साप्ताहिक संवाददाता
हामी जनवादी गीत–संगीतका स्रष्टाहरू भने जिउँदै छौं । यहीँ छौं । जनवादी गीत–संगीत सिर्जनामै सक्रिय छौं । जनतामाझ पुगेर जनवादी गीत गाउन छाडेका छैनौं । हामी जहाँको तहीँ नै छौं । हामी कहीँ पनि गएका छैनौं । आफ्नो काम गरिरहेका छौं ।
जनवादी गीत–संगीतका बारेमा भन्नुपर्ने कुरा धेरै हुन्छन् । तर, प्राय: जनवादी गीत–संगीतको क्षेत्रमा सक्रिय भइरहेका स्रष्टा तथा कलाकारहरूलाई राज्यले मात्र होइन, सञ्चारमाध्यमले समेत खासै खोजिनिती गरेको पाइँदैन । यद्यपि, हामी जनवादी गीतका स्रष्टालाई कसैले नखोजे पनि हामीले हाम्रो कर्मलाई आजको मितिसम्म जारी नै राखेका छौं । म आफैं उमेरले ७६ वर्षको पुग्न लागें, अझै पनि उत्तिकै सक्रिय भएर जनवादी गीत–संगीतको सिर्जनादेखि प्रस्तुतीकरणमै सक्रिय छु । दुई महिनाअघि मात्र (असोज ११ गते) विराटनगरमा आयोजित एकल गायन कार्यक्रममा प्रस्तुत भएर आफ्ना एक दर्जनभन्दा बढी गीतमार्फत् दर्शकलाई जुरुक–जुरुक बनाएँ । अहिले पनि म परिवर्तनका गीतहरू बनाइरहेको छु, गाइरहेको छु । यतिबेला चाहिं ज्यानलाई अलि सन्चो छैन, त्यसैले घरमै आराम गरिरहेको छु । नत्र यही मंसिर २६ मा अर्को ठाउँमा एकल गायन कार्यक्रम राखिएको थियो । अब यो कार्यक्रमलाई माघमा गर्ने कि भन्ने कुरा भएको छ ।
के हो जनवादी गीत ?
‘बसाइँ हिँड्नेको ताँतीले, बस्नेको मन रुँदछ, लाखौंका लागि उजाड छ यो देश, मुठ्ठीभरलाई त स्वर्ग छ....’ यो मैले गाएको एउटा लोकप्रिय जनवादी गीत हो । अर्को पनि एउटा गीत लाखौं दर्शक तथा श्रोताले मन पराउनुभएको छ, ‘आमा, दिदीबहिनी हो कति बस्छौ दासी भै ?’ यिनै गीतहरू जनवादी गीत हुन् । जनवादी गीत अर्थात् जनताको बोली बोल्ने गीत । राजनीतिक भाषामा यस्ता गीतहरूलाई प्रगतिशील गीत पनि भनिन्छ । नेपालमा जनवादी गीतहरूलाई कुनै बेला पञ्चायती व्यवस्थाविरुद्धको सशक्त हतियार मानिन्थ्यो भने पछि गएर यसलाई वामपन्थी आन्दोलनको स्वरका रूपमा समेत लिन थालियो ।
अहिले कहाँ छ जनवादी गीत ?
म एउटा कुरा के भन्छु भने, यतिबेला पनि जनवादी गीत आफ्नै ठाउँ छ । यद्यपि यतिबेला भनेको राजनीतिक रूपमा खुला भएको अवस्था हो । हिजो, जतिबेला आवश्यकता थियो, जनवादी गीत–संगीतहरू घन्किएकै थिए । तर विडम्बना, आजको राजनीतिक नेतृत्वलाई जनवादी गीत–संगीतको आवश्यकता छैन जस्तो देखिएको छ । युवापुस्ताका संगीतकर्मीहरूले पनि जनवादी गीत–संगीतप्रति खासै रुचि देखाएको पाइएन । उनीहरूले जनवादी गीतको त्यति खोजिनिती गरेको पाएको छैन । अहिले नेतृत्व तहमा पुगेका नेताहरूलाई नै थाहा छैन, जनवादी गीत–संगीत कहाँ छ भनेर ? नेतृत्वमा पुगेका नेताहरूमा सांस्कृतिक चिन्तन भएन भने यस्तै हुन्छ ।
यद्यपि, हामी जनवादी गीत–संगीतका स्रष्टाहरू भने जिउँदै छौं । यहीँ छौं । जनवादी गीत–संगीत सिर्जनामै सक्रिय छौं । जनतामाझ पुगेर जनवादी गीत गाउन छाडेका छैनौं । हामी जहाँको तहीँ नै छौं । हामी कहीँ पनि गएका छैनौं । आफ्नो काम गरिरहेका छौं ।
तर, अर्को एउटा महत्त्वपूर्ण कुरा के छ भने हामीमा पनि यो राजनीतिक परिवर्तनले सांस्कृतिक रूपमा समेत परिवर्तन ल्याएको छ । हामीमा के परिवर्तन आयो भने अलिकता मनोरञ्जनात्मक गीत–संगीततिर अधिकांशको रुचि र झुकाव बढ्न थालेपछि हामीमा पनि त्यस्ता गीत–संगीतप्रति रुचि राख्ने प्रवृत्ति बढेको हो कि ? त्यसले गर्दा पनि आजको जुन अवस्था छ, पार्टीका नेताहरू, जसले देशकै नेतृत्व गरिरहनुभएको छ, उहाँहरूमा पनि सांस्कृतिक विचलन आएर यस्तो भएको हुनुपर्छ । तर, यसो भन्दैमा हामीचाहिँ ओझेलमा परेका छैनौं है । आफ्नो काम गरिरहेका छौं । हामीले आफ्नो अस्तित्व अहिले पनि राखिछाडेका छौं ।
परिवर्तन अनिवार्य
अब भने हामीले पनि आफूलाई केही परिवर्तनचाहिं गर्नैपर्छ । किनभने कुनै बेला राजनीतिकर्मीहरूको अति प्रिय जनवादी गीत, आज राजनीतिक परिवर्तनपछि ओल्ड फेसनझैं भएका छन् । त्यसैले अबको आवश्यकता भनेको परिवर्तित शैलीका प्रगतिशील गीतहरूको हो भन्ने कुरा हामीले बुझ्न अनिवार्य छ । आजको समय भनेको हिजोको जस्तो प्रतिबन्धित समय होइन । हिजो हामीले ‘मेरो गोरुको बाहै्र टक्का’ भन्ने, बुर्जुवा भन्ने एक किसिमका मानिसहरूलाई उपेक्षा गरेका थियौं, त्यो हाम्रो बाध्यता पनि थियो । अब त्यो सोचाइमै परिवर्तन गर्नुपर्छ । अबको परिवर्तनका लागि हामी पनि सक्रिय हुनुपर्छ । सबैलाई समेटेर लैजाने हो भने अब विगतमा जनवादी गीत गाएर अघि बढेका संस्कृतिकर्मीहरूलाई पनि सँगसँगै अघि बढाउनुपर्छ ।
व्यवस्था नै परिवर्तन भएका कारण पनि हिजो र आजको जनवादी गीतमा फरक परेको हो । आज पनि जनवादी गीतको आवश्यकता उत्तिकै छ । हामी आज पनि निष्क्रिय छैनौं । म, रामेश, रायनहरू आज पनि उत्तिकै सक्रिय छौं । यद्यपि, सधैंभरि हामीले मात्र जनवादी गीतलाई बोकेर हिंड्नुपर्छ भन्ने छैन । अब नयाँ पुस्ता पनि सक्रिय भएर आउनुपर्छ । हाम्रै मात्र पछि लाग्नुपर्छ भन्ने छैन । यो विधामा नयाँ पुस्ताले पनि सक्रियता जनाउनुपर्छ । हुन त नयाँ पुस्ता पनि आइरहेको छ, नआएका होइनन् । तर, संगीतकर्मीहरूमा पेट पाल्ने समस्या पनि छ । त्यसले गर्दा पनि युवा संगीतकर्मीहरू खुलेर जनवादी गीतमा लाग्न सकेका छैनन् । त्यसमा पनि बजारमा कमर्सियल गीतहरू बढी चल्ने भएकाले जनवादी गीत गाउने र सुन्ने फुर्सद धेरैलाई नहुन पनि सक्छ ।
जनवादी गीतको इतिहास
वास्तवमा जनवादी गीतको इतिहास निकै लामो छ । २०१६–१७ सालतिरै संस्कृतिकर्मी गोकुल जोशीदेखिको पालादेखि नेपालमा जनवादी गीतको थालनी भएजस्तो लाग्छ । गोकुल जोशीले ०१६–१७ सालतिरै थुप्रै जनवादी गीत गाएका थिए । तीमध्ये मलाई अहिले पनि सम्झना छ— ‘नमार गरिबलाई नजाऊ अंग्रेजी पल्टनमा, रोक्ने को हो दूरदर्शी विचारका धारा को हो’ भन्ने गीतहरू खुबै चलेका थिए । गोकुल जोशीले आफैंले गीत लेखे, गाए । त्यतिबेलादेखि नै नेपालमा जनवादी गीतको थालनी भएको हो । त्यो बेला देशमा पञ्चायती शासन थियो । त्यही व्यवस्थाका विरुद्धमा जनवादी गीतहरू गाउन थालिएको थियो । रामेश, मञ्जुल, रायन, श्याम टमोट, म आफैं, उदय श्रेष्ठ, माधव प्रधान, राजेश थापा, मधु गुरुङ, चेतनारायण राई, शम्भु राईजस्ता स्रष्टाहरूले जनवादी गीतलाई जुरुक्कै बोकेर हिंड्नुभएको थियो । २०३६ सालभन्दा अघि नै जनवादी गीत गाउने स्रष्टा–कलाकारहरूको एउटा ठूलो जमात नै तयार भइसकेको थियो । त्यो समयमा हामी सबै जना एउटा ऊर्जा लिएर मैदानमा आएका थियौं । व्यवस्थालाई ढाल्नुपर्छ भन्ने एक प्रकारको जोस, जाँगर, उत्साह र उमंग थियो । जनमत संग्रहअघिदेखि जनवादी गीत गाउन स्रष्टाहरू सांगठनिक रूपमा पनि लाग्न थालियो । पञ्चायतको विरुद्ध गीत गाउने कलाकारहरूलाई त्यतिबेला धरपकडसमेत गरियो, दमनसमेत गरियो । २०४६ सालको आन्दोलनका क्रममा म आफैं धरानबाट गिरफ्तार भएँ । प्रजातन्त्र पुनस्र्थापना हुँदा त म जेलमै थिएँ । पञ्चायत कालमा मण्डलेहरूले कहिले स्टेज भत्काउँथे, कहिले प्रहरीले खेतै खेत कुदाउँथें । यद्यपि, त्यो बेला जनताले भने राम्रो साथ दिएका थिए ।
कसरी बन्यो राजनीतिक हतियार
वास्तवमा जनवादी गीत–संगीतकै माध्यमबाट हाम्रो पार्टी (नेपाल कम्युनिस्ट पार्टी) स्थापना भएको हो भन्दा फरक पर्दैन । २०४६ सालको आन्दोलनले सफलता पाउनुमा बामपन्थी पार्टीलाई जनवादी कलाकारहरूको ठूलो साथ र सहयोग थियो । माओवादी जनयुद्धका क्रममा उनीहरूले हाम्रै गीतहरू गाएको भन्ने सुनिन्थ्यो । सरकारले माओवादीसँग वार्ता थालेपछि भने उहाँहरूले आयोजना गर्ने सांस्कृतिक कार्यक्रमहरूमा हामीलाई पनि निम्त्याउन थाल्नुभयो । पछि–पछि त उहाँहरू आफैंले पनि जनवादी गीतहरू उत्पादन गर्न थाल्नुभयो ।
जनआन्दोलनका क्रममा हामीले सांस्कृतिक कार्यक्रम गर्ने भनेपछि ८ कोस, १२ कोस टाढादेखिका मानिसहरू हाम्रा जनवादी तथा प्रगतिशील गीतहरू सुन्न आउनुहुन्थ्यो । हाम्रा गीतहरूले उहाँहरूमा जोस भथ्र्याे । त्यसपछि पार्टीका नेताहरूले गर्ने सम्बोधनले उहाँहरूलाई जनआन्दोलनका लागि नैतिक समर्थन प्रदान गर्न बाध्य बनाउँथ्यो ।
सरकारबाट अपेक्षा
सरकारबाट हामीले केही पनि अपेक्षा गरेका छैनौं । नेपाली जनताको जीवनस्तर माथि पुर्याए भइगो । विकासका काममा ध्यान दिए पुग्छ । हामी स्रष्टा कलाकारलाई भन्दा नेपाली जनतालाई खुशी र सुख दिए पुग्छ । त्यसका लागि विकास गर्नु अनिवार्य छ ।
अबको बाटो
अब हामी जनवादी कलाकारहरूले पनि विकासशील गीतहरू तयार पार्नुपर्ने बेला आएको छ । सरकारलाई गीत–संगीतबाटै घचघच्याउनुपर्ने भएको छ । अझै पनि समाजमा थुप्रै विकृति र विसंगतिहरू छन् । त्यसका विरुद्ध जनचेतनामूलक गीतहरू गाउनुपर्नेछ । विकास–निर्माणमा प्रेरणा मिल्ने शैलीका गीतहरू गाउनुपर्ने छ । किनभने, कुनै बेला राजनीतिक परिवर्तनका लागि ठूलो भूमिका निर्वाह गरेका जनवादी गीतहरू देशमा राजनीतिक परिवर्तन भइसकेपछि समाज सुधारको क्षेत्रमा केन्द्रित हुनुपर्छ भन्ने मैले बुझेको छु ।
(कृष्ण भट्टराईसँगको कुराकानीमा आधारित)