साप्ताहिक संवाददाता
यो महिनाको हामी कवि र कविताको शृंखलामा विराटनगरका कवि मीनकुमार नवोदित र दाजीर्लिङका कवि नुहाङ राई प्रस्तुत भएका छन् । राजधानीको कालिकासथान स्थित सर्वनाम थिएटरमा उनीहरुले आफ्ना कविता सुनाएका हुन् ।
हरेक महिनाको १ गते आयोजना हुने सर्वनामको ७३ औं शृंखलामा नवोदित र राई प्रस्तुत भएका हुन् । लुनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिर र सर्वनामले हरेक महिनाको १ गते दुई जना कविलाई उभ्याउने गरेको छ ।
पत्रकारसमेत रहेका नवोदितले ‘जुन र आमा’, ‘देशको नाममा’, ‘युगको अन्तिम रात’, ‘अन्तिम इच्छा’, ‘प्रेम र तस्बिर’, ‘देश छाड्नुअघि’, ‘अर्गा्निक अनुहार’, ‘कुरूप समयको बयान’, ‘बा हुनुको अर्थ’ लगायत शीर्षकका कविता वाचन गरेका थिए । नवोदितको यसअघि काठमाडौंको राष्ट्रिय नाचघर र पोखरा थिएटरले पनि एकल कविता वाचन कार्यक्रम गरेका थिए ।
त्यस्तै नुहाङले ‘जुत्ता’, ‘रातो कविता’, ‘सपनाको आगो र पुत्ला’, ‘बुधे’, ‘टाउको बिनाको समय’ लगायत कविता सुनाए । सर्वनामले रंगमञ्च र साहित्य क्षेत्रमा काम गर्दै आएको कार्यक्रम संयोजक राज शाहले बताए ।
कविता वाचनअघि सर्वनामका अध्यक्ष अशेष मल्ल र वरिष्ठ साहित्यकार डा. विष्णुविभू घिमिरेले दुवैजना कविलाई सम्मान गरेका थिए ।