साप्ताहिक संवाददाता
कुनै समय गीत सुन्ने चल्तीको माध्यम रेडियो नेपाल थियो । त्यतिबेला कुन–कुन गीत रुचाइए भनेर थाहा पाउन रेडियो नेपाल सुन्नैपर्ने अवस्था थियो । रेडियो नेपालमा लाइभ रेकर्ड गरेका हरेकजसो गीतहरूले वाहीवाही पाउँथे । अवस्था कस्तोसम्म थियो भने रेडियो नेपालले जे बजायो, त्यही चल्थ्यो । नारायण गोपाल हुन् वा भक्तराज आचार्य, बच्चु कैलाश हुन् वा प्रेमध्वज प्रधानका गीतहरू बढी चल्थे । गायक प्रकाश श्रेष्ठ, उदितनारायण झाहरू पनि रेडियो नेपालबाटै चम्किएका हुन् । कुनै समय हरेकजसो नेपालीको घरमा मादल, खैजडीजस्ता वाद्यहरू हुन्थे, जो अहिले पनि कतिपयका घरमा छन् ।
त्यो बेला स्रोतका लागि छनोटका धेरै अप्सन पनि थिएनन् । त्यसपछि क्यासेटयुग सुरु भयो । क्यासेटमा जेनरेसनसँगै ब्यान्डहरू उदाउन थाले । माध्यममा आएको विविधतासँगै सुन्ने माध्यम र तरिकाहरू परिवर्तन हुँदै गए । अहिले संगीत पारखीलाई रोजाइअनुसार छानी–छानी गीत–संगीत सुन्ने दर्जनौं अप्सन उपलब्ध छन् । आफ्नो च्वाइसअनुसार कोही लोकगीत सुन्छन्, कोही पप, र्याप, हिपहप, सुगम संगीतमा रमाइरहेका छन् । अंग्रेजी, हिन्दी गीतहरू पनि टेस्टअनुसार सुनिरहेकै हुन्छन् । अहिले संगीतमा पनि एक किसिमको ‘बफेट डिनर’को युग सुरु भएको छ, जे मन लाग्यो छानेर सुन्न पाइने ।
त्यसो भए अहिले बजारमा सबैभन्दा बढी चलिरहेको संगीत विधा कुन हो त ? कस्ता गीतहरूले बढी श्रोताको मन जितिरहेका छन् त ? मापनका केही आधारमध्ये एफएफमा, सार्वजनिक यातायात र टेलिभिजन र युट्युब ट्रेन्डिङको ट्रेन्ड हेर्दा लोक फ्लेवरका गीतहरू बढी चल्तीका गीतमा पर्छन् भने लोकसंगीत पनि बढी रुचाइँदै गएको पाइन्छ । त्यसका केही उदाहरणका रूपमा ‘सुर्के थैली खै’, ‘पिरिम नलाउने,’ ‘सालको पात टपरी’जस्ता गीतहरूको लोकप्रियता हेरे पुग्छ । लोक फ्लेवरमा गीतहरूले बढी मार्केट लिइरहेको छ । यसबाहेक लामा लोकदोहोरी गीत ‘गलबन्दी’जस्ता गीतहरूले पनि आकर्षक चर्चा बटुलिरहेका छन् । स्लो प्याटर्नका लोकगीत, डान्सिङका साथै आधुनिक गीतहरू पनि अहिलेका चलेका प्याटर्न गीतहरूमा पर्छन् । नारायण गोपाल, बच्च कैलाशहरूले छोडेका अमिट छापहरू सुगम संगीतलाई अहिले पनि उत्तिकै माया गर्ने गरिन्छ । शिव परियार, प्रमोद खरेल, रामकृष्ण ढकाल यही जनराबाट चलिरहेका छन् । लोकलाई आधुनिकसँग मिक्स गरेर डान्सिङ प्याटर्नमा बनाइएका फिल्मी टाइपका ‘फ्युजन गीत’हरूले पछिल्लो समय बढी लोकप्रियता कमाइरहेका छन् ।
‘मलाई निर्देशन गर्न आएका ८० प्रतिशत गीतहरू लोक फ्लेवरका गीतहरू नै छन्,’ म्युजिक भिडियोका निर्देशक सुव्रतराज आचार्य भन्छन्, ‘हरेक देशको आफ्नो कला, संस्कृति हुन्छ, लोकसंस्कृति, लोककला र लोकबाजा हुन्छ, त्यो कुरालाई प्रयोग गरिएका गीतहरू अहिले खुबै रुचाइएका छन् ।’
युट्युब भ्युज बढाउनमा विदेशमा रहेका नेपालीहरू पनि उत्तिकै जिम्मेवार देखिन्छन् । नेपालको ठूलो जनसंख्या अहिले पनि पढाइ, रोजगारी तथा व्यवसायको सिलसिलामा मलेसिया, कतार, दुबई, जापान, अमेरिका, बेलायत, अस्ट्रेलिया, भारतजस्ता देशहरूमा बसोबास गर्छन् । वाइफाइको सहज उपलब्धता हुने ती देशहरूमा नेपालीहरूले युट्युबमा स्वदेशी संगीत सुनिरहेका हुन्छन् । ‘बिदेसिएपछि स्वदेशको माया बढी लाग्दो रहेछ, विदेशमा बस्दा स्वदेशका सम्झनाहरूसँग लोकसंगीत बढी रिलेट हँुदो रहेछ,’ जापानमा बसोबास गरिरहेका नेपाली अनिल खड्का भन्छन्, ‘त्यसैले म यहाँ रहँदा बढी नेपाली लोकगीत सुनिरहेको हुन्छु ।’ उनी प्राय:जसो युट्युबमार्फत नेपाली लोकगीतहरू सुन्छन् ।
अनिल मात्रै होइन, बिदेशिएका अधिकांश नेपाली आफ्नो कोठामा होस् वा ट्ेरनमा यात्रा गर्दा, एयरफोन तथा स्पिकरहरू होस् अथवा ड्राइभिङमा रहँदा नेपाली संगीतमा रमाइरहेका हुन्छन् । त्यहाँ हुने जमघट र महोत्सवहरूमा पनि नेपाली गीतहरू उत्तिकै मायाका साथ बजाइन्छ । यसले पनि युट्युब भ्युजलाई प्रभावित पार्ने गरेको संगीत बजारका विश्लेषकहरू बताउँछन् ।