केही अपवादवाहेक नेपाली संगीतको व्यावसायिक यात्रा २००७ सालपछि भएको हो भन्दा अत्युक्ति नहोला । यो कालखण्डपछि नै हो, संगीतका विविध विधामा कलाकार जन्मिन थाले । त्यसअघि पनि नेपालमा राम्रा र उत्कृष्ट कलाकार नभएका होइनन् तर उनीहरूको परिधि अत्यन्तै साँघुरो थियो । सीमित स्रोत, साधन र अवसरका कारण संगीतले व्यावसायिक रूप लिन सकेको थिएन । केही दशकअघिसम्म संगीतलाई पेसा बनाउने कुरा निकै कम मानिसले सोच्थे । त्यसबाट मात्रै गुजारा चलाउन कठिन हुन्थ्यो । संगीतसँग जीविका जोडिन थालेको चाहिँ २०४६ को परिवर्तनपछिको समयमा हो ।
२०४६ पछिको खुला समाज अरु क्षेत्रझैं संगीत पनि फैलिने अवसर बन्यो । संगीतकर्मीहरू थपिन थाले । सञ्चार र प्रविधिको विकासले संगीतले पनि प्रश्रय पाई फस्टाउने मौका पायो । स्टेजमा सीमित संगीत मिडियामार्फत आउन थालेपछि यसको आयाम फराकिलो हुँदै गयो ।
अर्को साधन रेडियो नेपालमात्र थियो, त्यसले पारिश्रमिक दिन्थ्यो । तर, जीविकोपार्जनका लागि पर्याप्त थिएन । अहिले रेडियो, टेलिभिजनदेखि युट्युबसम्म आम्दानीका धेरै स्रोत छन् । रेस्टुरेन्ट संस्कृति, मञ्च प्रदर्शन, स्टुडियोमा गरिने गीत तथा संगीतको रेकर्डिङ, नेपालमा विभिन्न खाले मेला–महोत्सव आदि । यो सबैले पेसागत रूपमा संगीतप्रति समर्पित भएर लाग्न प्रेरणा प्रदान गर्यो । क्रियाकलापहरू जति बढ्छन्, पेसागत सुरक्षा हुन्छ, आम्दानी बढ्छ ।
अहिले संगीतले व्यावसायिक रूपमा ठूलो फड्को मारेको छ, धेरै अवसरहरू सिर्जना भएका छन् । अहिले मिडिया, सिआरबिटी, पिआरबिटी, युट्युब, ब्रोडकास्ट, रोयल्टीजस्ता कुरा आइरहेका छन् । चलचित्र, वृत्तचित्र आदिको निर्माण हुने क्रम पनि त्यत्तिकै बढिरहेको छ । स्रष्टाहरूले एउटै गीतबाट लाखौं–लाख रोयल्टी प्राप्त गर्ने अवस्था छ । यी प्रविधिको विकाससँगसँगै देखिएका परिवर्तन हुन् । कलाकारले हिजो अत्यन्तै न्यून पारिश्रमिकमा आफ्नो प्रस्तुति गर्नुपर्ने बाध्यता थियो । तर आज त्यस्तो अवस्था छैन । आज राम्रा गीत गाउने, बाजा बजाउने र संगीत दिनेलाई फुर्सद छैन ।
संगीत शिक्षा
संगीतको शिक्षा त्यति राम्रो ढंगले बढ्न सकेको छैन । यसलाई दुई भागमा वर्गीकरण गरेर हेरौं । शास्त्रीय अर्थात् परम्परागत संगीत र लोक संगीत । यो दुई वटाको सम्मिश्रणबाट चलचित्रका संगीत, आधुनिक संगीतलगायतका विभिन्न संगीत आए । जग वा आधारका रूपमा शास्त्रीय र लोक संगीत दुई वटा संगीत हुन् । यी दुईवटा संगीतमध्ये हिजो लोक संगीतको यसरी विकास भएको थिएन । तर शास्त्रीय संगीतले एउटा आकार लिएर आइरहेको थियो । त्यो आवश्यकता पनि थियो किनभने शास्त्रीय संगीत भनेको संगीतको व्याकरण हो । त्यसमा कसैले राम्रो गर्न सक्यो भने जुनसुकै संगीत विधामा लागे पनि उसले सफलता पाउने सम्भावना बढ्छ । यो सोच हिजो मात्र नभई आज पनि एकदमै बलियो भएको छ ।
शास्त्रीय संगीतको स्कुल, कलेजमा विधिवत् तालिम हुन्थ्यो । लोक संगीतको भने कतै पढाइ हुने, तालिम लिने भन्ने कुरा निकै कम थियो । लोक संगीतलाई जसरी परिभाषा गरिन्छ, त्यसरी नै समाजले यसलाई हेरेको थियो । तर अहिले आएर यसमा दक्षता हासिल गर्नुपर्छ, सिक्नुपर्छ, पढ्नुपर्छ भन्ने धारणाको विकास भएको छ । प्राज्ञिक दृष्टिकोणबाट हेर्ने हो भने सबैभन्दा २०१६ सालमा त्रिभुवन विश्वविद्यालयअन्तर्गतको पद्मकन्या क्याम्यसमा संगीत विषय अध्यापन हुन थाल्यो । जहाँ शास्त्रीय संगीतमा सितार, गायन र शास्त्रीय नृत्यको पढाइ हुन्थ्यो । केही समयपछि लोक संगीतको महत्वलाई बुझ्न थालेपछि लोक संगीतको पनि पढाइ हुन थाल्यो । तुलसी दिवस, गोपाल योञ्जन, न्हुच्छेबहादुर डंगोलजस्ता व्यक्तिहरूले पढाउन थाल्नुभयो । यसलाई पनि विस्तारै शिक्षाको एउटा विधाका रूपमा स्वीकार गर्न थालियो ।
बिस्तारै संसार विश्वग्राममा परिणत हुँदै गयो । आधुनिक संगीतकारहरूको उदय भयो, आधुनिक संगीतको एउटा छुट्टै धार निस्कियो । जुन एउटा सुगम संगीत भएकाले सबैले मन पराए, यसको विकास ह्वात्तै बढेजस्तो देखियो । पुराना दुई संगीत विधा भने पछि परेका हुन् कि भन्ने देखियो । तर सबै विधाले राम्रो प्रगति गर्दै आएका छन् । आरम्भ कालमा शास्त्रीय संगीत र लोक संगीतलाई महत्वका साथ हेरिन्थ्यो, तर अहिले आएर आधुनिक संगीत त्यही रूपमा छ । त्यसैले संगीतको कुनै पनि पक्षलाई शास्त्रीय र लोक संगीतबाट पर राखेर हेर्न मिल्दैन । आधुनिक संगीत गर्ने मान्छेलाई शास्त्रीय संगीतको ज्ञान नभए पनि उसले आफ्नो अन्तरंगमा जुन संगीत देख्छ त्यसको आधार शास्त्रीय संगीत नै हो । त्यसैले यो विधालाई आधार वा जगका रूपमा हेर्नुपर्छ ।
समाज परिवर्तनशील छ, यो सामान्य नियम पनि हो । कुमालेको चक्र जसरी घुमिरहन्छ त्यसरी नै समाजमा संगीतप्रतिको जनरुचि पनि परिवर्तन भइरहन्छ । संगीतका विभिन्न विधाहरूको लोकप्रियतामा तलमाथि भइ नै रहन्छ र यसलाई हामीले स्वाभाविक रूपमा लिनुपर्छ । समग्रमा आजको नेपाली समाजमा संगीतप्रतिको दृष्टिकोणमा परिवर्तन आएको छ । शास्त्रीय, लोक र आधुनिक संगीत तथा संगीतकर्मी सबैलाई समाजले सम्मानपूर्वक हेर्ने गरेका छन् ।
स्वर्णयुग
राणाकाललाई नेपाली संगीतको स्वर्ण काल भनेर चिन्छु । परम्परागत संगीतहरू जो लिच्छबीकालबाट चलेर आएका थिए । ती संगीतलाई मल्लकालमा जीवित राख्ने काम गरियो । मल्लकालमा संगीतका किताबहरू, गीतहरू धेरै लेखिए । त्यतिबेला मल्ल राजाहरूले शास्त्रीय संगीतका ग्रन्थहरू पनि लेखे । यस्तै राणाको पालामा आएपछि त्यो कुरामा निरन्तरता थियो ।
शास्त्रीय संगीत भनेको दक्षिण एसियाकै ‘साझा सांस्कृतिक सम्पदा’ (कमन कल्चर हेरिटेज) हो । जुन हाम्रो देशमा विकास हुन सकेन तर त्यसको विकास ‘अहिलेको भारत’ मा भयो । त्यसैले यो भारतीय संगीत भन्ने भ्रम पर्यो, जबकि त्यो होइन । यो हाम्रो संगीत हो । हामी कहाँ विकास नभएका कारणले दाबी गर्न सकेनौं । सायद राणाहरूले यो कुरालाई बुझे । जुन बेला जंगबहादुरको उदय भयो र अंग्रेजहरूले भारतमाथि आक्रमण गरे । र, नवाबहरू जसले संगीतकर्मीहरूलाई संरक्षण दिएर राखेका थिए । तिनीहरू राज्यविहीन अथवा नोकरी विहीन भए । तिनीहरूलाई जंगबहादुरले त्यहाँबाट ल्याएर दरबारमा संरक्षण गर्ने काम गरे । नेपालमा शास्त्रीय संगीतको माहोल त्यतिबेलाबाट तीव्र गतिमा बढ्यो ।
त्यतिबेला नै शास्त्रीय संगीतका अलावा लोक संगीत पश्चिम नेपालका भडेनी, पातर, बादीहरूलाई जंगबहादुरले विशेष थिती नै बनाएर संरक्षण गरे । उनीहरूलाई विशेष जात्रा, चाडपर्वमा ल्याएर नचाउन–गाउन लगाउँथे । परम्परागत रूपमा आएको तर स्थानीय लोक संस्कृतीसँग जोडिएको संगीतलाई औपचारिक रूपमा संरक्षण गर्न आरम्भ गरे । शास्त्रीय संगीत जो संगीतको व्याकरण हो, त्यसलाई पनि ल्याएर नेपालीहरूलाई शिक्षा दिने काम भयो ।
वीर शमसेरको पालामा पर्साको बगेडी भन्ने ठाउँमा एक महिना लामो अन्तर्राष्ट्रिय संगीत सम्मेलन भएको थियो । त्यहाँ दिनभरि शास्त्रार्थ हुन्थ्यो भने बेलुका सांगीतिक कार्यक्रम हुन्थ्यो । जसले नेपाली शैलीका रागहरूको वर्गीकरण समेत गरेको थियो । त्यसको प्रक्रिया पनि बनेको थियो तर वीरशमसेरको अवशानसँगै त्यो अड्कियो । त्यतिबेला उनले जुन रूपमा प्रवद्र्धन गरे अथवा विधागत रूपमा छुट्याए यही कारणले आज नेपालमा शास्त्रीय संगीतको जुन अवस्था छ, हिजो राणाले संरक्षण नगरिदिएको भए आज यो अवस्थामा हुँदैनथ्यो । आज पनि जति पनि स्कुल छन् अथवा हामी घराना भन्छौं त्यो के छ भने राणाले संरक्षण प्रदान गरेका वर्ग वा व्यक्तिका सन्ततिबाट चलेको छ । राणाले भारतबाट ल्याएर राखेका कलाकारले सिकाएका व्यक्तिहरूबाट आइरहेका छन् । यदि राणाकालमा यो नभएको भए त रिक्तता हुन्थ्यो । अहिले हामीकहाँ शास्त्रीय संगीतको जुन अवस्था छ त्यो हुँदैनथ्यो । त्यसैले विकास, मानव अधिकार वा प्रजातन्त्रको दृष्टिकोणबाट राम्रो थिएन होला तर कला र संगीतको संरक्षण, प्रवद्र्धन र विकासको दृष्टिकोणले मेरो नजरमा राणाकाल भनेको संगीतको स्वर्णकाल हो ।
संगीतका समस्या
नेपाली संगीतको विकासको अवस्था यही नै हो भनेर मापन गर्न गाह्रो हुन्छ । सरकारी तवरबाट संगीतको विकासमा कुनै योगदान हुन सकेको छैन । अन्य राष्ट्रहरूमा आफ्नो देशको कला–संस्कृतिको प्रवद्र्धन गर्न ठूलो लगानी गरेका हुन्छन् । तर हाम्रोमा खोइ लगानी ?
संगीतको नियामक निकाय छैन । सरकारी तवरबाट संगीतलाई संरक्षण नदिएकै कारण यो जति माथि आउनुपथ्र्याे त्यति आउन सकिरहेको छैन । अहिले पनि संगीत क्षेत्र राम्रो कर तिर्ने उद्योगमा पर्छ । तर त्यसलाई सरकारले संस्थागत गर्न सकेको छैन । यो राज्य संयन्त्रकै कमजोरी हो । संगीतको विकास तथा संरक्षणका लागि खोलिएको प्रज्ञा प्रतिष्ठानले आफ्नो दायित्व निर्वाह गर्न सकेको पाइँदैन । व्यक्तिगत र निजी संस्थाहरूबाट भएको प्रयासबाट मात्र नेपाली संगीत यो अवस्थामा आइपुगेको छ । राज्यले सहजकर्ताको भूमिका निभाउने हो र अघि बढाउन आवश्यक नीति—नियम, कानुन बनाइदिने हो र राज्यको औपचारिक कार्यक्रमहरूमा संगीतलाई स्थान दिने हो भने संगीत विकास अझ अग्रगतिमा अघि बढ्न सक्छ । खेलकुदमा सरकारले जसरी बजेट छुट्याएको छ, संगीत क्षेत्रको विकासका लागि पनि त्यसरी नै बजेट छुट्याउनुपर्छ । यदि त्यसो गरिएमा सरकार यसबाट त्यसको १० गुणा बढी फिर्ता लिन सक्छ ।
आजभन्दा ६० वर्षअघि त्रिविको एउटा क्याम्पसबाट सुरु भएको संगीतको अध्यापन, त्यसको एक दशकपछि अर्को दुईवटा क्याम्पसबाट सुरु भयो । आज यो ५० वर्षको समयमा पनि संगीतको शिक्षा यो तीनवटा क्याम्पसभन्दा चौथो क्याम्पसमा सुरु हुन सकेको छैन । यो कुरामा विस्तार हुनुपर्यो । हिजो त्रिविमा संगीतमा आइए र बीए दुईवटा तह थिए, त्यो पनि हटाइयो । जसले गर्दा अहिले प्लस २ मा १/२ वटा कलेजबाहेक अन्यत्र संगीतको पढाइ छैन ।
अंग्रेजी वा अन्य विषयहरू बच्चाहरूले सानैदेखि पढ्छन् । तर आज जसले संगीत सिक्न चाहन्छन् एकै पटक स्नातक तहमा आएर सुरु गर्ने अवस्था छ । यदि उसले सुरुमा नै पढ्न पायो भने त त्यतिबेलासम्म त उसको अर्कै स्किल विकास हुन्छ । यसकारण स्कुल, कलेजहरूमा संगीतको कोर्सको व्यवस्था हुनुपर्छ । यो शैक्षिक कार्यक्रम हो । राज्यको तर्फबाट यसको सुरुवात हुनुपर्छ । संगीतलाई प्रस्तुति कलाका रूपमा मात्र नभएर समाजलाई अध्ययन गर्ने वस्तुका रूपमा हेर्नुपर्छ । मान्छेले संगीतलाई केबल मनोरञ्जनका रूपमा मात्र हेर्छन् । त्यो गलत सोचाइ हो । जसरी हामीले समाजशास्त्र पढेर त्यसको अध्ययनका आधारमा समाजको अध्ययन गर्छौ, त्यस्तै संगीतको अध्ययन गरेर समाजको चरित्रका बारेमा बुझ्न सकिन्छ ।
संगीतको संरक्षणका लागि रहेका हाम्रा परम्परागत गुठीका जग्गाहरू थिए । यसलाई रैकरमा परिणत गरियो । यसले पनि संगीतलाई असर पुर्याएको छ । किनकि हिजोका दिनमा संगीतकर्मीहरूले मन्दिरमा गएर गाउँथे, बजाउँथे, पूजा अथवा आरतीको बेलामा गर्थे । तिनको जीविकोपार्जनका लागि जग्गा–जमिन छुट्याइएको थियो । त्यसको आयस्तरले उनीहरूलाई तलब दिइन्थ्यो । आज त्यो जग्गा–जमिन मासिएका कारण यो पेसाबाट तिनीहरू विलुप्त भएका छन् । जीविकोपार्जनको समस्या भएपछि त मान्छे कसरी काम गर्छ ? सरकारले यस्ता कुराहरूमा ध्यान दिनुपर्छ ।
पुराना संस्कृतिलाई मात्र पछ्याउने, संगीतको वृहत् अवधारणा नबुझीकन छोटो चित्त गरेर लोक संगीतले लोक संगीत, आधुनिक संगीतले आधुनिक तथा शास्त्रीय संगीतले शास्त्रीय संगीतलाई ठूलो भन्ने र पपवालाले पपलाई ठूलो भन्ने मानसिकता छ । यो मानसिकता परिवर्तन हुनुपर्छ । गीत–संगीतका सबै विधा उत्तिकै सम्मानित छन् । तर ती विधाले देशको संस्कृति र समाजको आदर्शलाई बोकेको हुनुपर्छ । शास्त्रीय संगीत नै भए पनि लोक संगीत नै भए पनि यदि समाजको आदर्श, चरित्र तथा संस्कृतिलाई बोक्न सकेको छैन भने ती केहीलाई पनि उत्कृष्ट मान्न सकिँदैन । यदि पप गीत वा अन्य कुनै विधाले पनि राम्रो सन्देश दिन्छ भने, नेपाली माटो, संस्कृतिका लागि केही गर्छ भने त्यो राम्रो संगीत हो । संगीत आफैमा ठूलो हुँदैन । त्यसको प्रस्तुति, त्यसमा प्रयोग भएका भाषा–शैली एवं कुराहरूले महान् बनाउने हो ।
(पद्मकन्या बहुमुखी क्याम्पस, संगीत विभागका प्राध्यापक डा. रेग्मीसँगको कुराकानीमा आधारित ।)