साप्ताहिक संवाददाता
‘नेपाली चलचित्रको व्यावसायिक पक्ष खस्किए पनि चलचित्रका गतिविधिहरूचाहिँ बढिरहेका छन् । स्वदेशदेखि विदेशसम्म नेपाली चलचित्र लक्षित कार्यक्रमहरू भइरहेका छन् । यही सोमबार नै म हेटौंडा हुँदै भैरहवा पुग्दैछु । भैरहवामा चाँडै आयोजना हुने बृहत् चलचित्र महोत्सवको तयारीका बारेमा बुझ्न म त्यता जाँदैछु । भोलि (शनिबार) विकास बोर्डमा निर्देशक समाजको निर्वाचन हुँदैछ, तपाईं पनि आउनस् है ।’
शुक्रबार राति करिब साढे ९ बजे होटल सोल्टी क्राउन प्लाजामा रेडियो कान्तिपुरको नेसनल म्युजिक एवार्ड समारोहपछि डिनर गर्ने क्रममा चलचित्र विकास बोर्डका अध्यक्ष तथा कलाकार/निर्माता केशव भट्टराईले साप्ताहिककर्मीसँग आफ्नो व्यस्तताका बारेमा यसरी जानकारी गराएका थिए ।
भोलिपल्ट शनिबार उनी चलचित्र विकास बोर्डकै प्रांगणमा सम्पन्न भएको निर्देशक समाजको निर्वाचनमा समेत सहभागी भएका थिए । सर्वसम्मतिले निर्देशक समाजको कार्यसमिति चयन गर्ने प्रस्ताव गरेर बाहिरिएका उनले आइतबारको बोर्डकै बैठकमा भने अघिल्लो दिन निधन भएका चलचित्रकर्मी दीपक क्षेत्रीको अन्त्येष्टिका लागि एउटा निश्चित बजेट छुट्याउने निर्णय गरेका थिए । ‘दीपक क्षेत्रीको पूर्ण सम्मान साथ आर्यघाटको एक नम्बर चिता सजाएर अन्त्येष्टि गरिनुपर्छ’ बोर्ड अध्यक्ष भट्टराईले बैठकमा यही भनेका थिए । क्षेत्रीको पार्थिव शरीरका लागि चिता बनाउनेदेखि बोर्डकै प्रांगणमा श्रद्धाञ्जली सभा गर्नेसम्मका सम्पूर्ण तयारीका लागि भट्टराईले बोर्डकै कर्मचारीहरूलाई जिम्मासमेत दिइसकेका थिए ।
आइतबार दिउँसो पनि उनले सञ्चारमन्त्री गोकुल बास्कोटासँग बैठक बसेर साँझ ७ बजे बोर्डकै सदस्य नरेन्द्र महर्जनको कीर्तिपुरस्थित घर पुगेका थिए । महर्जनका बुवाको ६ महिनाको पूण्यतिथिको प्रसाद खाएर राति ९ बजेपछि घर फर्किने क्रममा उनी आफ्नै गाडीमै बेहोस भएका थिए । १५ वर्षीया छोरा तथा सवारी चालकले भट्टराईलाई चाबहिलको ओम अस्पताल पुर्याउँदा उनको निधन भइसकेको थियो । राति सवा १० बजे अस्पतालले उनको निधन भएको पुष्टि गरिदियो । भट्टराईको पारिवारिक स्रोतले जनाएअनुसार उनी उच्च रक्तचाप तथा मधुमेहका बिरामी थिए । उनका श्रीमती तथा एक छोरा छन् ।
विडम्बना, क्षेत्रीका लागि पूर्वनिर्धारित स्थानमा सोमबार भट्टराईकै श्रद्धाञ्जली सभा सम्पन्न भयो । योभन्दा पनि दु:खद् कुरा के रह्यो भने क्षेत्रीका लागि भनेर सजाइएको आर्यघाटको १ नम्बरको चिता सोमबार दिउँसो भट्टराईकै पार्थिव शरीरले ओगट्यो । कलाकार क्षेत्रीको भने २ नम्बर चितामा राष्ट्रिय सम्मानसाथ दाहसंस्कार गरियो । अध्यक्ष भट्टराई स्वयं क्षेत्रीको श्रद्धाञ्जली सभा तथा अन्तिम संस्कारमा मलामीका रूपमा सहभागी हुने तयारीमा थिए । क्षेत्रीका श्रीमती तथा छोरी विदेशबाट फर्किएपछि सोमबारका दिन आर्यघाटमा अन्तिम संस्कार गरिने तय थियो ।
भट्टराईको निधनपछि चलचित्र क्षेत्र अत्यन्त शोकाकुल बन्न पुगेको छ । उनको निधनपछि आइतबार मध्यरातदेखि नै सामाजिक सञ्जालहरूमा उनलाई श्रद्धाञ्जली दिन थालिएको थियो । सोमबार दिनभरिजसो सामाजिक सञ्जालमा सर्वसाधारणदेखि सेलिब्रेटी र मन्त्रीदेखि प्रधानमन्त्रीसम्मले भट्टराईको निधनप्रति दु:खी हुँदै श्रद्धाञ्जली दिइरहे ।
सोमबार दिउँसो राजकीय सम्मानसहित दिवंगत भट्टराई तथा कलाकार क्षेत्रीलाई पशुपति आर्यघाटमा अन्तिम संस्कार गरियो । त्यसअघि सोमबार दिउँसो नै उनको पार्थिव शरीर चलचित्र विकास बोर्डमा राखिएको थियो । भट्टराईको पार्थीव शरीरसँगै कलाकार क्षेत्रीको पार्थिव शरीरलाई पनि अन्तिम श्रद्धाञ्जलीका लागि बोर्डको प्रांगणमा राखिएको थियो । कलाकार क्षेत्री ५८ वर्षका थिए ।
नेपाल चलचित्र प्राविधिक संघले सोमबार एउटा विज्ञप्ति जारी गर्दै भट्टराईको निधनले नेपाली चलचित्र क्षेत्रमा अपूरणीय क्षति पुगेको भन्दै उनको सम्झनामा सोमबारका दिन चलचित्रसम्बन्धी कुनै पनि कार्य नगर्ने निर्णय गरेको थियो ।
कलाकार र निर्माताका रूपमा भट्टराई
केशव भट्टराईले आफ्नो अभिनय यात्रा चलचित्र ‘कोसेली’ बाट प्रारम्भ गरेका थिए । तुलसी घिमिरेको निर्देशनमा बनेको उक्त चलचित्रमार्फत भट्टराई २०४५ सालदेखि रजतपटमा ओर्लिएका थिए । यो अवधिमा उनले पाँच दर्जनभन्दा बढी चलचित्रमा अभिनय गरेका छन् । तीमध्ये कतिपय चलचित्रमा उनी सह–अभिनेताका रूपमा प्रस्तुत भए भने कतिपय चलचित्रमा अभिनेताका रूपमा । पछिल्लो समय भने उनी चरित्र अभिनेताका रूपमा अभिनय गरिरहेका थिए ।
कलाकारितामा सक्रिय रहेकै बेला भट्टराईले चलचित्र निर्माणमा समेत हात हाले । दौंतरी उनले निर्माण गरेको पहिलो चलचित्र थियो । त्यसयता उनले पछिल्लो चलचित्र यात्रा: अ म्युजिकल भ्लगसम्म आइपुग्दा झन्डै एक दर्जन चलचित्र निर्माण गरे । पछिल्लो आठ महिनायता भने उनी नेपाली चलचित्र क्षेत्रकै सर्वोच्च निकाय चलचित्र विकास बोर्डको अध्यक्षका रूपमा कार्यरत थिए । बोर्डको अध्यक्ष बन्नुअघि उनले चलचित्र निर्माता संघमा वरिष्ठ उपाध्यक्षका रूपमा काम गरेका थिए ।
कलाकार भट्टराईको जन्म ओखलढुंगामा भएको हो । सिभिल इन्जिनियर बन्ने लक्ष्य लिए पनि उनले त्यो लक्ष्य हासिल गर्न सकेनन् । पछि उनले विद्युत् प्राधिकरणमा जागिर खान थाले । चलचित्र विकास बोर्डको अध्यक्ष बन्नु अघिसम्म उनी प्राधिकरणकै जागिरे थिए । प्राधिकरणमा जागिरे छँदै उनले चलचित्रकर्मी तुलसी घिमिरेसँग चिनजान गर्ने मौका पाएका थिए, त्यही चिनजानले उनलाई चलचित्र क्षेत्रसम्म डोर्याएको थियो ।
‘कोसेली’बाट प्रारम्भ भएको भट्टराईको अभिनय यात्रा पुकार, चिनो, दुई थोपा आँसु, दक्षिणा, मितज्यू, बलिदान, हुँदै अघि बढेको थियो । चलचित्रमा अभिनय गरिरहने क्रममा साथीभाइहरू मिलेर चलचित्र दौंतरी बनाए पनि भट्टराईले चलचित्र ‘सुख–दु:ख’ मार्फत निर्माताका रूपमा स्थापित हुने मौका पाएका थिए । पाहुना, कर्मयोद्धा, देवर बाबु, छोडी गए पाप लाग्ला, शो सिम्पल, ब्रासलेट, यात्रा आदि उनले निर्माण गरेको चलचित्रहरू हुन् । उनका अधिकांश चलचित्रहरू व्यावसायिक रूपमा सफल मानिन्छन् ।