त्रिशूली बगेर’जस्ता डान्सिङ गीतहरू पनि मन पर्छन्,’ उनी थप्छन्, ‘नाचूँ–नाचूँ लाग्ने खालका गीतहरू बढी मन पर्छन् ।’
आरोही शर्मा पछिल्लो पुस्ताकी अभिनेत्री हुन् । काठमाडौंकै सहरिया परिवेशमा जन्मे–हुर्केकी आरोहीको पनि संगीतमा आफ्नै बेग्लै च्वाइस छ । आरोही भन्छिन्, ‘मलाई मुडअनुसार आधुनिक र लोकगीतहरू मन पर्छन् ।’ राति सुत्ने बेला, वाकिङमा र वर्कआउटमा रहँदा उनको सबैभन्दा नजिकको साथी नै संगीत बनिदिन्छ । प्राय:जसो उनी मोबाइलबाट गीतहरू सुन्ने गर्छिन् ।
आम सहरी युवापुस्ताकी प्रतिनिधि पात्र रोशनी केसीलाई नै हेरौं न । उनी पप गायक सबिन राईको ‘तिमी नै हौ...’ सुनिरहेकी छन् । २६ वर्षीया रोशनीका लागि भर्चुअल वल्र्ड अझ बढी अप्सनको कारण बनेको छ । त्यसैले त उनी सविनसँगै बलिउडका गायक जगजित सिंहको ‘कोइ फरियाद...,’ र लेडी गागा र ब्राड्ली कोपरको ‘स्यलो...’ पनि सुनिरहेकी हुन्छिन् । ‘म यी गीतहरू दोहोर्याएर सुनिरहन्छु,’ त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्रमा स्नातकोत्तर पढिरहेकी उनी भन्छिन्, ‘मोबाइलमा झन्डै ५० भन्दा बढी गीत छन्, युट्युबबाट मुडअनुसार अरू गीतहरू पनि बजाइरहेकी हुन्छु ।’ ट्राभलमा पनि उत्तिकै सौखिन उनी हालै तिलिचो पुगेर फर्किएकी छन् । फुर्सद होस् वा नहोस्, उनी संगीतसँगै रमाइरहेकी हुन्छिन् ।
संगीतप्रेम जो–कसैमा देखिन्छ । राजनीतिज्ञहरू पनि संगीतमा रमाइरहेका भेटिन्छन् । १९ मंसिरमा अस्पतालबाट डिस्चार्ज भएका मुलुकका कार्यकारी प्रमुख प्रधानमन्त्री केपी शर्मा ओलीको बेला–बेलामा संगीतमोह झल्किन्छ । अस्पतालमा रहँदा उनले नवीन के भट्टराईको ‘ए झरी...’ सुनेको चर्चा मिडियामा बाक्लै भएको थियो । ओलीमात्रै होइन, केही समयअघि पूर्वराजा ज्ञानेन्द्र ‘रातो र चन्द्र सूर्य जंगी निशान हाम्रोमा...’ हात हल्लाई–हल्लाई नाचेका थिए ।
अन्य राजनीतिज्ञ तथा भीभीआईपीहरू पनि आफ्नो रोजाइअनुसारको संगीत स्वाद लिइरहेका हुन्छन् । नेपाली कांग्रेसका नेता गगन थापा कतिसम्म संगीतप्रेमी छन् भने उनी छोरीहरूसँग रहँदा आफैं गीत पनि गाइरहेका हुन्छन् । उनले यात्रामा रहँदा गाडीमा र घरमा रहँदा टेलिभिजन तथा युट्युबमार्फत छानी–छानी गीतहरू सुन्ने गर्छन् । उनी भन्छन्, ‘मलाई नारायणगोपालका पुराना गीतहरू मन पर्छन् । पछिल्लो समय लोकगीतहरूले पनि मलाई छुने गरेका छन् ।’ प्रकाश सपूतको भाइरल गीत ‘गलबन्दी’ उनलाई सुनिरहन मन लाग्ने गीत हो ।
आम सर्वसाधारण होस् वा नेता, कलाकार, खेलाडी, साहित्यकार सबैलाई संगीतले बाँधिराखेकै हुन्छ । यो वा त्यो मानिसहरू केही न केही गीत–संगीत सुनिरहेकै हुन्छन् । भाव आउने गरी मन परेको परिवेशमा केही न केही गुनगुनाइरहेकै हुन्छन् । ठाउँ, परिवेश, उमेर, पेसाजस्ता कुराहरूले संगीतमा फरक च्वाइस निर्माण हुन सक्छ । तर, सबैले कुनै न कुनै सही संगीत सुनिरहेकै भेटिन्छन् । काठमाडौंमा लोक, आधुनिक, पप, शास्त्रीय, र्याप सबै गीत सुनिन्छन् । युवापुस्ता हिन्दी र अंग्रेजी गीततिर पनि झुकाव राख्छ । अहिलेका नयाँपुस्ताका युवायुवतीहरू भिटेनजस्ता र्याप गायकहरू पनि सुनिरहेका हुन्छन् ।
त्यसबाहेक रक र हिपहप गीतहरू पनि उत्तिकै देखिन्छ । काठमाडौंको संगीत स्वादमा विविधता देखिए पनि सबैले केही न केही सुनिरहेकै देखिन्छ । संगीतका लागि न फुर्सद आवश्यकता पर्छ, न त कुनै छुट्टै परिवेशको । काम गर्दा होस् वा व्यस्त रहँदा जतिखेर पनि संगीतमा झुम्न सकिन्छ । त्यसैले विद्यार्थीदेखि व्यवसायीसम्म, नेतादेखि कलाकारसम्म संगीत नसुनिरहन सक्दैनन् ।